गृहपृष्ठ धर्म परिवर्तनपछि भागेकी साउदी युवतीलाई क्यानडाको शरण
धर्म परिवर्तनपछि भागेकी साउदी युवतीलाई क्यानडाको शरण
धर्म परिवर्तन गरेका कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा स्वीकार गरेका हुन् ।
क्यानडा विश्वभरको मावनअधिकार र महिला अधिकारको पक्षमा उभिएको प्रधानमन्त्री ट्रुडोले बताएका छन् । रहाफको तर्फबाट संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले पेस गरेको शरणार्थी आवेदन स्वीकार्दा आफ्नो सरकारलाई खुसी लागेको प्रधानमन्त्री ट्रुडोले बताए ।
साउदी जेलमा राखिएका महिला अधिकारवादीहरूलाई रिहा गरिदिन क्यानडाको मागको कारण क्यानडा तथा साउदी अरबबीचको सम्बन्ध गत अगस्टमा नाटकीय ढंगबाट बिग्रिएको थियो । तर, क्यानडाले साउदी महिलाको शरणार्थी रुपमा सहजै स्वीकार गरेको छ ।
आफ्ना परिवारसँग कुवेत भ्रमणमा भएकी रहाफले अचानक बैंककको उडानबाट भाग्ने निर्णय गरेकी थिइन् । उनको खास उद्देश्य बैंककबाट अस्ट्रेलियाको उडान समात्ने थियो । उनीसँग अस्ट्रेलियाको प्रवेश आज्ञासमेत थियो ।
तर, बैंककको विमानस्थलमा उनको पासपोर्ट एक साउदी कूटनीतिज्ञले खोसिदिएपछि उनी अलपत्र परिन् । त्यसपछिको उनको कहानीले विश्वभर नै खैलाबैला मच्चियो । भागेर बैंककको विमानस्थलमा पुगेपछि सामाजिक सञ्जालद्वारा आफ्नो अवस्था प्रकट गरेकी रहाफलाई विश्वभरबाट सहानुभूति व्यक्त भएका थिए ।
रहाफले बैंकक विमानस्थलमा होटेलभित्र आफूलाई बन्द गरी लगातार ट्विटरमार्फत आफ्नो अवस्था विश्वलाई अवगत गराएकी थिइन् । साउदी अरबमा इस्लाम त्याग्नु भनेको मृत्युदण्डसमेत दिनसक्ने अपराध मानिन्छ । रहाफले परिवारबाट शारीरिक तथा मानसिक दुर्व्यवहार भोगेको एएफपीलाई बताएकी थिइन् । कपाल काटेको निहुँमा आफूलाई ६ महिनासम्म कोठामा थुनिएको उनको भनाइ थियो ।
यद्यपि, रहाफको परिवारका एक सदस्यले बीबीसीसँग कुरा गर्दै यी विषयमा उनीहरूले कुनै टिप्पणी गर्न नचाहेको र केवल रहाफको सुरक्षालाई लिएर चिन्तित भएको बताएका थिए । (रासस)
प्रकाशित समय १५:४८ बजे

















