गृहपृष्ठ प्रधानमन्त्री ओली थप अस्वस्थ, त्रिवि शिक्षण अस्पताल भर्ना

प्रधानमन्त्री ओली थप अस्वस्थ, त्रिवि शिक्षण अस्पताल भर्ना

श्वासप्रश्वासमा देखियो समस्या

kp-oli-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

सोमबार बिहान चार बजेतिर एक्कासी छातिमा समस्या देखिएपछि प्रधानमन्त्री अाेलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । उनकाे अहिले शिक्षण अस्पतालको कार्डियो सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ ।

यद्यपि, प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने सामान्य स्वास्थ्य परीक्षणका लागि मात्रै अस्पताल भर्ना गरिएको बताएका छन् । उनले भने ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल छैन, जाँचका लागि मात्र अस्पताल भर्ना गरिएको हो ।’

ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ । प्रधानमन्त्री कार्यालयले विज्ञप्ति निकालेर सो विषयमा जानकारी दिने तयारी गरेको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका नेताहरु, गृहमन्त्री रामबहादुर थापा शिक्षण अस्पताल पुगेका छन् । अस्पताल बाहिर कार्यकर्ता तथा शुभेच्छुकको भीड लागेको छ ।

प्रधानमन्त्री ओली केही दिनयता अस्वस्थ थिए । उनले घरमै आराम गरिरहेका थिए । स्वास्थ्य समस्याकै कारण प्रधानमन्त्री ओली शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा समेत उपस्थित हुन सकेका थिएनन् ।

प्रकाशित समय ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु