गृहपृष्ठ जसले बिर्सन सकेका छैनन्, विजयबाबुलाई
जसले बिर्सन सकेका छैनन्, विजयबाबुलाई
आज मंसिर १२ गते । २०६८ साल मंसिर १२ गते सडक दुर्घटनामा पत्रकार विजयबाबुको निधन भएको थियो । नेपाली पत्रकारितामा अमिट छाप छाड्न सफल विजयबाबु आजसम्म पनि धेरैको मन–मस्तिष्कमा ताजै छन् । पत्रकारितामा बेग्लै प्रस्तुति, साथीभाइ एवं अग्रजसँगको असल व्यवहार र इमानदारीकै कारण मृत्युपर्यन्त पनि उनी सबैमाझ छाइरहेका छन् । उनीसँग प्रत्यक्ष सम्बन्ध रहेका केही व्यक्तित्वलाई हामीले सोधेका छौं– विजयबाबुलाई कसरी सम्झिनुहुन्छ :
गैरआवासीय नेपाली अभियानले बिर्सनै नसक्ने नाम हो विजयबाबु
डा. जुगल भुर्तेल, लेखक
गैरआवासीय नेपाली अभियानले कहिल्यै बिर्सन नसक्ने नाम हो विजयबाबु खत्री । गैरआवासीय अभियान सुरु गर्दा थुप्रै चुनौती थिए । बाधा–व्यवधान पनि उत्तिकै थियो । विदेशमा रहेका नेपालीले सामना गर्नुपरेको चुनौती र उनीहरुका एजेन्डाका मर्मलाई विजयबाबुले हरेक नेपालीसामु पुर्याउन गर्नुपरेको मेहनत बिर्सनै सकिँदैन । ‘नेपाललाई समृद्ध बनाउनका लागि गैरआवासीय नेपालीको संगठन र उनीहरुको लगानी चाहिन्छ’ भन्ने सोचका साथ उहाँ आउनुभयो । अहिले गैरआवासीय नेपालीले जति पनि अधिकार पाएका छन्, त्यसको श्रेय दिँदा विजयबाबुको नाम अग्रपंतिमा आउँछ ।
खाडी मुलुकका रोजगारी र गैरआवासीय नेपालीको गतिविधिदेखि सरकारको आर्थिक नीति र देशभित्रका ठूला उद्योग–व्यवसायसम्मका जानकार पत्रकार हुनुहुन्थ्यो उहाँ । व्यक्तिगत रुपमा भन्दा विजयबाबु एक पत्रकारमात्र नभई, प्रतिभाशाली र अभिन्न प्रिय मित्र पनि हो । उहाँ साथीभाइसँगको जमघट रुचाउनुहुथ्यो तर मांस–मदिराबाट सधैं टाढा रहने बानी थियो । उहाँको जाँगर, लेखनशैली र प्रविधि प्रयोग समकालीनहरूका लागि सधैं ईष्र्याको विषय रह्यो ।
पिरोलिरहने सम्झना विजयबाबु
पशुपति मुरारका, उद्योगी
निजी क्षेत्रलाई बढावा दिने आर्थिक क्षेत्रका अग्रणी पत्रकार हुनुहुन्थ्यो उहाँ । आर्थिक रुपमा मुलुक समृद्ध नभई अरु पक्ष सबल बन्न नसक्ने उहाँको स्पष्ट बुझाइ थियो । उहाँले सधैं खुला अर्थनीतिको पक्षमा कमल चलाउनुभयो । एक कुशल पत्रकार विजयबाबुसँंग अन्तर्वार्ताको क्रममा सधैं भिन्न महसुस हुन्थ्यो मलार्ई । उहाँले मेरो पटक–पटक अन्तर्वार्ता लिनुभएको थियो । जहिल्यै पनि विषयवस्तुको बारेमा गहिरो अध्ययन गरेर आउनुहुथ्यो । उहाँको मुख्य शक्ति भनेको बुद्धि, विवेक र ज्ञान थियो । त्यसैलाई पत्रकारिताको माध्यमबाट आमजनतालाई सुसूचित गराउनुभयो ।
