गृहपृष्ठ पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्बको कोष सञ्चालनमा ल्याउने तयारी
पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्बको कोष सञ्चालनमा ल्याउने तयारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी भएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।
अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा सरकारका तर्फबाट पूर्वसहमति बमोजिम ५ प्रतिशत लगानी गर्ने निर्णय भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकमसहित आवश्यक अन्य सहयोग गर्ने बताए । एक हप्ताभित्र कम्पनीको दर्ता प्रक्रिया टुंगो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई उनले आग्रह गरे ।
अध्यक्ष पन्तले अहिले कम्पनी दर्ता प्रक्रियामा रहेकाले छिट्टै काम सुरु हुने बताए । उनका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत सेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीको सेयर हुनेछ । गैरआवासीय नेपालीलाई लगानीका लागि आईपीओ जारी गरिनेछ ।
अध्यक्ष पन्तले लगानीका क्षेत्रहरुबारे पनि प्रस्ताव आइसकेको जानकारी दिए । उनले विदेशमा रहेका नेपाली नेपालमा पूर्वाधारको क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताए ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी, गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलगायत सहभागी थिए ।
प्रकाशित समय १५:४९ बजे