गृहपृष्ठ मानो रोपेर मुरी फलाउने दिन गए

मानो रोपेर मुरी फलाउने दिन गए

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा पर्सा, बारा र रौतहटका किसानले सिँचाइ अभावमा हालसम्म धानको बीऊ राख्न पाएका छैनन् । बीऊ राख्न नपाउँदा मानो रोपेर मुरी फलाउने किसानको इच्छा यसपालि अधुरै रहने भएको छ ।

‘गण्डक नहरमा पानी नछाड्दा धानको बेर्ना लगाउन सकिएको छैन’ पश्चिमी पर्सा जगरनाथपुरका कृषक हरि देवले भने, ‘आकाशे पानीको भरमा लगाइएको बेर्ना सुक्न थालेको छ ।’ गत वर्ष साउन अन्तिम साता आएको बाढीले भारतीय क्षेत्रमा गण्डक नहर क्षतिग्रस्त बनाएपछि हालसम्म सो संरचना निर्माण नगरेको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय बहुवरीका डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले जानकारी दिए ।

पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४३० तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले धान खेती गर्दै आएका छन् । सिँचाइ अभावमा यस वर्ष पर्सा, बारा र रौतहटमा किसानले हालसम्म करीब ५० प्रतिशत मात्र धानको बीउ राख्न पाएका जिल्ला कृषि विकास कार्यालयका प्रमुख वीरेन्द्रकुमार सिंहले बताए । ‘गण्डक नहरमा समयमा पानी नछाड्दा यस वर्ष धान खेती प्रभावित हुने अवस्था छ’ उनले भने ।

गण्डक नहरबाट पर्सा, बारा र रौतहटको ३७ हजार हेक्टर क्षेत्रफललाई सिँचाइ पुग्ने पानी छोडिन्छ । गत वर्ष साउनमा आएको बाढीले भारतीय भूभागमा रहेको नहरको ठाउँठाउँमा क्षति पु¥याए पनि हालसम्म मर्मतसम्भार हुन सकेको छैन ।

गत वर्ष पानीको अभावमा पर्सा, बारा र रौतहटको ७६ हजार पाँच सय हेक्टरमा लगाइएको गहुँबाली प्रभावित भएको थियो । गण्डक नहरको पानी पश्चिमी पर्साको जानकी टोलबाट शुरु भई पर्सा, बारा हँुदै रौतहटको बागमती नदीमा गएर मिसिन्छ । नेपाल र भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नदीमा ८ सय ५० क्युसेक पानी छोड्नुपर्ने हुन्छ ।

अन्नको भण्डार मानिने पर्सा, बारा र रौतहटमा सिँचाइ अभावमा पर्याप्त मात्रामा अन्न उत्पादन हुन नसक्दा भारत माथिको परनिर्भता बढ्दै गएको छ । चालु आ.व.को असार १३ सम्मको तथ्यांक हेर्दा भारतबाट तीन अर्ब ४७ करोड मूल्य बराबरको एक लाख २६ हजार ४ सय ३६ टन धान नेपाल आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले जानकारी दिए ।

उर्वराभूमि, पर्याप्त जनशतिm र सिँचाइको ठूलो स्रोत हँुदाहँुदै सिँचाइ अभावमा समयमै धान रोपाइँ हुन नसक्दा कृषिमा परनिर्भता बढदै गएको छ । सरकारले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि समयमा वर्षा नहुँदा तथा गण्डक नहरमा समयमा भारतीय पक्षले पानी नछाड्दा किसानलाई मानो रोपेर मुडी फलाउने काम सपना जस्तो भएको छ ।
(वीरेन्द्र कर्ण÷रासस)

प्रकाशित समय १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु