गृहपृष्ठ मन्त्रिपरिषद् निर्णय : हिमाल आरोहण अनुमतिदेखि श्रम स्वीकृति खुलाउनेसम्म
मन्त्रिपरिषद् निर्णय : हिमाल आरोहण अनुमतिदेखि श्रम स्वीकृति खुलाउनेसम्म
अन्तरजिल्ला र लामो दूरीका यातायात असोज १ देखि
सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड- १९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ ।आइतबारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई महाव्याधी नियन्त्रणमा समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
नेपालमा अध्ययन गर्ने र परीक्षामा सामेल हुनुपर्ने विदेशी विद्यार्थीलाई कोरोना जिवाणुबाट संक्रमण नभएको ७२ घण्टाभित्रको प्रमाणपत्र र सम्बन्धित शिक्षण संस्थामा भर्ना भएको प्रमाणका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्ने शर्तमा नेपाल आउन अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
सरकारले नेपाल मेडिकल काउन्सिललाई जनस्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्ने शर्तमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ भने त्यसका निम्ति आवागमनलगायत सुरक्षाको व्यवस्था स्थानीय प्रशासनले मिलाउने मन्त्री खतिवडाले बताए ।
अन्तरजिल्ला र लामो दूरीका यातायात असोज १ देखि
सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चलनमा ल्याउने निर्णय गरेको छ । यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र लामो दूरीका यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको थियो । अझै पनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको मन्त्री खतिवडाले बताए । उनका अनुसार आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै मात्र सञ्चालनमा आउने छ ।
दैनिक ८०० नेपालीको उद्धार
यसअघि विदेशबाट दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने निर्णय गरेको सरकारले अब दैनिक ८०० नेपालीको उद्धार गर्ने भएको छ । विदेशमा रहेका नेपालीको उद्धार नियमित र चार्टर फ्लाइटमार्फत पर्यटन मन्त्रालयले आवश्यकताअनुसार गर्नेछ ।
मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको हो ।
श्रम स्वीकृति खुलाउने निर्णय
सरकारले सम्झौता गरिएका मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । सरकारका मन्त्री खतिवडाले रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा श्रम स्वीकृति खुला गर्ने निर्णय भएको जानकारी दिए । ‘श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा श्रम गन्तव्यको मागको आधारमा श्रम स्वीकृति खुला गर्ने गर्ने निर्णय भएको छ’, उनले भने ।
हिमाल आरोहण अनुमति
विश्वभर देखिएको कोभिड- १९ संकटका कारण रोकिएको नेपालका हिमाल आरोहण खुलाउने निर्णय सरकारले गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले बहराइनका राजकुमारसहित १५ जना बहराइनका नागरिक र तीनजना बेलायतका नागरिकलाई हिमाल आरोहणका लागि चार्टर्ड उडानबाट आउन अनुमति दिने निर्णय गरेको बताए । उनीहरु लोबुचे र मनास्लु हिमाल आरोहण गर्न चार्टर्ड फ्लाइटबाट नेपाल आउँदैछन् ।
प्रकाशित समय १९:४२ बजे

















