गृहपृष्ठ लाकुरी भञ्ज्याङमा जम्दै कलाकार–पत्रकार
लाकुरी भञ्ज्याङमा जम्दै कलाकार–पत्रकार
खुलेको आकाश, पारिलो घाम । बाटोघाटो पनि सफाचट । हिलोमैलो पनि हुँदैन यतिबेला । पिकनिकको सिजन सुरु भइसक्यो । मंसिर, पुस र माघ पिकनिकका लागि उपयुक्त मौसम हो । त्यसैले यो समयलाई पिकनिकको पर्व पनि भन्न पछि पर्दैनन् पछिल्ला पिँढीहरु ।
दैनिक व्यस्तताबाट केही समय भए पनि रमाइलो गर्न पिकनिक जानेहरुको चाप बढ्दैछ । यतिबेला जाडो पनि धेरै नहुने, गर्मी पनि नहुने मौसम भएकाले घाम ताप्दै नाच्ने, गाउने अनि रमाउनेहरु पिकनिक आयोजना गर्छन् । पिकनिकमा विशेषगरी विद्यार्थी, कर्मचारी, व्यवसायी परिवार एवं साथीभाइ जाने गर्छन् ।
यही मेसोमा पत्रकार र कलाकारले संयुक्त रुपमा पिकनिक आयोजना गरेका छन् । सुन्दर मौसमको सदुपयोग गर्दै सञ्चारकर्मी तथा कलाकारको एक जम्बो टोली ललितपुरको सुन्दर पर्यटकीय स्थल लाकुरी भञ्ज्याङमा पिकनिक जाँदैछ । ‘जाडो महिनाको पारिलो घामको न्यानोपनसँगै प्रकृतिको रमाइलोमा भुल्दै पिकनिक जान लागेका हौं,’ पिकनिक संयोजक नवराज कुँवर भन्छन्, ‘दैनिकीबाट एकैछिन भए पनि विश्राम पाउन र जीउ हल्का बनाउन रिफ्रेसका लागि पिकनिक जान लागेका हौं ।’ पिकनिकमा करिब एक सय २० जना सहभागी हुने कुँवरले बताए ।
पिकनिकको सबैभन्दा रमाइलो पक्ष नाचगान र खानपिन हो । पिकनिक स्पटमा बज्ने गीतमा कोही ननाचिरहन सक्दैनन् । नाच्न नजाने पनि गीतमा कम्मर हल्लाउनेहरु कम हुँदैनन् । यसैले पत्रकार–कलाकारको पिकनिक टोलीले पिकनिक स्थलमै कन्सर्टसमेत गर्नेछन् । ‘कलाकारनै सहभागी हुने भएपछि कन्सर्टमा रमाइलो नहुने कुनै छैन, साथीभाइसँग निस्फिक्री नाच्न पाइन्छ’ पिकनिकका सह–संयोजक दिनेश गौतम भन्छन् ।
कलाकारसँगै पिकनिकमा सबै उमेर र अधिकांश मिडियाका पत्रकार सहभागी छन् । टेलिभिजन, रेडियो, अनलाइनलगायत मूलधारका मिडियाका पत्रकार सहभागी हुने पिकनिक मनोरञ्जनसँगै ज्ञानवद्र्धकसमेत बनाइने पिकनिकका व्यवस्थापक चन्द्रमणि गौतमले बताए । देशैभरका विभिन्न रेडियो स्टेसनबाट बज्ने कार्यक्रम ‘इन्दे्रणी’का प्रस्तोता तथा राष्ट्रिय लोकसञ्चारकर्मी समाजका पदाधिकारी गौतम भन्छन्, ‘विभिन्न मिडियामा आबद्ध पत्रकार, तथा कलाकार पिकनिक जाँदै छौं, साथीभाइसँग भेटघाट र रमाइलोमात्र नभई, एक–अर्काेका अनुभव साटासाटको माध्यमसमेत बन्नेछ ।’
कलाकार पत्रकारले पिकनिकलाई स्मरणयोग्य बनाउने तयारी गरेका छन् । नायिका सुजिता थापा भन्छिन्, ‘पिकनिक रमाइलो गर्ने बहाना पनि हो, त्यसैले सधैं सम्झिनयोग्य बनाउनुपर्छ ।’
लाकुरी भञ्ज्याङ नै किन ?
उपत्यकाबाट नजिक रहेको लाकुरी भञ्ज्याङबाट निकै मनमोहक हिमालका दृश्यले घेरेको काठमाडौंलाई देख्न सकिन्छ । उपत्यकाभित्रै पर्ने भए पनि त्यहाँ धेरै नपुगेका हुन सक्छन् । त्यहाँबाट हेर्दा यस्तो लाग्छ, ‘संसारको सबैभन्दा सुन्दर ठाउँ नै यही हो ।’
काठमाडौंको कोलाहल र धुलोधुँवामा दिनचर्या बिताउँदै आएकालाई त्यो गन्तव्यले ठूलो आनन्द दिन सक्छ । काठमाडाैंबाट झन्डै एक घण्टा सवारी यात्रामा पुगिने लाकुरी भञ्ज्याङबाट पूरा काठमाडाँै उपत्यका देख्न सकिन्छ । ललितपुरको पूर्वी भागमा पर्ने सो स्थान पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो । भञ्ज्याङले देशी–विदेशी पर्यटक आकर्षित गर्दै आएको छ । पर्यटकीय हिसाबले निकै महत्व बोकेको त्यस क्षेत्रको विकास गर्न सकेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटक अझ बढ्ने देखिन्छ ।
प्रकाशित समय २०:२५ बजे

















