गृहपृष्ठ हरेक दिन सात पटक घाम झुल्किने नेप्का गाउँ

हरेक दिन सात पटक घाम झुल्किने नेप्का गाउँ

उच्च हिमश्रंखलाहरु ‘हिमसेना’का रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित र निरन्तर  पहरा गरिरहेका छन् । तिनीहरूमा उँच-निचको विभेद छैन । घामपानीको लुकामारी खेलेका छन् । तर यो असन्तोषी मान्ठले त सकेको सबै कुराको दोहोन गरेर वितृष्णा, घृणा र विकृति मात्र दिन जानेको छ । हो, नेप्काले पनि यहाँका मान्ठबाट त्यही पाएको छ । तापनि शुद्ध हावा, स्वच्छ पानी, अमृत फल, सुगन्धित फूल र अन्नबालीहरू दिएको छ । यही हो यसको परिचय ।

हिमालको कापमा रहेको सानो उच्चसमस्थली नै नेप्का गाउँको भू-अस्तित्व हो । यहाँ जाने नौला मान्छेलाई कुनै अलौकिक सुन्दर प्राकृतिक गुफामा गएको अनुभव हुन्छ । यसैले अरस्तुले ‘प्रकृति नै कलाको अनुकरण हो’ भने झैँ लाग्छ । भौगोलिक रुपमा चारैतिरबाट डाँडाकाँडाहरूले घेरिएको छ नेप्का गाउँ ।

तामाङ बस्तीले भरिएको नेप्काको आफ्नै जातीय इतिहास छ । त्यहाँका जीनापाखाका अनुसार नेप्केलहरूको आखिरको जात ठकुरी हो । ठकुरी बाजे र भोटेनी बजैबाट जन्मिएका रहेछन् नेप्केलहरूको बाजे । बजैको जात चलाएकाले हाल ठकुरीको सट्टा तामाङ भएका रहेछन् । शिकार खेल्नु नेप्केलहरूको पेशा नै भइसकेको छ । समय सापेक्ष हरेक कुराको विकास हुँदो रहेछ । पहिले पहिले हिउँद हिउँ परेको समयमा मात्रा शिकार खेल्ने नेप्केलहरू आजभोलि फलामे तारको पासो थापी बाह्रै महिना शिकार खेल्दा रहेछन् ।

यसरी सधैभरि शिकार खेल्ने हो भने अवश्य वनका मृग सकिने छन् र भावी पुस्ताले मृग कस्तो हुन्छ भन्ने कुरा नाम निसान पनि पाउने छैनन् । यसैले समयमै यो कुरालाई आवश्यक रोक लगाई वन्यजन्तुको संरक्षण गर्नुपर्ने देखिन्छ । हुम्लामा करीब दुई दशक अघिसम्म पनि दोलाजी प्रथा कायम रहेको पाइन्छ । यसैको एक ज्वलन्त उहाहरण हो नेप्का गाउँ । यहाँका तामाङहरूले आफूलाई चन ठकुरीको सन्तान हौ भनेर गर्व गर्छन् ।

यो शान्त, सुन्दर र पवित्र स्थानमा देउरुपाको कलुषित भाव झल्केको छ । यसलाई पखाल्नुपर्छ ताकि अरु देउरुपाहरू नजन्मिऊन ? तर यो कुरा त नेप्केलहरूको लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’जस्तै भएको छ । यहाँ सबै प्राकृतिक छन् मान्छे तर न त छ शिक्षा छ । न त छ स्वास्थ्य र सञ्चारको सुविधा नै । नेप्कामा कुनै सरकारी निकायको उपस्थिति र सक्रियता समेत छैन ? यसैले यसको आवाज सिंहदरबारसम्म पुग्दैन । अब नेप्का कहिलेसम्म नेप्का नै रहिरहने होला ? अबको दिनहरूमा यसको स्वरूप कस्तो हुने हो ? उही आदिम नेप्का ? उही प्राकृत नेप्का ? उही जैविक नेप्का ?

असोजदेखि चैत्र महिनासम्म गाउँलाई वरिपरिबाट घेरेर बसेका विभिन्न हिमालहरुको काखमा लुकामारी गरेर प्रत्येक दिन सात पटकसम्म घाम उदाउने र अस्ताउने गर्छ भन्ने सुन्दा जोकोहीलाई अचम्म लाग्नसक्छ । तर सत्य हो, नेप्का त्यही घामको लुकामारीमै रमेको छ । त्यसैमा सन्तुष्ट बन्न बाध्य छ । हुम्लाको चंखेली गाउँपालिका- ५ मा अवस्थित यस गाउँमा स्वास्थ्य, शिक्षा र सञ्चार लगायतका विकास पूर्वाधार उदाउने कहिले ?

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु