गृहपृष्ठ सुर्खेत : २०१० सालदेखिका अभियुक्त अझै फरार, कैद मात्र १६ सय २३ वर्ष बाँकी

सुर्खेत : २०१० सालदेखिका अभियुक्त अझै फरार, कैद मात्र १६ सय २३ वर्ष बाँकी

surkhet_district_court

जिल्ला अदालत सुर्खेतमा २०१० सालदेखि फैसला भएका अभियुक्त अझै फरार रहेको पाइएको छ । जिल्ला अदालतले दिएको जानकारी अनुसार वि.सं. २०१० सालदेखि फरार रहेका अभियुक्तहरू अझै भेटिएका छैनन् ।

सुर्खेत अदालतका अनुसार फरार सबै अभियुक्तहरुको १६ सय २३ वर्ष सात महिना १९ दिन कैद सजाय भुक्तान हुन बाँकी छ । त्यस्तै ३ करोड, ६७ लाख २८ हजार ९ सय ३३ रुपैयाँ जरिवाना पनि उठ्न बाँकी रहेको जानकारी दिइएको छ ।

उक्त कैद सजायमध्ये ३ सय ४७ वर्ष ६ महिना ७ दिन कैद फर्छ्योट भएको छ भने १९ लाख ५२ हजार ८ सय ५० जरिवाना फर्छयौट भए पनि अझै १२ सय ७६ वर्ष १ महिना १२ दिन कैद सजाय र ३ करोड ४७ लाख ७६ हजार ८३ रुपैयाँ जरिवाना बाँकी रहेको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिए ।

यसरी धेरै वर्षसम्म पनि फरार रहेका अभियुक्तलाई कार्बाही गर्न नसक्नुका थुप्रै कारणहरु रहको भण्डारीले बताए । उनका अनुसार तिनपुस्ते राम्रोसँग नखुलाएको, बसाइ सरी अन्यत्र गएको र मुत्यु भएकाले पनि अभियुक्त फेला नपरेको हो ।

‘अब हरेक गाउँगाउँमा जिल्ला अदालतको कर्मचारी सुरक्षा टोलीसहित पुग्नुपर्छ,’ उनले भने, ‘तब मात्रै धेरै वर्ष पहिला फैसला भई कार्बाही नभएकाहरुले सजाय पाउने छन् ।’

जिल्ला अदालत सुर्खेतले एउटा समिति नै गठन गरी यस्तो खालको अभियान सञ्चालन गर्ने तयारी गरको श्रेस्तेदार भण्डारीले जानकारी दिए ।

त्यस्तै जिल्ला अदालत सुर्खेतमा पौष महिनाको १७ गते सम्म महिलाले १ सय ४८ र पुरुषले ५८ गरी जम्मा २ सय ६ सम्बन्ध विच्छेदका घटना दर्ता गराएका छन् । आर्थिक वर्ष २०७४/ ७५ मा भने जम्मा ४ सय १ सम्बन्ध विच्छेदका घटना जिल्ला अदालत सुर्खेतमा दर्ता भएका थिए ।

त्यस्तै पौष महिना सम्म व्यक्तीवादि देवानी ३ सय १९, व्यक्तिवादी फौजदारी ३ सय ८३, सरकारवादी फौजदारी १ सय ७९ र रिट ४ गरी ८ सय ८६ मुद्दा छन् । जसमध्ये ५ सय २२ नयाँ र ३ सय ६३ अघिल्लो वर्षका जिम्मेवारी सरी आएका मुद्दा रहेको अदालतले जानकारी दिएको छ ।

त्यस्तै जबरजस्ती करुणीका ३९, बहुविवाहका २३, लागु औषधका २८, घरेलु हिंसाका १३, बाल विवाहका २ वटा मुद्दा दर्ता भएको जिल्ला अदालत सुर्खेतले जानकारी दिएको छ ।

प्रकाशित समय १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु