गृहपृष्ठ श्रीमती हत्या अभियोगमा कारागार चलान भएकै दिन श्रीमानले गरे आत्महत्या
श्रीमती हत्या अभियोगमा कारागार चलान भएकै दिन श्रीमानले गरे आत्महत्या
श्रीमतीको हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका एक युवकले कारागारभित्रै आत्महत्या गरेका छन् । मंगलबार राति कारागारको शौचालयको झ्यालमा जुत्ताको लेसको पासो लगाई उनले आत्महत्या गरेको दोलखा प्रहरीले जानकारी दिएको छ ।
कालिन्चोक गाउँपालिका ५ लापिलाङ घर भएका २४ वर्षीय च्याङा शेर्पाले गए राति आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले जानकारी दिए ।
च्याङाकी श्रीमती लक्की भनिने सर्किनी शेर्पा गत पुस १६ गते चरिघ्याङस्थित आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएपछि सर्किनीको हत्या अभियोगमा उनका पति च्याङालाई पुस २० गते प्रहरीले पक्राउ गरेको थियो ।
हत्या अभियोगमा पक्राउ परेका उनलाई जिल्ला अदालत दोलखाले मंगबारनै पुर्पक्षका लागि थुनामा पठाएको थियो । अदालतले थुनामा पठाएकै राति उनले कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् । मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नफर्किए पछि खोजतलास गर्दा साँढे १२ बजे शेर्पालाई शौचालयको झँयालमा झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरी प्रमुख पाठकले जानकारी दिए ।
मृतकका आफन्तले प्रहरीको लापारबाही देखिएको भन्दै बुधबार दिनभर जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिए ।
प्रकाशित समय १०:४२ बजे

















