गृहपृष्ठ विद्युत चोरीले व्यापार घाटा : कुलमान घिसिङ
विद्युत चोरीले व्यापार घाटा : कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत चोरीका कारण व्यापार घाटा बढिरहेको बताएका छन् । जनकपुरमा शनिबार आयोजित ‘वर्तमान अवस्थामा ऊर्जा र सिँचाइ विकासमा तीनै तहका सरकारको भूमिका’ विषयक अन्तर्क्रियामा कार्यकारी निर्देशक घिसिङले विद्युत चोरीकै कारण उद्योगले प्रशस्त बिजुली नपाएकाले व्यापार घाटा बढेको बताएका हुन् ।
ऊर्जा खपतमा मितव्ययिता अपनाउन सरकारी निकाय नै गम्भीर नभएको उनको आरोप छ । देशभर सरकारी निकायले नै दिनभर बत्ती बाल्ने गरेको घिसिङले बताए ।

प्रदेश २ का ७२ प्रतिशत जनताले विद्युत सेवा उपभोग गरिरहेको तथ्यांक उनले प्रस्तुत गरे । विद्युत लाइन भएर पनि गरिबीका कारण करिब एक लाख घरपरिवार विद्युतविहीन बस्न बाध्य रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । ‘अहिले ऊर्जा मन्त्रालयले गरिब परिवारलार्इ नि:शुल्क विद्युत सेवा प्रदान गर्न ४० करोड निकासा गरेको छ, त्यसमध्ये प्रदेश २ स्थित क्षेत्रीय कार्यालयमा ५ करोड पठाइएको छ,’ उनले भने, ‘अब गरिबका झुपडीमा पनि बत्ती बल्नेछ ।’ विद्युत सेवा सुधारका लागि एसियाली विकास बैंकले साढे ३ अर्ब सहयोग गरेको उनले जानकारी गराए ।
प्रकाशित समय १०:५३ बजे

















