गृहपृष्ठ नेपालमा उपचार गर्न मान्दैनन् भीआईपी, स्वदेशमै रहेको उपचार कक्ष प्रयोगविहीन

नेपालमा उपचार गर्न मान्दैनन् भीआईपी, स्वदेशमै रहेको उपचार कक्ष प्रयोगविहीन

राजपरिवार जाने उपचार कक्षमा नेता जाँदैनन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुरमा छन् । साउन २३ गते देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन् । उनी पेटको उपचार गर्न सिंगापुर गएका बताइएको छ । जुन उपचार सिंगापुरको माउन्ट एलिजावेथ अस्पतालमा हुनेछ । देउवाको उपचार नेपालकै अस्पतालमा सम्भव छ ।

त्यसअघि गएको असार ४ गते श्रीमती सीताको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सिंगापुर पुगेका थिए । सीता सुगर, प्रेसरलगायतका समस्याबाट पीडित छन् । जुन उपचार नेपालका जुनसुकै अस्पतालमा सम्भव छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाकै अर्का अध्यक्ष केपी शर्मा ओली निर्वाचन परिणाम आएपछि उपचारका लागि थाइल्याण्ड गए । केही वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओली पुष २६ गते थाइल्याण्ड गएका थिए । अहिले नेपालमै मृगौला प्रत्यारोपणको गरिन्छ । ओलीको फलोअप उपचार त झन् नेपालमा नहुने कुरै भएन । तर पनि उनी हरेक ६–६ महिनामा उपचारका लागि थाइल्याण्ड जाने गरेका छन् ।

तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषद्ले अति विशिष्ट व्यक्तिको उपचार गर्नुपर्दा स्वदेशमै गर्ने निर्णय गरेको थियो । सरकारी स्वामित्वको वीर अस्पतालको अति विशिष्ट कक्षमा उपचार गर्ने निर्णय गराएका कोइराला आफैँ प्रधानमन्त्री हुँदा राज्य कोषको करोडौँ रुपैयाँ खर्च गरी उपचारको लागि दुई पटक अमेरिका गएका थिए ।

यी त केही प्रतिनिधि घटना मात्रै हुन् । दर्जनौं विशिष्ट व्यक्ति उपचारका लागि विदेश जाने गरेका छन् । नेपालकै विभिन्न अस्पतालमा उपचार हुने भए पनि विशिष्ट व्यक्तिहरु उपचारकै लागि भनेर विदेश हानिने क्रम घट्नुको साटो बढ्दो छ । यसको कुनै तथ्याङ्क नभए पनि राज्य कोषबाट खर्च लिएर विदेशमा उपचार गराएका लिस्टले गृह मन्त्रालयको खातापाता भरिएको देखिन्छ ।

खर्च पाउने भएपछि नेता र उच्च पदस्थ व्यक्तिले घरबाट एक रुपैयाँ पनि निकाल्दैनन् । तर, उपचार भने विदेशमै गर्छन, त्यो पनि स्वदेशकै सरकारी अस्पतालमा उपलब्ध हुने सेवाका लागि । जसको चर्काे आलोचना हुँदै आए पनि उच्चपदस्थ व्यक्तिहरूले व्यवहार सुधारेका छैनन् । नेपालकै पुरानो सरकारी अस्पताल वीर अस्पतालले अति विशिष्ट व्यक्ति (भीभीआईपी) तथा भीआईपीको उपचारका लागि करौडौं रुपैयाँ खर्च गरेर विशेष उपचार कक्ष बनाएको छ । तर, हालसम्म कुनै भीभीआईपीले त्यहाँ उपचार गराएका छैनन् । यो कक्ष अहिले प्रयोगविहीन छ ।

गरिब जनतालाई कुनै गम्भीर प्रकारको रोग लाग्दा उपचार खर्च जुटाउन घरबार बेच्नुपर्छ । त्यतिले नपुगे बाटोमा मागेर बस्नुपर्छ । तर, भीआईपीका लागि निशुल्क छुट्टै उपचार कक्ष भए पनि उनहरुले सेवा लिएको पाइँदैन ।

कसका लागि भीभीआईपी कक्ष ?
मुलुकमा लोकतन्त्र आएपछि सो कक्षले विरामी पाएको छैन । ०६२/६३ को जन–आन्दोलन अघिसम्म राजपरिवारका सदस्यको उपचार वीर अस्पतालको भीभीआईपी कक्षमा हुन्थ्यो । त्यसपछि सो कक्षले विरामी पाएको छैन । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश गरी पाँच जना अति विशिष्ट (भीभीआईपी) व्यक्तिमा पर्छन् । सो पदका व्यक्ति पदबाट बाहिरिएपछि भीआईपीमा गनिन्छन् । तर, पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मात्र एक दुई पटक वीर अस्पतालको विशिष्ट कक्षको उपचार सेवा लिएका छन् ।

भीभीआईपी कक्षमा कस्तो छ सेवा ?
भीभीआईपी कक्षमा बिरामी सुत्ने कोठादेखि सुरक्षाकर्मीसमेत सबैलाई फरक–फरक कोठा छन् । अट्याच बाथरुम, एसी, प्रत्येक कोठामा सोफा, बिरामी कुरुवाका लागि छुट्टै कोठा छ । आइसीयू स्तरको बिरामी बेडमा विशेष बेडसाइड मनिटर पनि छ । स्वास्थ्यकर्मीको टिमका लागि पनि छुट्टै कोठा छ । अट्याच बाथरुमसहितको बिरामी बेड रुम र कुरुवा बस्ने रुम छन् । औषधिलगायत दैनिक प्रयोगका सामान राख्ने दराज छन् । खाना पकाउनका लागि भान्साकोठा पनि छ । भान्साकोठामा सबै सामाग्री छन् । जहाँ बिरामीका लागि मात्रै सुविधा नभइ कुरुवा तथा भेट्न आउने आगन्तुकका लागि पनि विशेष सुविधा छ ।


भीआईपी कक्ष पनि प्रयोग भएन
अस्पतालको अति विशिष्ट कक्षसँगै विशिष्ट व्यक्तिको लागि भीआईपी कक्ष पनि छ । त्यो कक्षको पनि उस्तै हालत छ । पूर्वप्रधानमन्त्री, मन्त्री, पूर्वमन्त्री तथा सांसदले त्यहाँ उपचार गराउन पाउँछन् । संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलाई पनि सोही भीआईपी कक्षमा उपचारको व्यवस्था छ । तर, सो कक्षमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र केही सांसदबाहेक अरुले उपचार गराएको रेर्कड नभएको वीर अस्पतालले जनाएको छ ।

किन जाँदैनन् भीआईपी कक्षमा बिरामी ?
विदेशका ठूला अस्पतालमा हुनेजस्तै अत्याधुनिक उपकरण तथा दक्ष चिकित्सक भए पनि भीभीआईपी तथा भीआईपी उपचार गराउन नआएको अस्पतालका निर्देशकको गुनासो छ । निर्देशक भपेन्द्र बस्नेत भन्छन्, ‘हामीकहाँ विदेशमै पाइने सुविधा छ, तर विदेश भनेपछि मनस्थिति नै अर्कै हुने भएकाले होला, यहाँ उपचार गराउन आउँदैनन् ।’ गृहमन्त्रालयले हरेक वर्ष उपचार खर्चको नाउँमा करोडौँ रुपैयाँ दलका नेता तथा कार्यकर्तालाई बाँड्ने गरेको छ । संसद सचिवालयलेसमेत सांसदहरूलाई उपचार खर्च उपलब्ध गराउँछ ।

राज्यकोषबाट पाइएको सो खर्चले उनीहरु बिदेश जाने  हुँदा स्वदेशकै सुविधा सम्पन्न अस्पतालमा नगएका जानकारहरू बताउँछन् । ‘गरिब जनताले उपचार खर्च नभएर अकालमै मर्नुपरेको छ, नेताहरूलाई जनताले तिरेको कर उपचार खर्चको नाउमा बाँडिने भएकाले विदेश जान्छन्,’ विश्लेषक सुरेन्द्र केसी भन्छन्, ‘स्वदेशमै उपचार गराउनको लागि उपचार खर्च दिन छाड्नुपर्छ ।’

स्वदेशमै पाइने उपचार छाडेर विदेश जाने क्रम बढेपछि त्यसलाई रोक्न पहल गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बताउँछन् । उपचार खर्च नदिइ वीर अस्पतालको भीभीआईपी तथा भीआइपी कक्षमै अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचार गराउने व्यवस्था हुनुपर्ने उनको जोड छ । उपचार खर्चको बहानामा नेतालाई पैसा दिन नहुने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने बताउँदै मन्त्री पण्डितले भने, ‘पैसा बाँड्ने हैन, उपचार स्वदेशमै निःशुल्क गराउने मात्र सुविधा दिनुपर्छ ।’

प्रकाशित समय १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु