गृहपृष्ठ दसैंको टीकाको दिन पोखरामा सशस्त्र तालिम केन्द्रको निःशुल्क बस
दसैंको टीकाको दिन पोखरामा सशस्त्र तालिम केन्द्रको निःशुल्क बस
सशस्त्र प्रहरी बल नेपालले बडादसैंको टीकाको दिन कात्तिक २ गते पोखरामा निःशुल्क बससेवा सञ्चालन गर्ने भएको छ । प्रहरी बलको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले निःशुल्क बस सेवा दिन लागेको हो ।
बडादसैंको टीकाको दिन हुनसक्ने सवारी अभावलाई ध्यानमा राख्दै सर्वसाधारणको सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएको तालिम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए । सशस्त्र प्रहरी बलको ब्यानरसहितका दुईवटा बसले निःशुल्क पोखराका विभिन्न क्षेत्रलाई रुट बनाएका छन् ।
लामापाटनबाट बिहान १० बजे सर्वसाधारणको सेवाका लागि छुट्ने बस अमरसिंह, मुस्ताङ चोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सृजनाचोक, न्युरोड, चिप्लेढुंगा, नदिपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्नेछ । ‘हामी पब्लिककै लागि हौं, दसैं तिहारमा पब्लिकलाई सेवा तथा सुरक्षा दिनु हाम्रो जिम्मेवारी हो,’ वरिष्ठ उपरीक्षक बस्नेतले भने, ‘दसैं हामी पनि मान्छौं तर जनता हाम्रो पहिलो प्राथमिकता हो ।’
दसैं अवधिभर हुन सक्ने कुनै पनि जोखिमका लागि तालिम शिक्षालयले एम्बुलेन्सको निःशुल्क सेवासमेत प्रदान गर्ने भएको छ । एम्बुलेन्स आवश्यकता परे जुनसुकै बेला तालिम शिक्षालयको हटलाइन नम्बरमा फोन गरेर सेवा लिन सकिने बस्नेतले बताए । एम्बुलेन्सका लागि हटलाइन नम्बर ९८५१२७२०६० र ९८५१२७२०१८ मा फोन गर्न सकिने एपीएफले जनाएको छ ।
प्रकाशित समय १८:१३ बजे

















