गृहपृष्ठ प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्रिको अध्यक्षतामा मूल समारोह समिति गठन
प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्रिको अध्यक्षतामा मूल समारोह समिति गठन
सरकारले ६९ औं प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ । सोमबार गृह मन्त्रालयमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा मूल समारोह समिति गठन गरेको छ ।
मूल समारोह समितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु सदस्य छन् । समारोहलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सैनिक मञ्च टुाडिखेलमा आगामी फागुन ७ गते आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि तथा उपराष्ट्रपति नन्दबहादुर पुन विशेष अतिथिको रुपमा सहभागी हुने गृह मन्त्रालयले जनाएको छ । कार्यक्रमलाई भने प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सोही अवसर पारेर फागुन ६, ७ र ८ गते साँझ दिपावली गर्ने तथा विदेशस्थित नेपाली दुतावास र कुटनीतिक नियोगहरुमा प्रजातन्त्र दिवस सम्बन्धी विभिन्न कार्यक्रम गर्ने निर्णय भएको गृहले जनाएको छ ।
मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको मर्म अनुसार काम गर्न सक्ने स्पष्ट नीति, योजना, कार्यक्रम तय गरिएकाले यस वर्षको प्रजातन्त्र दिवसलाई गर्वका साथ मनाउन लागिएको बताए ।
प्रधानमन्त्री ओलीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढाउन सबैको सचेत अभियानको जरुरी रहेको समेत बताए ।
प्रकाशित समय १९:०० बजे

















