गृहपृष्ठ पाकिस्तानमा सार्क सम्मेलन गराउनेबारे प्रधानमन्त्रीले गरे छलफल
पाकिस्तानमा सार्क सम्मेलन गराउनेबारे प्रधानमन्त्रीले गरे छलफल
प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीबीच सार्क शिखर सम्मेलन गर्ने विषयमा छलफल भएको छ । ‘एसिया प्यासिफिक शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री गिलानीसँग ओलीले सार्कको अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट पारे ।
नेपालमा सन् २०१४ मा भएको १८ औं शिखर सम्मेलनले २०१६ मा पाकिस्तानको इस्लामावादमा शिखर सम्मेलन गर्न तय गरेको थियो । पाकिस्तान र भारतको आपसी असमझदारीका कारण मिति तय हुन सकेको छैन ।
पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीले पाकिस्तानी जनता र त्यहाँका राजनीतिक दल सार्कप्रति प्रतिबद्ध रहेको र सम्मेलनका लागि तयार रहेको जनाएका भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले बताए । उनले भने, ‘प्रधानमन्त्री ज्यूले पनि सार्कलाई प्रभावकारी रूपमा अघि बढाउन चाहेको सन्देश दिनुभयो ।’
सार्क मुलुकबीच आपसमा युद्ध र द्वन्द्वभन्दा पारस्परिक सम्बन्ध र लगानी विस्तार गर्नुपर्नेमा पनि उनीहरुको जोड थियो ।
प्रधानमन्त्री ओलीसँग शिखर सम्मेलनका लागि नेपालको भ्रमणमा रहेका कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्रानाले पनि शिष्टाचार भेट गरेका छन् । पास्त्रानाले आफ्नो मुलुक पनि द्वन्द्वबाट शान्तितर्फ अघि बढिरहेका सन्दर्भमा नेपालको शान्ति प्रक्रियाको सफलता तथा प्रधानमन्त्री ओलीको विकास र समृद्धिको सोचबाट प्रभावित भएको जनाएका डा. भट्टराईले जानकारी दिए ।
प्रकाशित समय १४:४७ बजे

















