गृहपृष्ठ बेटी पढाउ, बेटी बचाउ अभियानमा रेखाको साथ
बेटी पढाउ, बेटी बचाउ अभियानमा रेखाको साथ
प्रदेश सरकारको अभियानले आकर्षित गर्यो : थापा
प्रदेश–२ सरकारले मधेसका छोरी शिक्षित गर्ने उदेश्यले अभियानकै रूपमा अगाडि बढाएको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई अभिनेत्री रेखा थापाले सघाउने भएकी छिन् ।
मुख्यमन्त्रीको कार्यालयमा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेत्री थापाले प्रदेश सरकारले संचालन गरेको अभियानमा सहयोग गर्ने जानकारी दिइन् । स्वर्णीम नेपाल कार्यक्रम अन्तर्गत महिला हिंसा तथा बालविवाह विरुद्ध कार्यक्रम संचालन गर्दै आएकी थापाले अब ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रममा लाग्ने बताइन् ।
पत्रकार सम्मेलनमा प्रदेश सरकारको अभियानमा थापाले प्रबद्र्धन गर्ने इच्छा व्यक्त गर्नु प्रदेशकै लागि सुखद रहेको आयोजकले बताएको छ । अभियानमा अन्यलाई सघाउन समेत आयोजकको आग्रह छ ।
अभिनेत्री थापाले महिला मुद्दामा केन्द्रित भई, पुरानो प्रवृत्तिलाई निर्मुल पार्दै महिलालाई सशक्त बनाउने उद्देश्यले सकारात्मक भावनाले अभियानमा अघि बढ्ने बताइन् ।
‘सपनाविहीन छोरी र निराश आमाहरुलाई जागाउने यो अभियानको प्रयास रहनेछ,’ थापाले भनिन्, ‘आँफ्नै आँखा अगाडि कुनै छोरीको जबर्जस्ती गर्भपतन गरेको देख्दा आफूलाई त्यही दिनदेखि नारीको वकालत गर्ने इच्छा जाग्यो ।’ प्रदेश सरकारको कार्यक्रमले आकर्षित गरेको उनको भनाई थियो । अभियानको सुरुवात बुधबार रौतहटबाट गरिने बताइएको छ ।
प्रकाशित समय १८:२१ बजे

















