गृहपृष्ठ राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेतीले यसकारण जित्नुपर्छ

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेतीले यसकारण जित्नुपर्छ

KB UPreti-newskarobar

सहकारी क्षेत्रमा अहिले राष्ट्रिय सहकारी बैंकको निर्वाचनको सरगर्मी छ । शनिबार र आइतबार (पुस २१ र २२ गते) सहकारी बैंकको १५ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ । त्यसैको सरगर्मीले अहिले सहकारी क्षेत्र तताएको छ ।

सहकारी क्षेत्रको एक मात्र बैंकमा दश हजार सहकारी संस्था सदस्य छन् । लामो समयदेखि सहकारी क्षेत्रमा रहेका बैंकका प्रबन्ध संचालक केबी उप्रेती र वर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । सहकारी विज्ञ उप्रेतीको उम्मेदवारी परेपछि पोखरेलले पनि समर्थन गर्ने हामी धेरैको अपेक्षा थियो । तर, अहिलेसम्म त्यसो भने भएको छैन । आखिर किन सहकारीकर्मीले केबी उप्रेतीलाई यति धेरै महत्व दिन्छन् ? किन जिताउनैपर्छ केबी उप्रेतीलाई ? उहाँको पृष्ठभूमि र जिताउनुपर्ने केही कारण म यहाँ प्रस्तुत गर्न चाहान्छु ।

दोलखाको नाम्दुमा २०१८ सालमा जन्मिभएका के. बी. उप्रेती (कृष्ण बहादुर उप्रेती) नेपालको सहकारी अभियानका एक अग्रज, क्रियाशील र व्यवस्थापकीय क्षमता भएका अभियन्ता हुनुहुन्छ । उप्रेती देशभरका सहकारीकर्मीहरुबीच लोकप्रिय पनि हुनुहुन्छ । विद्यार्थीकालदेखि नै नेतृत्वमा रहेर काम गर्नुभएका उहाँ २०४८ देखि २०५० सम्म पिपल्स क्याम्पसको स्ववियू सभापति बन्नुभएको थियो । विद्यार्थी राजनीति, सामाजिक कार्य, पत्रकारिता तथा सैनिक महाविद्यालयमा शिक्षण पेशासमेत गर्नुभएका उप्रेती व्यवस्थापन विषयमा स्नातकोत्तर हुनुहुन्छ ।

०५५ सालदेखि सहकारी अभियानमा सक्रिय उप्रेतीले काठमाडौंमा जनता बहुउद्देश्यीय सहकारी संस्था गठन गरेर काठमाडौंको सहकारी अभियानलाई एकीकृत गर्नुभयो । १३ वटा मात्र सदस्य रहेको काठमाडौं जिल्ला सहकारी संघमा २ हजार भन्दा बढी सदस्य बनाउने काम उहाँले २ कार्यकालमै सम्भव बनाउनुभयो । काठमाडौंसँगै देशभरको सहकारी अभियानलाई सक्रिय बनाउन, सहकारीकर्मीलाई सहकारी क्षेत्रमा केन्द्रित भएर लाग्न प्रेरित गर्ने काममा उहाँको योगदान अतुलनीय रहेको कुरामा दुईमत नहोला ।

सहकारी अभियानको शीर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघमा दुई कार्यकाल लेखा संयोजक रहेर काम गरिसक्नुभएका उप्रेती महासंघको अध्यक्षको दाबेदार हुनुहुन्थ्यो । तर, उहाँले महासंघमा अन्य नेताहरुलाई जिम्मेवारी लिनका लागि सहयोग गर्नुभयो । यसबाट उहाँले आफू सहयोगी र उदार रहेको कुरा पुष्टि गर्नुभयो ।

नेपालको सहकारी अभियानको लामो समयसम्मको प्रयास पश्चात प्राप्त राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनामा महत्वपूर्ण योगदान गर्नुभएका उप्रेतीले केही समय स्वयंसेवकको रुपमा प्रबन्ध सञ्चालकको जिम्मेवारी लिनुभयो । बैंकलाई देशव्यापी बनाउँदै अगाडि बढ्ने क्रममा उहाँ दुई कार्यकाल प्रबन्ध सञ्चालकको रुपमा कार्यरत हुनुहुन्थ्यो । अर्को सहकारी बैंक बनाउनेभन्दा भई रहेको सहकारी बैंकलाई सबैको साझा, सक्षम र दीगो बनाउने सोच र कार्यक्रमका साथ सबै सहकारीको विश्वास आर्जन गर्न उप्रेती सफल मानिनुहुन्छ ।

सहकारीका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम तथा अनुभव प्राप्त गर्नुभएका उहाँ हालै मात्र एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासको लागि संजाल एनईडीएसीको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । राष्ट्रिय सहकारी बैंकको प्रबन्ध सञ्चालकको जिम्मेवारीबाट अलग भई बैंकको उहाँ अहिले अध्यक्षको दाबीसहित मैदानमा हुनुहुन्छ । उप्रेती सहकारी अभियानमा लोकप्रिय र सबैका कुरा सुन्ने, बैंकजस्तो व्यावसायिक संस्थामा राजनीतिक आस्था तथा अन्य कुनै पनि आधारमा कसैलाई काखापाखा नगर्ने अभियन्ता हुनुहुन्छ ।

आगामी दिनमा सहकारी बैंकलाई देशभर शाखा विस्तार गर्ने, प्रदेश स्तरीय सहकारी बैंकको शाखा स्थापना गर्ने, राज्यका गरिबी निवारण र स्वरोजगार कोष लगायतका सबै पुँजी सहकारी मार्फत परिचालन गर्ने, सहकारीहरुलाई व्यावसायिक र उत्पादनमा लाग्न सहयोग र समन्वय गर्ने तथा रोजगार सिर्जना गर्ने कार्यक्रममा बैंकलाई परिलक्षित गर्न उहाँ सक्षम हुनुहुन्छ । सहकारीकर्मीहरुको भावना अनुसार नै बैंकलाई देशव्यापी बनाउन उहाँलाई सबैको सहयोग र समर्थन आवश्यक छ । एकातिर सहकारी अभियानलाई प्रभावकारी बनाउन र सहकारी बैंकलाई पनि तीव्र गतिमा विस्तार गर्न केबी उप्रेतीको उम्मेदवारी र विजय महत्वपूर्ण छ ।
(थापा सहकारीकर्मी हुन् )

प्रकाशित समय १६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु