गृहपृष्ठ छुट्टा-छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टा-छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
दैलेख र काठमाडौंमा भएका दुर्इ छुट्टा-छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ ।
दैलेखमा भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । ठाटीकाँध गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नं १ का ३० वर्षीय निर्मल बमको मृत्यु भएको हो । उनका अनुसार बुधबार बिहान ८ बजे जिप धामीगाउँ नजिक ब्रेक फेल भएर दुर्घटना भएको थियो । घाइतेहरूको नाम र ठेगाना खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते छ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उद्धारका लागि ठाटीकाँध प्रहरी चौकीका प्रहरी, गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाही एम्बुलेन्ससहित घटनास्थलमा पुगेका थिए ।
त्यस्तै काठमाडौंमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नम्बर नखुलेको सावारीको ठक्करबाट बुधबार बिहान टेकुमा एक जनाको मृत्यु भएको हो ।
टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारी साधनले बिहान ४ बजे कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई ठक्कर दिँदा गम्भीर घाइते उनको उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कालिमाटी प्रहरी वृत्तले जनाएको छ । दुर्घटनापछि सवारी साधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १०:३१ बजे

