उहाँले नेपाली पत्रकारितालाई नयाँ ढंगले परिभाषित गरिदिनुभयो । ‘पत्रकारले समाजमा घटित हुने घटनालाई प्रकाशित, प्रसारितमात्र गर्दैन, उसले घटनाहरुको पछाडि लुकेका रहस्यहरुको प्रकटीकरण र समाजलाई दिशाधारा दिने सोचको विकास र राष्ट्रलाई सबल बनाउने काम गर्छ’ भन्ने उहाँको जीवनकालको पत्रकारिताको कर्मले पुष्टि गरेको छ ।
लगनशील र क्षमतावान पत्रकार विजयबाबु
चिरञ्जीवी नेपाल, गभर्नर
विजयबाबु निकै क्षमतावान र निष्पक्ष पत्रकार थिए । व्यावसायिक पृष्ठभूमिबाहेक म उनलाई मेरो भाइको रुपमा लिन्थें । म उनको काम गर्ने शैली, जाँगर र ऊर्जाको प्रशंसक हुँ । मुलुक समृद्ध हुन भाषण होइन काम गर्नुपर्छ भन्थे । उनी कारोबारमा हुँदा थुप्रै पटक कुराकानी गरियो, एक किसिमले भन्दा संगत नै भयो । त्यो अवधिमा मैले उनलाई केही हदसम्म बुझ्ने मौका पाएँ ।
उनको सर्कलमा उनीजति खट्नेखालका पत्रकार कमै देख्थें । उनको लगन र मेहनतको प्रशंसा त उनकै सहकर्मीले पनि गर्ने गरेका छन् । विजयबाबु आज नरहे पनि उनको नाममा अर्को सञ्चारमाध्यम जन्मिएको छ । उनको नाममा पत्रकारिता पुरस्कार घोषणा हुँदै गरेको पनि सुनेको छु । यसबाट मुलुकको विकासमा योगदान पुर्याएका पत्रकार प्रोत्साहित हुने मेरो विश्वास छ । विजयबाबु नरहेकोमा दुःख लागे पनि उनको स्मृतिमा हुँदै गरेका कतिपय नवीन कामको म प्रशंसा गर्न चाहन्छु ।
पत्रकारितामा ‘अर्थ’ बिटका पिता
प्रतीक प्रधान, पत्रकार
जब म नागरिक दैनिकको काम छाडेर खाली बसेको थिएँ, संयोगवश विजयबाबुले नै मलाई पत्रिका चलाउनुपर्याे भनेर प्रस्ताव राखे । ‘तपाईं सम्पादक बन्नुहोस् म लगानी खोज्छु’ मिलेर पत्रिका चलाऊँ भने लगानी जुटाउने मान्छे ऊ नै हो । हालका गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टसँग मलाई पहिलोपटक उनैले भेट्टाएको हो । पत्रिका खोलेर धेरै समय सँगै काम गर्यौं । त्यो समयमा कारोबार पत्रिका जन्माउने र स्ट्याबलिस्ट गराउने मान्छे ऊनी नै हुन् । सीमित विज्ञापन बजारमा सञ्चारमाध्यमलाई धौ–धौ परिरहेका बेला व्यवसायीलाई कारोबार आर्थिक दैनिकमा लगानीका लागि सहमत गराउन उनी सफल भए ।
उनले लगानी भित्र्याउन पहल गर्नेदेखि सबै पत्रकार टिम जुटाउनेसम्मको काम नगरेको भए त्यो पत्रिका आउने नै थिएन । सिनियर पत्रकारलाई सम्मान गर्ने र जुनियर पत्रकारलाई माया गर्ने सिकाउने उनको गुण थियो । त्योभन्दा पहिले पनि नेपाली आर्थिक पत्रकारिता अर्थ मन्त्रालय र राष्ट्र बैंकका गतिविधिमा सीमित रहेको अवस्थामा उनले कान्तिपुर दैनिकमा अर्थ ‘बिट’ रोज्ने जोखिम मोले । तर, एक राम्रो आर्थिक पत्रकारका रूपमा स्थापित भए । उनको असामयिक निधनले नेपाली आर्थिक पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
