गृहपृष्ठ कापीकलमको जोहो गर्न सिला धान
कापीकलमको जोहो गर्न सिला धान
गुलरिया–१२, दुधालालपुरका १० वर्षीया सवनम खाँ र १२ वर्षीया सावा खाँलाई हिजोआज धान काटेर उठाइसकेको खेतमा जानु दिनचर्या जस्तै छ । धान उठाइसकेको खाली खेतमा धानको बाला खोजी सिला जम्मा गर्ने र त्यसबाट आएको धान बेची उनीहरूले कापी कलम किन्ने गरेका छन् ।
उनीहरुजस्तै अन्य बालबालिका पनि दिउँसो पढ्न विद्यालय जाने र बिहान साँझ खेतमा गई धानको सिलाबाट आधा किलोदेखि एक किलोसम्म धान जम्मा गर्ने गरेका छन् । लेखपढ गर्न आमाले पैसा दिन नसक्ने भएपछि धानको सिला जम्मा गर्न जाने गरेको सावाले बताइन् ।
गरिबीका कारण उनकी आमाले दैनिक मजदुरी गरे पनि साँझबिहान दुई छाक हातमुख जोड्न नै हम्मे पर्छ । २७ वर्षीया उनकी आमा सोनमलाई बाबुले सम्बन्धविच्छेद गरी घरबाट निकालिदिएपछि माइतीमै बस्दै आएकी छन् ।
भारतीय नागरिकसँग विवाह भएका कारण कानुनी लडाइँ लड्न पनि समस्या भएको छ । माइतीले बस्ने सहारा दिएपछि मजदुरी गरेरै भए पनि दुई छोरीको पेटसम्म भर्न जसोतसो पुगेको सोनमले बताइन् । उनले भनिन्, ‘स्वास्थ्यले साथ दिँदासम्म त काम गरे खान–लाउनलाई पुग्छ तर बिरामी भइयो भने भोकभोकै बस्नुपर्छ । उपचार गर्न ऋण नै खोज्नुपर्छ । यस अवस्थामा कसरी छोरीहरुलाई पढाउनु ? तैपनि उनीहरुले धानको सिला जम्मा गरी बिक्री गरेर कापीकलमका लागि थोरै भए पनि पैसा जोहो गर्छन् ।’
सवनम र सावा घरनजिकैको मदरसामा ४ र ५ कक्षामा पढ्दै आएका छन् । माइतीमा पनि आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले बस्नलाई सहाराबाहेक अरू सहयोग पाउन सकेका छैनन् । (रासस)
प्रकाशित समय १०:२३ बजे

















