गृहपृष्ठ रियाल मड्रिडको पोष्टमा बार्सिलोनाको गोल वर्षा, स्वारेजको ह्याट्रिक
रियाल मड्रिडको पोष्टमा बार्सिलोनाको गोल वर्षा, स्वारेजको ह्याट्रिक
बार्सिलोना ५–१ गोलले विजयी
लियोनल मेसीबिनै मैदानमा उत्रिएको बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो चीर प्रतिद्धन्दी रियाल मड्रिडलाई ५–१ गोलअन्तरले हराएको छ ।
घरेलु मैदान क्याम्प नोउमा भएको सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाका फिलिप कोटिन्होले ११औं मिनेटमा गोलको खाता खोलेका थिए । ३०औं मिनेटमा लुइस स्वारेजले पेनाल्टी मार्फत गोल गरे । रियालका राफेलले स्वारेजलाई डी बक्स एरियामा तानेर लडाएपछि भिडियो असिस्टेन्ट रेफ्री ‘भार’ को मद्दतमा बार्सिलोनालाई अग्रता दोब्बर बनाउने मौका मिलेको थियो । एल क्लासिकोमा भार पहिलो पटक प्रयोग भएको हो ।
पहिलो हाफमा नै दुई गोल खाएपछि रियाल दबाबमा आएको थियो । दोस्राे हाफको सुरुवातमा भने रियाल आक्रमक रुपमा प्रस्तुत भयो । ५०औं मिनेटमा मार्सेलोले गोल गर्दै खेल २–१ को आवस्थामा पुर्याए ।
खेलमा फर्किने प्रयास गरेको रियालले आफ्नो लय कायम राख्न सकेन । ७५औं मिनेटमा स्वारेजले गोल गरे । स्वारेजको यो गोल व्यक्तिगत दोस्रो तथा बार्सिलोनाका लागि तेस्रो थियो । ८३औं मिनेटमा स्वारेजले ह्याट्रिक पूरा गरे । सर्जियो रोबर्टोको पासमा स्वारेजेल ह्याट्रिक पूरा गरेका थिए ।
अटुरो भिडालले ८८ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई रियलमाथि ५–१ को जित दर्ता गराए ।
लियोनल मेसी घाइते छन् भने क्रिष्टियानो रोनाल्डो यसै सिजन सिरी ए खेल्न युेभन्टसमा आवद्ध भएका छन् ।
जीतसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । १० खेल खेलेको उसको २१ अंक छ । अलाभेसको २० अंक छ भने तेस्रो र चौथो स्थानका सेभिल्ला र एथ्लेटिको मड्रिडको समान १९ अंक छ । १० खेल नै खेलेको रियाल मड्रिड भने १४ अंकसहित तालिकाको ९औं स्थानमा छ ।
प्रकाशित समय ०७:४९ बजे




