विजयबाबु धेरैका लागि अनुकरणीय
चन्द्रप्रसाद ढकाल, उद्योगी
विजयबाबुसँग देश तथा विदेशमा भएका गैरआवासीय नेपाली संघ (एनआरएनए) सम्मेलनदेखि चिनजान भएको हो । कारोबार दैनिक स्थापनाभन्दा धेरै अघिदेखि नै हामी नजिक थियौं । हामीबीच दाइभाइको जस्तो सम्बन्ध थियो । समग्रमा भन्दा हामीबीच पारिवारिक सम्बन्ध थियो । अहिले उनी हामीमाझ नभए पनि उनको परिवार र मबीच उस्तै निकटको सम्बन्ध छ ।
पत्रकारको हिसाबले पनि उनी निडर र स्पष्ट लाग्थ्यो । पत्रकारिताको धर्म पूर्णरुपमा निर्वाह गरेका थिए भन्ने लाग्छ । कारोबार आर्थिक दैनिकको माध्यमबाट नेपाली आर्थिक पत्रकारितामा उनले कोरेको बाटो निकै फराकिलो बन्दै गएको छ जस्तो लाग्छ । नेपाली पत्रकारितामा विजयबाबु धेरैका लागि अनुकरणीय बन्न सक्छन् । उनी पूर्ण व्यावसायिक पत्रकार थिए ।
पत्रकारितामा विजयबाबुको समर्पण लोभलाग्दो थियो
दिलभूषण पाठक, पत्रकार
विजयबाबु अत्यन्तै शालीन पत्रकार थिए । उनी र म शारीरिक उचाइका हिसाबले मात्र फरक लाग्थ्यौं । अरु सबै सम्बन्ध एकदमै निकट थियो । कुराकानीका क्रममा उनी निकै आकर्षक ढंगले प्रस्तुत हुन्थे । म उनीभन्दा अग्लो भएकाले मतिर हेरेर हँसिलो पाराले कुरा गर्दा लाग्थ्यो– उनले मलाई भन्दा पनि आफ्नो उच्च लक्ष्यतर्फ हेरिरहेका छन्, उनको लक्ष्य धेरै माथि छ, उनी धेरै अगाडि बढ्छन्, उनी निकै माथि पुग्छन् । म अहिले त्यो दृश्य सम्झिरहेको छु ।
पारिवारिक सदस्य जत्तिकै थियौं हामी । म धेरै साथीहरुको कोठामा गएको छु । तर, विजयबाबुको जति व्यवस्थित कोठा कसैको देखिन । आफूले लेखेका समाचारको कटिङदेखि अन्य आवश्यक अध्ययन सामग्री त्यति राम्ररी फाइलिङ गरेको देखेर म चकित पर्थें । उनी आधुनिक थिए । प्रविधिको ज्ञान जति राख्थे, प्रयोगका लागि पनि त्यत्तिकै शौखिन थिए । सन् २००२ मा मेरो विवाहमा समेत उनले डिजिटल क्यामेराबाट फोटो खिचिदिएका थिए, जतिबेला डिजिटल क्यामेराको प्रयोग एकदमै न्यून थियो । पत्रकारितामा उनको सक्रियता र समर्पण लोभलाग्दो थियो । हामी धेरै समीप भएर पनि उनले अनइथिकल काम गरेको कुनै त्यस्तो घटना थाहा छैन । विजयबाबुको निधन नेपाली पत्रकारिता जगतकै लागि ठूलो क्षति हो ।
विजयबाबुबाट हामीले धेरै सिकिरहेका थियौं
