गृहपृष्ठ विद्यार्थीलाई अभद्र व्यवहार गरेपछि जानकी मेडिकल कलेजका डाक्टर पक्राउ
विद्यार्थीलाई अभद्र व्यवहार गरेपछि जानकी मेडिकल कलेजका डाक्टर पक्राउ
जानकी मेडिकल कलेज शिक्षण अस्पताल जनकपुरधाममा इन्टर्नसिप गरिरहेका एक डाक्टरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मेडिकल कलेजमा एमबिबिएस इन्टर्नसिप गरिरहेका डा. राकेश पाण्डेले कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अभद्र व्यवहार गर्नुको साथै विद्यार्थीहरुलाई डराउने, धम्क्याउने जस्ता दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले लिखित उजुरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार डा. पाण्डेले मादक पदार्थ सेवन गरी कलेजमा आउने गरेका छन् । रातिको समयमा एमबिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थी निर्मलकुमार रामलाई गालीगलौज तथा कुटपीट गर्नुको साथै अभद्र व्यवहार गर्दै आएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कलेजमा डा. पाण्डेले विद्यार्थीहरुलाई धाकधम्की गालीगलौज गर्ने, क्यान्टिनमा खाजा खान नदिने, लाईब्रेरीमा प्रवेश गर्न नदिने, छात्राहरुलाई जिस्काउने जस्ता गलत गतिविधि गर्ने गरेकाले अभद्र व्यवहारअन्तर्गत मुददा दायर गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित समय १९:२३ बजे

















