गृहपृष्ठ स्विस नेपाल प्रविधि हस्तान्तरण कार्यशालाको तेस्रो संस्करण सम्पन्न

स्विस नेपाल प्रविधि हस्तान्तरण कार्यशालाको तेस्रो संस्करण सम्पन्न

शून्य ऊर्जा शीत भण्डार र दुग्ध मिसावट पत्ता लगाउने अवधारणालाई एक/एक लाख पुरस्कार

NepSAS-Workshop-newskarobar

स्विट्जरल्यान्डमा अध्ययनरत र कार्यरत नेपाली विद्यार्थी एवं पेसाकर्मीहरूको संस्था नेपलिज साइन्टिफिक एसोसिएसन इन स्विजरल्यान्ड (नेपसास)ले ‘स्विस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला– २०१९’ को आयोजना गर्ने भएको छ । यो नेपालमा आयोजना गरिएको यस्तो प्रविधि हस्तान्तरणसम्बन्धी तेस्रो संस्करण हो । यो वर्ष सहभागी भएका करिब ८० प्रतियोगीमध्ये शून्य ऊर्जा शीत भण्डार र दुग्ध मिसावट पत्ता लगाउने ‘किट’ सम्बन्धी स्टार्टअप अवधारणाहरूले एक– एक लाख रुपैयाँको पुरस्कार जितेका छन् ।

देशभरिबाट खुला रूपमा आह्वान गरिएको स्पष्र्धामा ५ सयभन्दा बढीले आवेदन गरेकोमा प्रारम्भिक चरणमा ८० जनालाई चयन गरिएको थियो । नेपालमै पहिलो पटक ‘स्पिड डेटिङ’को अवधारणाबाट तीमध्ये समान किमिसका अवधारणा मिल्ने ५४ जनालाई छनौट गरी १७ टिममा विभाजित गरिएको नेपसासका अध्यक्ष रञ्जन मिश्रले जानकारी दिए ।

ती १७ वटै टिमलाई विभिन्न क्षेत्रका ३५ भन्दा अधिक प्रविधि र व्यवसाय क्षेत्रका गुरुहरूले चार दिनसम्म विज्ञान तथा प्रविधिमा आधारित उद्यम (स्टार्टअप) अवधारणाका विभिन्न आयामबारे ज्ञान प्रदान गरेका थिए । काठमाडौंको गेट कलेजमा आयोजित कार्यक्रमका सहभागीलाई निःशुल्क सहभागिताको व्यवस्था गरिएको थियो भने उपत्यकाबाहिरका सहभागीलाई यातायात र आवासको व्यवस्थासमेत गरिएको थियो ।

अन्तिम स्पर्धामा चयन भएका १० समूहमध्ये शून्य ऊर्जा शीत भण्डार र दुग्ध मिसावट पत्ता लगाउने ‘किट’सम्बन्धी स्टार्टअप अवधारणाहरूले एक हजार स्विस फ्य्रांक (१ लाख रुपैयाँभन्दा बढी)का प्रथम पुरस्कार जितेका हुन् । ती दुवै अवधारणामध्ये उत्कृष्ट प्रोटो–टाइप बनाउनेले ‘वल्र्ड इनोभेसन फोरम’मा नेपालको तर्फबाट सहभागिता जनाउन पाउनेछन् ।

स्पर्धाका विजयीहरूलाई नेपालस्थित स्विट्जरल्यान्डका राजदूत एलिजावेथ भन कप्लर र स्विस फेडरल इन्स्टिच्युट अफ टेक्नोलोजीका जैविक विज्ञान ( सेल बायोलोजी र बायोकेमेस्ट्री)का प्राध्यापक म्याथिस पिटरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

यो वर्षदेखि नेपसासले कार्यशालामा प्रस्तुत गरिने उत्कृष्ट अवधारणाहरूका लागि वर्षभरिकै परामर्श, सँगै कार्य गर्ने स्थल र बीज पुँजी प्रदान गरिने मिश्रले जानकारी दिए । आवश्यक परेको समयमा उत्कृष्ट अवधारणाले आन्स्टाइनले अध्ययन गरेको विश्वविद्यालय स्विस फेडरल इन्स्टिच्युटका इन्नोभेसन सेन्टरहरूमा पहुँच पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रमको पहिलो दिन हेल्सयुग्रिनका अंकित अग्रवालले फूलको पुनः प्रयोगका माध्यमबाट गंगा संरक्षण अभियानमा आफूले सञ्चालन गर्दै आएको स्टार्टअप उद्यमको बारेमा जानकारी दिएका थिए भने दोस्रो आइडिया स्टुडियोका सहसंस्थापक रुपेशकृष्ण श्रेष्ठले स्टार्टअप अवधारणालाई दिगो व्यवसायमा परिणत गर्ने उपायबारे जानकारी गारएका थिए ।

नेपसासले युवाहरूमाझ विज्ञान तथा प्रविधिमा आधारित उद्यम (स्टार्टअप)हरू प्रवर्धन गर्दै आइरहेको छ । नेपसासले हालको प्रतिभा पलायन (ब्रेन ड्रेन)लाई दिगो र समृद्ध प्रतिभा प्राप्तिमा बदलिने लक्ष्य राखेको छ । यो लक्ष्य प्राप्तिका लागि संस्थाले युवालाई त्यस्ता विज्ञता हासिल गरेका व्यक्तिहरू जो अनुभवी परामर्शकर्ता÷गुरुका रूपमा योगदान दिन इच्छुक छन्, उनीहरूसँग सम्पर्क गराउने मञ्चहरू उपलब्ध गराउँदै आइरहेको नेपालिज साइन्टिफिक एसोसियसन इन स्वीजरल्यान्ड– नेपसासका अध्यक्ष रञ्जन मिश्रले बताए ।

सन् २०१७ देखि नेपसासले स्थानीय चुनौती र अवसरहरूलाई सम्बोधन गर्दै सम्भाव्य नवउद्यम (स्टार्टअप)मा परिणत गर्ने वैज्ञानिक अवधारणाहरूलाई सहयोग गर्न काठमाडौंमा वार्षिक कार्यशालाको आयोजना गर्दै आएको छ ।

प्रकाशित समय १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु