गृहपृष्ठ कर्मचारी नहुँदा प्रदेश १ संसद सचिवालयमा भद्रगोल

कर्मचारी नहुँदा प्रदेश १ संसद सचिवालयमा भद्रगोल

केन्द्र सरकार कर्मचारी सरुवामै व्यस्त

संघीय सरकारले जानकारी नै नदिई धमाधम कर्मचारी सरुवा गरिदिएपछि प्रदेश १ को संसद सचिवालय भद्रगोल अवस्थामा पुगेको छ । आवश्यक कर्मचारी अभाव झेल्दै आएको सचिवालयमा माथिल्लो दर्जाका कर्मचारीको सरुवा हुने क्रम नरोकिँदा सचिवालयको काम कारबाही प्रभावित हुने भएको छ ।

असोजयता संसद सचिवालयमा उपल्ला तहका कर्मचारी नहुँदा अधिकृत तहका कर्मचारीबाट कामचलाउ रुपमा दैनिक प्रशासनिक काम हुँदै आएका छन् । संसद सचिवालयमा लामो समयदेखि सचिव पद रिक्त रहँदै आएको थियो । सचिव डा. बासुदेव शर्मा सरुवा भएर आएको एक साता नबित्दै सरुवा भएपछि उनको स्थानमा संघीय सरकारले अर्का सचिवलाई हालसम्म पठाएको छैन ।

biratnagar6-newskarobar

सचिवको अनुपस्थितिमा उपसचिव लोकबहादुर भण्डारीले जिम्मेवारी सम्हाल्दै आएका थिए । संघीय सरकारले संसद सचिवालयलाई जानकारी नदिई उपसचिव भण्डारी र अर्का उपसचिव विश्वरुप दाहाललाई सरुवा गरेपछि सचिवालय उपसचिवविहीन बन्न पुगेको छ । संसद सचिवालमा कानुन उपसचिवको पद रहे पनि हालसम्म सरकारले पठाउन सकेको छैन ।

गएको दसैं यतामात्र लेखा अधिकृत र स्टोरकिपरको पद पनि रिक्त छ । लेखा अधिकृत दलवीर राई भ्रष्टाचार अभियोगमा निलम्बनमा परेपछि उनको पद रिक्त भएको संसद सचिवालले जनाएको छ । त्यसैगरी, स्टोर किपर सञ्जीव राईलाई पनि संघीय सरकारअन्तर्गतको सामान्य प्रशासन मन्त्रालयले १९ कात्तिकमा सरुवा गरिदिएपछि  संसद सचिवालमा स्टोरकिपरको पद पनि खाली हुन पुगेको छ ।

biratnagar6-newskarobar

संसद सचिवालयका अनुसार दसैं बिदा सकिएलगतै अहिले अधिकृत पदका तीनजना हरि खत्री, अम्बिकाप्रसाद नेपाल र कानुन अधिकृत मञ्जु खड्कामात्र छन् । त्यसभन्दा माथिको सबै पद रिक्त छन् ।

संसद सचिवालयका सूचना अधिकृत अम्बिकाप्रसाद नेपालले संसद सचिवालमा अधिकार प्राप्त अधिकारीको अभावमा ठूला निर्णय र आर्थिक क्रियाकलापसँग जोडिएका विषयवस्तुसँगको काम कारबाही बन्द हुन पुगेको जानकारी दिए । ‘महत्वपूर्ण निर्णयका कुराहरु अनि आर्थिक काम बन्द छन्,’ नेपालले भने, ‘अधिकार प्राप्त कर्मचारीहरु नहुँदा निर्णय गर्ने कुरा र आर्थिकसँग जोडिएका कुरा लगभग सबै नै बन्द छन् । सामान्य प्रशासनिक कामहरु मात्र भइरहेका छन् ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले संघीय सरकार गम्भीर नभई संसद सचिवालय जस्तो कार्यालयमा कर्मचारी अभाव झेल्नुपर्दा समस्या भएको बताए । सभामुख भण्डारीले कर्मचारी अभावका कारण भएको समस्याका बारेमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिवलाई जानकारी गराए पनि अहिलेसम्म कर्मचारी नपठाएको बताए ।

biratnagar6-newskarobar

‘चाँडोभन्दा चाँडो कर्मचारी पठाइदिनुपर्छ म त्यसमा क्रियाशील छु । लागि रहेको छु,’ सभामुख भण्डारीले भने, ‘फोनबाट पनि कर्मचारी पठाउन सम्पर्क गरिरहेको र भनिरहेको छु । आफैं गएर पनि भनेको छु । यस विषयमा संघीय सरकार गम्भीर हुनुपर्छ ।’

उनका अनुसार प्रदेश सरकारले हिउँदे अधिवेशन पुसको पहिलो साता बोलाउने तयारी गरिरहेको अवस्थामा संसद सचिवालय नै सचिवविहीन हुँदा प्रदेशसभा बैठक पनि प्रभावित हुने देखिएको छ । यसअघि पनि गत फागुन २८ गते प्रदेशसभा सचिवालयको जिम्मेवारी लिएर सचिव केदारप्रसाद पनेरू आएका थिए । उनको पनि केही महिना संसद सचिवालयमा काम गरेपछि सरुवा भएको थियो । त्यसपछि सचिव वासुदेव शर्मा पौडेल आए पनि उनले कार्यभार नसम्हाल्दै प्रदेश दुईमा सरुवा भएर गएका थिए ।

biratnagar6-newskarobar

प्रकाशित समय ०५:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु