गृहपृष्ठ कर्मचारी फेरिँदा सुस्तायो बैतेश्वर गाउँपालिका

कर्मचारी फेरिँदा सुस्तायो बैतेश्वर गाउँपालिका

जनप्रतिनिधि भन्छन्- प्रशासकीय अधिकृतका कारण विकास अवरुद्ध

baiteshor-gapa-dolakha-newskarobar

गत वर्ष सबैभन्दा धेरै बजेट खर्च गरेर अब्बल देखिएको दोलखाको बैतेश्वर गाउँपालिकाको काम अहिले सुस्त भएको छ । चालू वर्षको पाँच महिना बित्न लागे पनि दोलखाको वैतेश्वर गाउँपालिकाका अधिकांश योजना अलपत्र छन् ।

गाउँपालिकाको साउनमै बसेको कार्यपालिका बैठकले पारित गरेको कार्ययोजनासमेत लत्याएको छ । बजेट कार्यान्वयन साउनदेखि नै गर्न थाल्ने र जेठमै योजना पूरा गर्ने कार्ययोजनामा छ । ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाको ठेक्का प्रक्रिया साउनबाटै सुरु गर्ने र उपभोक्ता समितिमार्फत गर्ने योजनाको भदौभित्र उपभोक्ता समिति गठन र अभिमुखीकरण गर्ने कार्ययोजनामा छ । तोकिएको समयमा उपभोक्ता समिति गठन नभए त्यसलाई ठेक्का प्रक्रियामा नै गर्ने उल्लेख छ ।

बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले गत वर्षको तुलनामा यो वर्ष केही सुस्त भएको स्वीकार गरे । कार्ययोजना एउटा प्रशासकीय अधिकृत हुँदा बनायो, योजना बनाउनेबित्तिकै कर्मचारी फेरिँदा पनि योजनाअनुसार काम गर्न केही ढिलाइ भएको उनले स्वीकार गरे ।

एक वर्ष बिताएका प्रमुख प्रशासकीय अधिकृत रहेका नवराज पराजुलीको ठाउँमा फेरिएका सुरेश आचार्य आएपछि कार्ययोजना कार्यान्वयन भएन । तर, एक वडा अध्यक्षले भने प्रशासकीय अधिकृतकै कारण कामले गति लिन नसकेको आरोप लगाए ।

‘प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाकै बैठकमा आफू बढुवाका लागि दुर्गमको नम्बर लिन आएकाले अरुको मतलब नभएको बताए,’ ती वडा अध्यक्षले भने, ‘साधारण खर्च धमाधम गरेर सिध्याउने र पुँजीगत खर्चमा वास्ता नगर्दा समस्या आयो ।’ अघिल्ला प्रमुखभन्दा पछिल्ला अनुभवी भएकाले गत वर्षभन्दा धेरै होला सोचेको गति त उल्टो भएको उनले बताए । बैतेश्वरमा अहिलेसम्म तीन जना कर्मचारी फेरिएका छन् ।

गाउँपालिकाले चालू वर्ष करिब साढे २ सय योजना सञ्चालन गर्ने लक्ष्य लिए पनि पाँच महिना बित्न लाग्दासमेत कार्ययोजनाअनुसार काम हुन सकेनन् । गाउँपालिकाले २ सय ४१ योजना सञ्चालन गर्ने लक्ष्य लिएकोमा हालसम्म ६१ वटा योजनामात्रै सम्झौता भएको छ ।

एक सय ८७ वटा योजना भने अझै सम्झौता हुनै बाँकी छ । अधिकांश उपभोक्ता समितिका व्यक्ति कृषक भएकाले अन्नबाली भित्र्याउने समयका कारण हालसम्म ६१ वटा योजनामात्रै सम्झौता भएका हुन् ।

पाँच महिनाको अवधिमा वैतेश्वर गाउँपालिकाले हालसम्म सम्झौता भएकामध्ये १७ वटा योजना सम्पन्न गरेको छ । चालू वर्ष सञ्चालनको लक्ष्य लिएका २ सय ४१ योजनामध्ये करिब पाँच महिनाको अवधिमा १७ वटा योजना सम्पन्न भएका हुन् । हालसम्मको अवधिमा १५÷१५ लाखको लागतमा वडा नम्बर १ स्थित बोहरागाउँमा खेलकुद मैदान निर्माण र वडा नम्बर ५ को कार्यालय भवन निर्माण गरिएको छ ।

यस्तै, वडा नम्बर १ स्थित लामाटोलमा लामा चौतारा बुद्ध मूर्ति निर्माण, कालाथोकदेखि पाँडुडाँडासम्म सडक निर्माण, मैनापोखरी अगस्तीधारा, वडा नम्बर ८ स्थित सिद्धाकोथान–एबो सडकमा सोलिङ निर्माण पनि सम्पन्न भएको छ । ती सबै योजना ५÷५ लाखको लागतमा सम्पन्न गरिएको गाउँपालिका योजना शाखाले जानकारी दिएको छ ।

वैतेश्वर गाउँपालिकाले चालू वर्ष पुँजीगततर्फ १६ करोड ४२ लाख ५७ हजार र चालुतर्फ ४ करोड ६४ लाख २२ हजार ८ सय ८० रुपैयाँ गरी २१ करोड ६७ लाख ९ हजार ८ सय ८० रुपैयाँ बजेट पाएको छ ।

प्रकाशित समय ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु