गृहपृष्ठ रामजानकी विवाहपञ्चमीको दोस्रो दिन फूलबारी लीला
रामजानकी विवाहपञ्चमीको दोस्रो दिन फूलबारी लीला
रामजानकी विवाह महोत्सवको साप्ताहिक कार्यक्रमअन्तर्गत शनिवार दोस्रो दिन भव्यताका साथ फूलबारी लीला मनाइएको छ । जानकी मन्दिरको मडवामा शनिबार बेलुका हजारौं श्रद्धालु भक्तजनको सहभागितामा फूलबारी लीला मनाइएको हो ।
अयोध्याबासी राजकुमार श्रीराम र लक्ष्मण (काल्पनिक रुपमा राम र लक्ष्मण बनेर सजिएका) र मिथिलाकी राजकुमारी माता सीता (सांकेतिक रुपमा सीताको रुपमा सजिएका) बीच फूलबारीमा विवाहपूर्व हेराहेर (मिलन) भएको स्मरणमा फूलबारी लीला गर्ने चलन रहेको रामजानकी विवाह पञ्चमी महोत्सवका अध्यक्ष एवं जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

लीलामा राम र लक्ष्मण आफ्ना गुरु विश्वामित्रको आदेशअनुसार फूलबारीमा सुगन्धित फूल र तुलसी टिप्न गएका बेला सीतासँग विवाहपूर्व भएको भेटलाई नाटकीय रुपमा प्रदर्शन गरिएको छ । मडवामा रहेको फूलबारीमा राम, लक्ष्मण फूल टिप्न गएका बेलामा आफ्ना साथीहरुसँग फूल टिपिरहेकी सीता र रामबीच भेट भएको घटना फूलबारीमै गएर देखाइएको थियो ।

प्रकाशित समय ०७:३८ बजे

















