गृहपृष्ठ माघे सङ्क्रान्तिमा नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

माघे सङ्क्रान्तिमा नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

goru-Judhae-newskarobar

परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यो वर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले पत्रकार सम्मेलन गरी यस वर्षौंदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिएको हो ।

नुवाकोटको तारुकामा २३, बेत्रावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको पर्यटन समजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको बताए ।

पर्यटन व्यवसायीद्वय रामशरण थपलिया र दीपक महतले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथ बाह्य पर्यटन प्रवर्धन गर्नुपर्ने विचार राखे । तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करिब दुई सय वर्ष पुरानो मानिन्छ ।

तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङका गरी हजारौंको सहभागिता रहने गर्छ ।

यस्तै, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । ६ वर्षदेखि बेत्रावतीमा माघे सङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ । यो वर्ष आठ हल गोरुको दर्ता भइसकेको आयोजक गोसाइकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बिमाको व्यवस्था गरिएको छ । विजेता र उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

टोलैपिच्छे गोरु जुधाउने परम्पराले चर्चा पाउन नसकेपछि स्थानीय युवा मिलेर १२ वर्षदेखि गोरु जुधाइलाई एकीकृत बनाएर तारुका–५ स्थित चन्दनीको कटहरबोटको पाटोमा सुरु गरेपछि यसको चर्चा यतिखेर विदेशमा समेत हुने गरेको छ ।

१२ वर्षदेखि यो पर्व मनाउन प्रमुख राजनीतिक दलले चक्रीय प्रणाली अपनाएका छन् । मेला सञ्चनाल गर्ने विषयमा स्थानीयबीच मनमुटाव बढ्दै गएपछि चक्रीय प्रणालीमा मेला सुरु गर्न थालिएको छ । (रासस)

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु