गृहपृष्ठ भारतले आक्रमण गरे पाकिस्तान सोचेर बस्दैन, कडा प्रतिकार गर्नेछ : इमरान खान
भारतले आक्रमण गरे पाकिस्तान सोचेर बस्दैन, कडा प्रतिकार गर्नेछ : इमरान खान
कश्मीरमा केही दिन पहिले भएको घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको पुष्टि गर्न पाकिस्तानले भारतलाई चुनौती दिएको छ ।
घटनामा पाकिस्तानी पक्षको संलग्नता रहेको आरोप लगाउँदै पाकिस्तानमाथि आक्रमण गर्ने भारतले चेतावनी दिइरहेका बेला पाकिस्तानले यस्तो चुनौती दिएको हो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी टेलिभिजनमार्फत मंगलबार गरेको सम्बोधनमा भारतलाई कश्मीर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएका हुन् ।
साउदी युवराज मोहम्मद बिन सलमानको भ्रमणका कारण आफूले ढिलो गरी सम्बोधन गरेको बताउँदै उनले भारतले आफूहरुमाथि आक्रमण गरेमा आफूहरु पनि प्रतिकार गर्न तयार रहेकोचेतावनी दिए ।
गएको हप्ता भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा ४४ सुरक्षाकर्मीको मृत्यु भएपछि त्यो घटना पाकिस्तानले गराएको भारतको आरोप छ । पाकिस्तानी भूमिबाट सञ्चालित लडाकू संगठन जैश–ए–मोहम्मदले घटना आफूले गराएको दाबी गरेको छ भने पाकिस्तानी प्रधानमन्त्रीले घटनामा आफ्नो संलग्नता नरहेको र संलग्नताको पुष्टि गर्न चुनौती दिएका छन् ।
कश्मीर घटनाको अनुसन्धानमा सहकार्य गर्न आफूहरु तयार रहेको बताउदै उनले पाकिस्तान आफै स्थायित्वतिर उन्मुख भएकाले यस्तो आक्रमण गर्न नचाहेको स्पष्ट पारे । पाकिस्तान आफै पनि आन्तरिक रुपमा आतंकवादी समस्याबाट गुज्रिरहेको बताउँदै प्रधानमन्त्री इमरान खानले अर्बाैं रुपैयाँ आतंकवादविरुद्धको लडाइँमा खर्च गरेको बताए ।
पाकिस्तानी प्रधानमन्त्री खानले आरोप प्रत्यारोप छाडेर वार्ताबाट समस्याको समाधान गर्न भारतलाई आह्वान पनि गरेका छन् । त्यसका लागि पाकिस्तान तयार रहेको खानको भनाइ छ ।
सन् १९४७ मा विभाजन भएदेखि नै दुवै देशले कश्मीर आफ्नो अधीनस्थ हुनुपर्ने दाबी गर्दै आएका छन् । कश्मीरको केही भूभाग पाकिस्तान र केही भारतको अधीनमा छ ।
आणविक हतियार भएका भारत र पाकिस्तानबीच कश्मीरको विषयलाई लिएर तीन पटक युद्ध भइसकेको छ । बिहीबारको घटना त्यस क्षेत्रमा भारतीय फौजलाई लक्षित सबैभन्दा ठूलो आक्रमण भएको बताइएको छ ।
छुट्टी मनाएर काममा फर्कँदै गरेका झण्डै दुई हजार ५०० सुरक्षाकर्मी लिएर गइरहेका ७८ वटा सवारी साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले आत्मघाती आक्रमण गरेको थियो ।
मौलाना मसूद अजहरको नेतृत्वमा रहेको जैश–ए–मोहम्मद आतंककारी समूहलाई पाकिस्तानले पूर्णरुपमा स्वतन्त्रता दिएको र पाकिस्तानको नै नियन्त्रणमा यसले बढावा पाइरहेको भारतको दाबी छ । तर पाकिस्तानले भने अस्वीकार गर्दै आएको छ ।(रासस)
प्रकाशित समय ०७:४९ बजे

