शेखर गोल्छा, उद्योगी
विजयबाबुको मुखाकृत अहिले पनि मेरो अँखामा आइरहेको छ । उहाँसँग मैले तीन–चार पटक बिजनेस आइडिया सेयर गरेको छु । उहाँको लेखनशैली एकदमै सार्प र उत्कृष्ट थियो । उहाँको कन्भिन्सिङ पावर एकदमै राम्र्रो थियो । विजयबाबुले निजी क्षेत्रलाई प्र्रोत्साहन गर्नुपर्नेमात्र नभई निजी क्षेत्रका कमी–कमजोरीसमेत औंल्याउँदै पत्रकारितामार्फत झक्झक्याइरहनुहुन्थ्यो ।
उहाँको असामायिक निधनबाट नेपाली आर्थिक पत्रकारिता क्षेत्रले ठूलो मूल्य चुकाउनुपरेको छ । विजयबाबु खत्रीको अभाव जहिल्यै खड्किरहनेछ । उमेरमा हामीभन्दा जुनियर भए पनि नेपाली अर्थशास्त्र र उद्योग क्षेत्रमा उहाँको ज्ञान अब्बल भएकाले हामीले धेरै कुरा उहाँबाट सिकिरहेका हुन्थ्यौं । उहाँको निधनपछि मैलेमात्र होइन, धेरै उद्योगी व्यवसायीले सम्झिरहेका छौं ।
आँखामा राख्दा पनि नबिझाउने
बिप्लवमान सिंह, व्यवसायी
विजयबाबु खत्री आँखामा राख्दा नबिझाउनेखालको हुनुहुन्थ्यो । भलाद्मी, बौद्धिक, अरुका धेरै कुरा सुन्ने, थोरै बोल्ने, कम प्रतिक्रिया जनाउने सादगी स्वभावको हुनुहुन्थ्यो । व्यक्तिगत रुपमा मसँग धेरै घनिष्ट सम्बन्ध थियो । हामी धेरै ठाउँमा नजिकिएर काम गरेका छौं । पत्रकारितामा निक्कै दरिलो गरी प्र्रस्तुत हुने उहाँको स्वभाव थियो ।
त्यतिबेला आर्थिक पत्रकारिता क्षेत्रमा जोखिम मोलेर उहाँ अघि बढ्नु भएको थियो । परिणामतः अािर्थक क्षेत्रकै अग्रणी पत्रिका जन्मिन सफल भयो । जहिल्यै पनि लगानी भित्र्याएर मुलुकको विकास गर्नुपर्ने र स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने विषयलाई जोड दिनुहुन्थ्यो । आर्थिक पत्रकारितामा कमल चलाएर उहाँले राज्य र व्यवसायीलाई सधैं झक्झक्याइरहनुभयो ।
साधारण देखिने असाधारण व्यक्ति
राजन कर्माचार्य, व्यवसायी
विजयबाबु धेरै मनपर्ने साथीभाइमध्येमा पर्नुहुन्थ्यो । कडा मिजास भए पनि मनमा हरि (भगवान) भएको मानिस हो उहाँ । एकदमै मेहनती हुनुहुन्थ्यो । काममा दत्तचित्त भएर लाग्नुहुन्थ्यो । बोलेको सधैं पूरा गर्नुहुन्थ्यो । इमानदार हुनुहुन्थ्यो । सबैलाई सहयोग गर्ने स्वभाव थियो उहाँको ।
विजयबाबुमा नेतृत्व गर्नसक्ने क्षमता थियो । आर्थिक जगतको अग्रणी पत्रिका कारोबारलाई यो उचाइमा पुर्याउन उहाँले गर्नुभएको मेहनत अनुकरणीय छ । उहाँको लवाइखवाइ सामान्य (सिम्पल लिभिङ) थियो । उहाँ साधारण देखिने असाधारण व्यक्ति हुनुहन्थ्यो । मैले उहाँको कमी–कमजोरी खासै देखिन ।
प्रकाशित समय ११:१५ बजे

















