गृहपृष्ठ डा. केसीले अनसन तोड्ने

डा. केसीले अनसन तोड्ने

dr_kc-newskarobar

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीले २४ औं दिनमा १६ औं अनसन तोड्ने भएका छन् । उनलाई पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, केदारभक्त माथेमालगायतले अनसन तोड्न आग्रह गरेका थिए ।

आफ्नो १६ औं अनसन इलामबाट सुरू गरेका डा. केसीको स्वास्थ्यस्थित खस्कँदै गएपछि काठमाडौं ल्याइएको थियो । काठमाडौं ल्याइएपछि पनि उनले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसन जारी राखेका थिए ।

डा. केसीको अनसनकै बीच प्रतिनिधिसभा र राष्ट्रियसभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो । यद्यपी उक्त विधेयकप्रति डा. केसीले तीव्र असन्तुष्टी जनाउँदै आएका थिए ।

अर्कातर्फ सरकारले भने विधेयकमार्फत् डा. केसीका अधिकांश माग पूरा भइसकेकाले उनले अनसन बस्नु आवश्यक नभएको सरकारले तर्क गर्दै आइरहेको थियो ।

यद्यपी संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने डा. केसीका मागमा पूर्ण सहमति जनाउँदै आएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा बोल्ने कांग्रेस सांसदहरूले डा. केसीको पक्षमा खुलेर आवाज उठाएका थिए ।

एकातर्फ सत्तापक्ष (नेकपा) केसीका माग पूरा भइसके भन्ने र अर्कातर्फ प्रतिपक्ष (नेपाली कांग्रेस) उनका माग पूरा भएका छैनन् भन्ने कारणले उनको अनसनमा राजनीतिकरण भएको भन्नेहरूको संख्या पछिल्लो दिन बढ्दै गएको देखिन्थ्यो ।

पछिल्लो समय मुख्य निशानामा परेका भनिएका मनमोहन र बी एन्ड सी मेडिकल कलेज नेकपा निकटका व्यक्तिहरूले सञ्चालन गर्न लागेकाले त्यसलाई रोक्न उनको अनसन प्रयोग भएको भन्ने आरोप पनि नलागेको होइन । यी आरोपले पनि डा. केसीको अनसनलाई राजनीतिक रंग दियो ।

अझ कतिपयले उनको राजनीतिक संलग्नताका सम्बन्धमा खुलेरै चर्चा गर्न थाले । यो निर्वाचनका समयमा खासगरी अहिले उनलाई समर्थन गरिरहेको दल र नेताका सम्बन्धमा थियो । जसले उनको अनसनलाई राजनीतिक रंग दिनेहरूलाई थप सुविधा दियो ।

अर्कातर्फ डा. केसीको मागसँग असहमत भएका कतिपय डाक्टर र पेशागत संघहरूले नै पनि उनको अनसनलाई ‘बेमौसमी बाजा’का रूपमा चित्रण गरे । यद्यपी चिकित्सक संघले भने उनको पक्षमा वकालत गरी नै रह्यो ।

यी विविध कारणले डा. केसी र उनका समर्थकहरूलाई सरकारलाई झुकाउन अफ्ठरो स्थिति थियो । जसका कारण उनले अनसन स्थगित गर्न पुगे ।

सम्भवतः यही कारण हुनुपर्छ डा. केसीका शुभचिन्तक डा. अभिषेकराज सिंहले शुक्रबार साँझ ट्वीट गर्दै भने, ‘नागरिक समाजका अगुवाहरुको आग्रहलाइ स्वीकार गर्दै डा गोबिन्द केसीले २४ दिन लामो सत्याग्रह हाललाइ स्थगन गर्ने निर्णय लिनुभयको छ। यस अभियानमा सघाउने सम्पुर्णलाई हृदयदेखि नै धन्यबाद !!!’

प्रकाशित समय १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु