गृहपृष्ठ दसैं नसक्किँदै किसानलाई धान भित्र्याउने चटारो

दसैं नसक्किँदै किसानलाई धान भित्र्याउने चटारो

'अाकासमा बादल देखिने वित्तिकै असिना पर्ला भनेर चिन्ता लाग्छ'

फाइल तस्बिर

दसैंको चटारो नसक्किँदै कृषकहरुलाई अर्काे चटारो आइपरेको छ, धान भित्र्याउने । गत असारमा रोपेको धान पहेँलपुर भएर पाकेपछि कृषकहरु दसैंको रमझममा पनि खेत खेतमै छन् ।

‘दसैं त खेतमै मानिने भयो,’ भक्तपुरका एक किसानले भने, ‘धान पाकिसक्यो असिना आउला कि भन्ने डरले सताएको छ ।’ त्यसो त आकासमा बादल देख्नेवित्तिकै किसानहरुलाई चिन्ताले छोप्छ, कतै असिना पर्याे भने ? असिनाले वर्षभरिका लागि खान पुग्ने धान छिनभरमै सखाप पारिदिन केही बेर पनि लगाउँदैन ।

‘दसैं मान्ने र टीका थाप्न जाने चटारो सकिएको छैन, यता खेतमा धान पाकिसक्यो,’ खेतमा काम गरिरहेका अर्का किसानले भने, ‘विहान बेलुकी टीका लगाएर दिउँसो खेतमा काम गर्दै आएको छु ।’

दसैं नसक्किँदै धान पाकेपछि किसानहरु दसैंको टीका थाप्न आफन्तकहाँ होइन धान काट्न खेतमा पुग्ने गरेका छन् । उनिहरुको एउटै भनाई छ, ‘के गर्नु वर्षभरी खाने अन्न भित्र्याउनै पर्याे ।’

‘टीका थाप्न आफन्तकहाँ जान समय मिलाउनु पर्ने भएको छ । दिउँसो खेतको काम गर्नैपर्याे, विहान सितमा काम गर्न मिल्दैन उक्त समय टीकाटालामा गइन्छ,’ ति किसानले भने ।

दसैं मान्नभन्दा पनि धान काट्न कृषक व्यस्त भएका हुन् । अधिकांश मान्छे टीका थाप्न आफन्तकहाँ गए पनि भक्तपुरका कृषक भने बिहान, बेलुका टीका थाप्न गए पनि दिउँसोको समयमा भने धान काट्न खेत खेतमा पुग्ने गरेका छन् ।

यस वर्ष समयमै वर्षा भएकाले धानको उत्पादनसमेत वृद्धि हुने भए पनि असिना, पानी पर्ने डरले कृषकले दसैंको पर्वाह नगरी धान भित्र्याउने चटारोमा लागेका हुन् ।

चाँगुनारायण नगरपालिका–१० चित्तपोलका कृषक रामकृष्ण खत्रीले आकाशमा बादल देखिएपछि असिना पानी परेर धान झार्ला भन्ने डरले दसैंको पर्वाह नगरी धान भित्र्याउन लागेको बताए । वर्ष दिनभरि खाने धान पाकिसकेकाले खेतमा छोडेर दसैं मान्ने भन्दै समय खेर फाल्न नसकिएकाले खेतमा धान काट्न आएको बताउँदै उनले भ्याएसम्म साँझ बिहान आफन्तको टीका थाप्न जाने बताए ।

मौसम बिग्रेर असिना पानी आएर धान झार्ला भन्ने पीर छ भक्तपुरका सबै कृषकलाई । त्यसैले पाकेको धान काट्ने चटारो छ भने धान काट्नका लागि ज्यामीसमेत नपाउँदा थप समस्यामा परेका छन् कृषक ।

अहिले भक्तपुर नगरक्षेत्र, चाँगुनारायण नगरपालिकाको चित्तपोल, ताथली, सुडाल, बागेश्वरी, छालिङ, चाँगु, दुवाकोट, सूर्य्विनायक नगरपालिकाको गुण्डु, सिपाडोल, नङ्खेल, बालकोट, सिरुटार, दधिकोट र थिमी नगरपालिका क्षेत्रमा धान काट्न चटारो परेको छ ।

यस वर्ष असार र साउन महीनाभित्र जिल्लाको सबै क्षेत्रमा धान रोपाइँ सकिएकाले धान पनि चाँडै पाकेको र उत्पादन पनि राम्रो भएको कृषकले बताएका छन् । ‘यस वर्ष धान राम्रो उत्पादन भएको छ,’ धान असिनाले झार्ला भन्ने डर भएकाले धान काट्न चटारो परेको चागुनारायण–९ ताथलीका राजाराम श्रेष्ठले बताए ।

प्रकाशित समय ०८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु