गृहपृष्ठ निर्मलाका हत्यारा सार्वजनिक गर्न डा. केसीले दिए अल्टिमेटम, नत्र अनशन
निर्मलाका हत्यारा सार्वजनिक गर्न डा. केसीले दिए अल्टिमेटम, नत्र अनशन
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा तीन साता भित्र सार्वजनिक गर्न डाक्टर गोविन्द केसीले अल्टिमेटम दिएका छन् । सोमबार पत्रकार सम्मेलन गरी डा. केसीले चिकित्सा शिक्षा सम्बन्धि सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न तीन साताको अल्टिमेटम दिएका हुन् ।
डा. केसीले सरकारले अपराधीलाई कारबाही नगरेर ढाकछोप गर्न र जनताको आवाज थुन्न लागिपरेको आरोप लगाए । उनले भने ‘म पनि नेपाली नागरिक हुँ । यो आवाज उठाउनु मेरो अधिकार हो, यसैले चिकित्शा शिक्षा विधेयकसँगै यो माग पनि उठाएको हुँ ।’ उनले माग पूरा नभए अनशन बस्ने चेतवानी समेत दिए ।
उनले १० साउनमा आफूसँग भएको सहमतिअनुसार चिकित्सा विधेयक संशोधन गरेर पास गर्नुपर्ने, गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी देखाएकाहरुलाई कारबाही गर्नुपर्ने, काठमाडौं विश्वविद्यालयले बढाएको एमबीबीएसको शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग पनि राखे ।
गएको साउन १० गते सरकारले डा केसीसंग नौ बुँदे सहमति गर्दै २७ दिन लामो अनसन तोडाएको थियो । चिकित्सा शिक्षा अध्यादेशका मुल विषयबस्तुबाट सरकारपछि हटेको भन्दै उनी अनसन बसेका थिए । सरकारले डा. केसीको माग र केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गर्ने सहमति गरेको ४ महिना पूरा हुँदा पनि कार्यान्वयन भएको छैन ।
सहमति अनुसार उपत्यका काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने छ । विधेयकको दफा १२ मा संशोधन गरे ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, भक्तपुर, ललितपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान गरिने छैन ।
साथै आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाका लागि दुई वटा विकल्प दिइएको छ । पहिलो सरकारलाई सम्पत्ति हस्तान्तरण गर्ने र दोस्रो चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गर्न चाहेमा सरकारले प्रोत्साहन सुविधा दिने छ । यी विषय समेटेर चिकित्सा शिक्षा विधेयक ल्याउन डा. केसीले माग गरेका छन् ।

प्रकाशित समय १६:३६ बजे

















