गृहपृष्ठ जनकपुरको गोपाल धर्मशाला भू–माफियाको कब्जामा
जनकपुरको गोपाल धर्मशाला भू–माफियाको कब्जामा
जनकपुरको रामचोकमा रहेको ३२ कोठे सुविधासम्पन्न धर्मशाला भू–माफियाको कब्जामा परेको छ । तीन बिघा क्षेत्रफलमा पर्खालसहित निर्माण गरिएको गोपाल धर्मशाला कमजोर व्यवस्थापनको फाइदा उठाउँदै कब्जा गरिएको हो ।
धर्मशालामा भू–माफियाले चारैतिरबाट कब्जा गरी आफूखुसी सटर निर्माण गरी वर्षौंदेखि अवैध रुपमा भोगचलन गर्दै आएका छन् । रामचोकदेखि दक्षिण सीताराम गौशाला र पूर्वहनुमान टाकिजसम्म फैलिएको धर्मशालाको जग्गा राजनीतिक संरक्षणमा सञ्चालित युवा क्लबले कब्जा गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका एकीकृत सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन सडक विस्तार र ढल निकासका लागि धर्मशालाको उत्तर र पश्चिमतर्फको पर्खालसहितको टहरा भत्काउन थालिएपछि सो जग्गामा घरटहरा बनाएकाहरु खाली गर्नुका सट्टा पछाडितिर पुनः घर निर्माण गरिरहेका छन् । धर्मशालाको पर्खाल तथा पुराना व्यावसायिक सटर भएका ठाउँमा केही व्यक्तिले अवैध रुपमा मनपरी नयाँ व्यावसायिक सटर निर्माण गर्न थालेपछि धार्मिक पर्यटकीय स्थलको धर्मशालाको अस्तित्व संकटमा परेको छ ।
१९८३ सालमा भारत कोलकाताका रायबहादुर बलदेव दास रामेश्वर नाथानीले बनाएका हुन् । धर्मशाला व्यवस्थापनका लागि दाता परिवारका योगेन्द्रकुमार नाथानीको अध्यक्षतामा जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरी उपाध्यक्ष, संघका वर्तमान वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साह सदस्य र कौशलेन्द्रकुमार झासहितको सात सदस्यीय कार्यकारिणी समिति गठन गरिएको छ । तर, व्यवस्थापन समितिले सरकारी जग्गा संरक्षणमा कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।
दाता परिवारले नियुक्त गरेका मुख्य व्यवस्थापक राजकुमार झा केही व्यक्तिको दादागिरीका कारण निरीह भएर बस्नुपरेको बताउँछन् । धर्मशालाको जग्गामा बनाइएका सटरले मासिक पाँच सयदेखि तीन हजार रुपैयाँ तिर्ने गरेको उनले जानकारी दिए । जबकि, निजी घरमा सटर करिब १५ हजार रुपैयाँले भाडामा लाग्छन् ।
धर्मशालामा प्रत्येक वर्ष दशैतिहारका बेला जनकपुर उद्योग वाणिज्य संघले ‘सस्तो बजार’ सञ्चालन गर्छ । सस्तो बजारबाट आयोजकले लाखौं कमाउने गरेको छ । तर, हालसम्म २०७५ साल असार ३१ गते धर्मशाला व्यवस्थापनले पहिलोपटक १२ हजार ६ सय रुपैयाँ पाएको छ ।
धर्मशालामा रात बिताउने भक्तजनले कोठामा बसेबापत एक सय रुपैयाँ र बाहिर सुत्दा २० रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । हाल धर्मशालाकै आम्दानीले व्यवस्थापकसहित पाँचजनालाई तबल खुवाइएको छ । व्यवस्थापक राजकुमार झाका अनुसार गोपाल धर्मशालाको आम्दानी मासिक एक लाख छ भने खर्च ५० हजार रुपैयाँ छ ।
धर्मशालाको प्रांगणमा मनपरी ढंगले खुद्रा कपडाका पसल सञ्चालन हुन्छन् । धर्मशाला प्रांगणलाई केही निजी विद्यालयका सञ्चालक र व्यवसायीले आफ्ना सवारी साधन पार्किङस्थलसमेत बनाएका छन् ।

भारततिरै जान्छ आम्दानी
धर्मशालाको आम्दानी कति हुन्छ भन्नेबारे कसैलाई थाहा छैन । किनकि, धर्मशालाको आम्दानी सिधै भारत पुग्ने गर्छ । जनकपुर उपमहानगरपालिका–४ का वडाध्यक्ष सुदर्शन सिंहले धर्मशालाको आम्दानी भारत जाने गरेको बताए । ‘वर्षौंदेखि भारत लगिँदै आएको छ,’ उनले भने, ‘यसलाई ट्रष्टमा लैजानेगरी छलफल अघि बढेको छ ।’
धर्मशालाको आम्दानीबारे व्यवस्थापन समितिका सदस्य नै बेखबर छन् । धर्मशालाकै कार्यकारिणी समितिमा सदस्य रहेका जनकपुर उद्योग वाणिज्य संघका जितेन्द्रप्रसाद साहले आफूलाई धर्मशालाको कार्यकारिणी समिति सदस्य भएको भन्न लाज लाग्ने गरेको बताउँछन् । ‘मलाई सदस्यको पत्र त दिइएको छ, तर त्यसबाहेक केही थाहा छैन,’ उनले भने ।
धर्मशाला भद्रगोल छ, जीर्ण छ तर मर्मतसम्भारको नाममा बर्सेनि लार्खौं खर्च गर्ने गरिएको व्यवस्थापन समिति बताउँछ । व्यवस्थापक झाका अनुसार गत आर्थिक वर्षमा रंगरोगनमै करिब २ लाख रुपैयाँ खर्च भएको बताए । तर, बाहिरबाट हेर्दा रंगरोगन भएको देखिँदैन ।

भारतीयकै रोजाइको धर्मशाला
प्रदेश २ को अस्थायी मुकाम जनकपुरधामलाई मन्दिरैमन्दिर र सरोवरको सहर भनेर चिनिन्छ । जनकपुरधाममा हिन्दू धर्मालम्बीहरुको आस्थाका केन्द्र माता जानकीको मन्दिर, राम मन्दिर, एक रातमै अत्यधिक बोकावली दिइने धार्मिक स्थल राजदेवी मन्दिर, दशरथ मन्दिर, लक्ष्मण मन्दिर, दुल्हादुलही मन्दिरसहित सयौं मन्दिर छन् ।
यसकारण पनि जनकपुरधाम भारतीयको मुख्य रोजाइमा पर्छ । भारतबाट मात्र बर्सेनि हजारौं भक्तजन जनकपुर मन्दिर दर्शनार्थ आउने गर्छन् । जनकपुरको केन्द्रभाग रामचोकमा रहेकाले अधिकांश भक्तजनको रोजाइमा गोपाल धर्मशाला पर्ने गर्छ ।
प्रकाशित समय १६:२७ बजे

















