गृहपृष्ठ सिरिया मामिलामा रुस र टर्कीले सहकार्य गर्ने सहमति

सिरिया मामिलामा रुस र टर्कीले सहकार्य गर्ने सहमति

सिरियाबाट अमेरिकी सैनिक फिर्तिपछि रुस र टर्कीले सहकार्य गर्ने विषयमा शनिबार सहमति भएको मस्कोस्थित एक उच्च कुटनीतिज्ञले बताएका छन् ।

‘अमेरिकी सैनिक फिर्ता भएपछिको नयाँ परिस्थितिका बारेमा हामीले विशेष रुपमा छलफल गरेका छौं,’ रुसी विदेशमन्त्री सर्गेई लाभरोभले टर्कीका समकक्षी मेभ्लट काभुसोग्लुसँग मस्कोमा भेटवार्ता भएपछि सञ्चारमाध्यमलाई प्रतिक्रिया दिए ।

रुस र टर्कीका सैनिक प्रतिनिधिहरुबीच स्थलगत रुपमा गर्नुपर्ने समन्वयका बारेमा एक किसिमको सहमति भएको छ । सिरियाबाट सबै किसिमका आतंकबादी खतराहरु निमिट्यान्न पार्न दुबै मुलुकबीच समझदारी पनि भएको लाभरोभको भनाइ छ । टर्कीका विदेशमन्त्री काभुसोग्लुले पनि दुबै मुलुकले सिरियाका मामिलामा सहमति जनाएको पुष्टी गरे । उहाँले सिरियाली शरणार्थीहरुलाई सुरक्षित रुपमा स्वदेश फर्काउने बारेमा पनि छलफल भएको जानकारी दिनुभयो ।

‘हामी रसिया र इरानसँग मिलेर सिरियामा राजनीतिक स्थायित्व ल्याउन तत्पर छौं ।’ उनले भने । लाभरोभ र काभुसोग्लुका अलावा वार्तामा रुस र टर्कीका रक्षा मन्त्रीहरु क्रमशः सर्गेई शोइगु र हुलुसी अकार पनि सहभागी थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता सिरियामा तैनाथ दुई हजार अमेरिकी सैनिक फिर्ता लैजाने घोषणा गरेका थिए । उनले चरमपन्थी इस्लामिक स्टेट समूह परास्त भएकाले अमेरिकी सैनिक फिर्ता गर्नुपरेको जनाएका थिए ।

चरमपन्थी इस्लामिक स्टेटले खाडी क्षेत्रको अधिकांश भूभागमा आफ्नो नियन्त्रण गुमाइसकेको छ । तैपनि, हजारौं जिहादीहरु अझै पनि युद्धग्रस्त मुलुक सिरियामा रहेको विश्वास गरिन्छ । शुक्रबार, रसियाले अर्को वर्षको शुरुमै सिरिया द्वन्द्वका बारेमा टर्की र इरान सम्मिलित तीन देशीय शिखर सम्मेलन गर्ने प्रस्ताव अघि सारेको छ ।

प्रकाशित समय ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु