गृहपृष्ठ पुष्पलाल पार्क : मन्त्रीले रोज्ने, खानेपानीले भत्काउने !

पुष्पलाल पार्क : मन्त्रीले रोज्ने, खानेपानीले भत्काउने !

puspalal park-newskarobar

बुटवल बजारको करिब मध्यभागमा छ– पुष्पलाल पार्क । बुटवलको अस्पताल लाइनमा रहेको यो पार्क झुल्के घाम र गोधुली साँझमा टहलिनेमात्र होइन, मध्याह्नको प्रचण्ड गर्मीमा शीतलता छर्ने छहारी पनि बनेको छ ।

तर, केही समयअघि सडक विस्तारका क्रममा आफ्नो आकार गुमाएको पुष्पलाल पार्क अहिले आफ्नो अस्तित्व बचाउनुपर्ने स्थितिमा छ । खानेपानीको पाइप विस्तारका लागि भत्काइएको पार्कको मर्मतसम्भारमा महिनौं बित्दासमेत कसैले चासो देखिएको छैन ।

शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्री बन्दा पहिलोपटक यही पुष्पलाल पार्कमा रहेको शालिकमा माल्यापर्ण गरेर आफ्नो कार्यभार सम्हालेका थिए । रुपन्देहीबाट निर्वाचित भएका पूर्व अर्थमन्त्री विष्णु पौडेलदेखि घनश्याम भुसालसम्मले सोही पार्कमा रहेको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए । तर, अहिले शालिकले सबैलाई गिज्याइरहेको छ ।

झुम्सा–बुटवल खानेपानी आयोजनाअन्तर्गत सडक विस्तारसँगै खानेपानीको पाइप सडकको बीच भागबाट बिच्छ्याउँदा पार्क भत्काइएको हो । पार्कमा केही समयअघि बुटवल उपमहानगरपालिकाले रङरोगनका साथै विभिन्न क्लबको सहयोगमा फोहोर विसर्जनका लागि डस्टबिनहरुसमेत राखिएको थियो । केही समय पार्क सफासुग्घर भए पनि अहिले कुरुप बनेको छ । पार्क प्रवेशका लागि बनाइएको दोस्रो द्वार भाँचिएको छ भने छाडाचौपाय पनि सजिलै पार्कभित्र प्रवेश गर्ने गरेका छन् ।

बुटवल उपहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी खानेपानी संस्थान र सडक विस्तार परियोजनाले काम गर्दै गरेकाले भत्किएको पार्क व्यवस्थापनमा कठिनाइ भएको बताउँछन् । पार्क मर्मतसम्भार गर्नका लागि खानेपानीको काम सकिनुपर्ने उनले बताए । ‘नगरपालिकाले पार्क मर्मतलाई विशेष प्राथमिकता दिएको छ,’ उनले भने, ‘खानेपानीका काम सकिनेबित्तिकै पार्कलाई पहिलाको भन्दा आकर्षक बनाउनेछौं ।’

प्रकाशित समय १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु