गृहपृष्ठ जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालको वर्चस्व
जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालको वर्चस्व
विराटनगरमा सम्पन्न प्रेसिडेन्ट कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा १५ र १९ वर्षमुनिको उमेर समूहमा प्रिन्स दाहालले उपाधि हात पारेका छन् । त्यसैगरी, महिलातर्फ १५ वर्षमुनि रसिला महर्जन र १९ वर्षमुनि जेसिका गुरुङले उपाधि हात पारेका छन् ।
विराटनगरको सहिद रंगशालास्थित कभर्डहलमा सम्पन्न प्रतियोगितामा प्रिन्स दाहालले १९ वर्षमुनिको समूहमा समकक्षी प्रफुल्ल महर्जनलाई दुई–शून्यको सेटमा पराजित गरेका थिए । पहिलो सेट २१–८ ले जित हात पारेका दाहालले दोस्रो सेट पनि सहज २१–१० ले महर्जनलाई स्तब्ध बनाउन सफल भएका छन् । जित हात पारेका दाहालले ट्रफीसहित २२ हजार ४ सय रुपैयाँ हात पारे ।
त्यसैगरी, महिलातर्फको १९ वर्षमुनि जेसिकाले रसिला महर्जनलाई दुई–शून्यको सेटमा स्तब्ध बनाएकी थिइन् । ट्रफीसहित २२ हजार ४ सय रुपैयाँ नगद हात पारेकी जेसिकाले खेल २४–२२ र २१–१४ ले जितेकी थिइन् । प्रतियोगिताअन्तर्गत सोही उमेर समूहको डबल्समा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले म्यानमारका ज लिन ह्युटु र थु रिइनलाई दुई–एकको सेटमा हराएको थियो ।
डबल्सको उपाधि हात पार्ने क्रममा महर्जन जोडीले खेल १९–२१, २१–१७ र २१–१८ ले जित हात पारेको थियो । त्यसैगरी, महिलातर्फ जेसिका गुरुङ र रसिला महर्जनको जोडीले नेपालकै सीमा राजवंशी र नीता लम्सासको जोडीलाई २१–१२ र २१–३ ले हराएको थियो । त्यसैगरी, पुरुष १५ वर्षमुनिको खेलमा प्रिन्स दाहालले म्यानमारका ज लिन ह्युटुलाई दुई–एकको सेटमा हराए ।
उपाधि हात पारेका दाहालले पहिलो सेट २१–१५ ले जितेका थिए । यद्यपि, दोस्रो सेटमा ह्युटुले २१–१७ ले आफ्नो पक्षमा पारे । अन्तत रोमाञ्चक बनेको अन्तिम खेलमा दाहालले ह्युटुलाई २१–९ ले स्तब्ध बनाए । त्यसैगरी, सोही उमेर समूहअन्तर्गत महिलातर्फ रसिला महर्जनले स्मृति राई २१–७ र २१–३ ले हराउँदै उपाधि हात पारिन् ।
नेपाल ब्याडमिन्टन संघको मुख्य आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधि विजेता खेलाडीलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा नेपालसहित भारत र म्यानमारबाट गरी कुल ७६ खेलाडीको सहभागिता रहेको रेफ्री किरण कारन्जीतले जानकारी दिए । म्यानमारबाट ३ र भारतबाट २ खेलाडीको सहभागिता थियो ।
प्रकाशित समय १९:०८ बजे

















