गृहपृष्ठ कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

कोभिड- १९ को संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा दुई र अल्जेरियामा एकको संक्रमणका कारण निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३३३ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म बिभिन्न ५० देशमा रहेका ५८ हजार ८३२ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५६ हजार २४७ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा दुई हजार ३५ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ७१ हजार ८०६ जना छन् भने दुई लाख ६६ हजार ८१२ अर्थात् ९८ दशमलव पाँच प्रतिशत कोरोनाबाट मुक्त भएको कोभिड- १९ उच्चस्तरीय समिति, गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

प्रकाशित समय १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु