गृहपृष्ठ ‘गोरखा बेभरेज’का प्रबन्धकले आफैंले उत्पादन गरेको पानी पिएनन्
‘गोरखा बेभरेज’का प्रबन्धकले आफैंले उत्पादन गरेको पानी पिएनन्
राजधानीको नयाँ बानेश्वरस्थित एक कार्यालयमा जारको पिउने पानीमा लेउ नै लेउ भेटियो । तीन–चारवटा जारमा लेउ भेटिएपछि कार्यालयका कर्मचारीले पानी उत्पादक गोरखा बेभरेजमा फोन गरे र त्यसका सञ्चालकलाई कार्यालयमै बोलाए । गोरखा बेभरेजले उत्पादन गरेको ‘मास्टर अक्वा’ को बचाउ गर्न प्रबन्धक शिवराम भट्टराई आइपुगे ।
कार्यालयका कर्मचारीले पानीमा लेउ देखाउँदा प्रबन्धक भट्टराईले सुरुमा ठाडै अस्वीकार गरे । ‘मेरो कम्पनीको पानीमाथि यत्रो आरोप ? यो पानी ठूल्ठूला कार्यालय र उद्योगमा पुग्छ, निकै शुद्ध छ, कसैले अहिलेसम्म खोट लगाएका छैनन् । पानीका फोका होलान्, तपाईंहरुले लेउ देख्नुभो,’ उनी जंगिए ।
जारको पानीमा दिसामा पाइने जीवाणु कोलिफर्म तथा इकोलाइका जीवाणु भेटिएको खबर आइरहँदा यसै सशंकित भइरहेका कार्यालयका कर्मचारी उत्पादकको गैरजिम्मेवारपूर्ण जवाफ सुनेपछि उल्टै चिढिए । र, प्रबन्धक भट्टराईकै अगाडि जारको पानी अर्को सफा भाँडोमा खन्याए । पानीमा लेउमात्र थिएन, पानी धमिलो पनि थियो ।
कर्मचारीले प्रबन्धक भट्टराईलाई सोही पानी पिउन दिए । तर, उनले आफैंले उत्पादन गरेको पानी पिउन मानेनन् । ‘आफैंले पिउन नसक्ने पानी अरुलाई बेच्ने ?’ भन्दै कार्यालयका कर्मचारी जंगिएपछि उनी नाजवाफ भए ।

जार राम्रोसँग सफा नभएको र कर्मचारीको लापर्बाहीले पानीमा फोहोर भएको हुनसक्ने प्रबन्धक भट्टरार्ईले स्वीकारे । तर, बजारमा माग उच्च भएकाले पानी तयार पार्न भ्याइनभ्याई हुने हुँदा कम गुणस्तरीय पानी उत्पादन भएको हुनसक्ने गैरजिम्मेवार स्पष्टोक्ति उनले दिए । ‘कच्याककुचुक भएका जार सफा गरेर भ्याइँदैन, जारमा लेउ पलाएको हुन सक्छ, मानवीय त्रुटि भएको हो, अब हामी सुधार गर्छौं,’ प्रबन्धक भट्टराईले भने । तर, कहिलेदेखि ? भन्ने प्रश्नमा उनले समय तोक्न सकेनन् ।
जोरपाटी नारायणटारमा रहेको गोरखा बेभरेजको उत्पादन ‘मास्टर अक्वा’ को पानी मात्र होइन, राजधानीमा बेचिने अधिकांश उद्योगको पानीमा यस्तै समस्या छ । उपभोक्ताले शुद्ध ठानेर किन्ने जारको पानीमा विश्वास गरिहाल्ने अवस्था छैन । जारको पानीमा अखाद्य लेउ तथा हिलो धमिलो मात्र नभई, दिसामा पाइने जीवाणु इकोलाई र कोलिफर्मसमेत भटिने गरेको छ ।
५० प्रतिशत कम्पनीका पानी पिउन अयोग्य
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले केही समयअघि गरेको अध्ययन र परीक्षणमा झन्डै ५० प्रतिशत जारको पानीमा मानव स्वास्थ्यलाई प्रत्यक्ष हानी गर्ने जीवाणु फेलापरेको थियो । कलेज, स्कुल, होटल, सार्वजनिक स्थानमा राखिएका ५० ब्रान्डका पानी परीक्षण गर्दा कोलिफर्मसँगै इकोलाई पनि फेलापरेको हो । विभिन्न अध्ययनले राजधानीमा बेचिने ९० प्रतिशत पानी खान अयोग्य रहेको देखाइसकेको छ ।
राष्ट्रिय खानेपानी मापदण्डअनुसार खानेपानीमा इकोलाई र कोलिफर्म शून्य हुनुपर्छ । इकोलाईले आउँ, हैजा, पखाला तथा अरु प्राणघातक रोग लाग्ने डाक्टरहरु बताउँछन् । ‘मापदण्डअनुसार कोलिफर्मको मात्रा शून्य हुनुपर्छ,’ नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तले भने ।
ट्यांकरको पानी जारमा भर्दै बेच्दै
ट्याकरको पानीमा समेत उस्तै लापर्बाही छ । सरकारले प्रमाणित गरेको स्टिकर ट्यांकरमा अनिवार्य टाँसेरमात्र उपभोक्तालाई पानी वितरण गर्नुपर्ने हुन्छ । तर, यो व्यवस्था पूर्ण कार्यान्वयनमा आएको छैन । कतिपय ट्यांकर सञ्चालकले हचुवाका भरमा टाँसेका छन् । तर, अनुगमन नभएको उपभोक्ताको गुनासो छ । अधिकांश कम्पनीले त्यही ट्यांकरको पानी सिधै जारमा भरेर बेचेको पाइएको र कारबाही गरेपछि अहिले त्यस्ता घटनामा कमी आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको दाबी छ ।
जस्तो आयो तेस्तै बेच्ने पसले
खुद्रा पसलेले समेत कम्पनीबाट आएको पानीको सामान्य गुणस्तरसमेत नहेरी बेच्ने गरेका छन् । जार बाहिरैबाट भित्र लेउ घुमिरहेको आफ्नै आँखाले देख्दादेख्दै पनि उनीहरु कम्पनीलाई ‘कम्प्लेन’ गर्दैनन् । बिग्रिएका, भत्किएका, कुच्चिएका जार पनि राखिदिन्छन् र चुपचाप ग्राहकलाई बेच्ने गर्छन् । ‘एउटाले उत्पादन गर्छ, अरुले नै लगेर पिउँछ, हामीले त बेच्नेमात्र हो, जस्तो आयो तेस्तै बेच्छौं, किन कम्प्लेन गर्नु,’ पसलेको जवाफ यस्तो आउँछ ।
खुद्रा पसलेका यस्तै गैरजिम्मेवार तर्क र शैलीले पनि उत्पादकलाई सहज भइरहेको छ । ‘फोहोर जार बेच्दिन भनेर खुद्रा पसलेले फिर्ता पठाइदिने हो भने अर्कोपटकदेखि उत्पादकले किन पठाउँथ्यो,’ चाबहिलकी सविना तिम्सिनाले भनिन्, ‘पसलेले नै नराम्रा सामान नबेच्ने भएपछि उत्पादक सचेत हुनुको विकल्पै रहँदैन ।’
अधिकारवादीको काम : ‘भुक्ने मात्र’
खानेपानीलाई व्यवस्थित बनाउन ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निदेशिका २०७४’ प्रयोगमा छ । उपभोक्ताको स्वास्थ्य तथा सुविधा कायम राख्न, स्वच्छ र गुणस्तरीय प्रशोधित पिउने पानीको उत्पादन र बिक्री–वितरणलाई व्यवस्थित गर्न ल्याइको सो निर्देशिका कार्यान्वयनमा छैन । सरकारले कम्पनी अनुगमन गरे पनि कारबाही नहुने उपभोक्ता अधिकारवादी ज्योती बानियाँ बताउँछन् । ‘यस्ता अखाद्य पदार्थ बिक्री–वितरण भएकोप्रति हामीले गुण नियन्त्रण विभागको पटक–पटक ध्यानाकर्षण गराएका छौं, सँगै अनुगमनमा पनि गएका छौ, अनुगमनमा लापर्बाही र फोहोर पनि भेटिन्छ तर कारबाही हुँदैन,’ उनले भने । लापर्बाही गर्ने कम्पनीप्रति सम्बन्धित निकाय मौन रहँदा ‘आफूहरुको काम भुक्नेमात्र भएको’ बानियाँले बताए ।
विभाग भन्छ : अनुगमन जारी छ
नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने बजारमा बेच्न राखिएका विभिन्न कम्पनीका पानीका जार परीक्षण तथा अनुगमन गरिरहेको जनाएको छ । परीक्षण गरिएका जारको प्रतिवेदन प्राप्त भएको र विश्लेषण भइरहेको विभागका महानिर्देशक सञ्जीव कर्णले बताए । ‘हामीले केही उद्योगको पानी परीक्षण गरेका छौं, रिपोर्ट अध्यनन गरिरहेका छौं, नतिजा आएपछि, त्यहीअनुसार अघि बढ्छौं,’ न्युज कारोबारसँग उनले भने ।
प्रकाशित समय १७:११ बजे

















