गृहपृष्ठ एसिया प्यासिफिकको छैटौं क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन हङकङमा

एसिया प्यासिफिकको छैटौं क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन हङकङमा

सम्मेलनमा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल सहभागी

NRNA

गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको छैटौं क्षेत्रीय बैठक तथा प्रथम महिला सम्मेलन हङकङमा हुँदै छ । एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले डिसेम्बर ८ र ९ मा एसिया प्यासिफिक सम्मलेन गर्न लागिएको हो ।

सम्मेलन ‘सम्मृद्ध नेपालका लागि लगानी र रोजगार, दायित्वसहित गैरआवासीय नेपालीलाई अधिकार’ भन्ने विषयमा केन्द्रित रहनेछ । सम्मेलनमा ठूला–ठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अफ्ठ्यारा अनि सम्भावनामाथि छलफल हुने गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रवक्ता भूषण घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल हुने संघले जनाएको छ । क्षेत्रीय सम्मेलनसँगै प्रथम महिला सम्मेलन पनि हुने भएकाले एसियाली क्षेत्रमा बस्ने नेपाली महिलाका विषयमा पनि गहन छलफल गरिनेछ । विशेषतः महिलामाथिको हिंसा, यौन दुर्व्यवहारलगायतका विषयलाई प्रमुख एजेन्डा बनाई, त्यसका लागि एनआरएनको भूमिका कस्तो रहनुपर्ला भन्नेबारेमा छलफल गरी त्यसको निष्कर्षको आधारमा सरकारको ध्यानाकर्षण गराउने संघको तयारी छ ।

सम्मेलनमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल सहभागी हुँदै छन् । त्यस्तै, पूर्वअध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, देवमान हिराचन, वर्तमान अध्यक्ष भवन भट्टलगायत आइसीसीका पदाधिकारी, एनआरएन युरोप, अमेरिका, मध्यपूर्व, ओसनिया क्षेत्रका गैरआवासीय नेपाली प्रतिनिधि, हङकङका सरकारी निकायका अधिकारी र यस क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्यमी एवं व्यवसायी राजेन्द्र खेतानलगायत तीन सय ३० जना विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु