गृहपृष्ठ विश्वकपमा हारजितको बाजी : दुई सय तिरे उन्मुक्ति, प्रहरी हैरान

विश्वकपमा हारजितको बाजी : दुई सय तिरे उन्मुक्ति, प्रहरी हैरान

sattebaji_news karobar

अहिले फुटबल महाकुम्भको रौनक विश्वभर छ । विश्वकपको मैझारो हुनैलाग्दा नेपालका शहरबजारमा फुटबलमा यसले जित्छ र यसले हार्छ भन्दै करोडौँ रुपैयाँ बराबर सट्टेबाजी लगाउने क्रम बढेको छ । सट्टेबाजीबाट कसैले राजधानीमा घर नै उपहार पाएका छन् भने कतिपय करोडपतिबाट रोडपति बनेका छन् ।

विश्वकप सुरु भएदेखि नै सट्टेबाजीमा हार्ने समूहको प्रहरी कार्यालयमा भिँड लाग्ने गरेको छ । रुसमा जारी प्रतियोगिता सेमिफाइनलसम्म आइपुग्दा यो प्रहरी कार्यालयमा घुइँचो अझै बढेको छ । महानगरीय प्रहरी परिसरमा अहिले यसरी सट्टेबाजीमा फसेको पैसा फर्काइदिनुपर्याे भन्दै उजुरी दिनेको संख्या बढ्दो छ ।

प्रहरीले यस्तै उजुरी र सट्टेबाजी खेलाइरहेको सुचनाका आधार दर्जनौँ ब्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका डियसपी मोहन थापाका अनुसार विश्वकप सुरु भए यता १६ जना पक्राउ परेका छन् ।

सट्टेबाजी कसुरमा नेपालमा कानुन नै छैन
सट्टेबाजी खेलाउने दोषीलाई कार्बाहीका लागि नेपालमा अहिलेसम्म कानुन नै बनेको छैन । कानुनसमेत नबनेकाले दोषीलाई कार्बाही गर्न अप्ठ्यारो पर्ने गरेको छ । अहिले यसरी सट्टेबाजी खेलाउनेलाई प्रहरीले जुवा ऐन समाएर कानुनी उपचार गरिरहेको छ । तर, जुवा ऐनमा कमजोर कानुनी व्यवस्था छ ।

लाखौँ कारोबार गरेर दर्जनौँ मानिसलाई एकैपटक ठग्ने दोषीलाई जम्मा दुई सय रुपैयाँ जरिवाना तोकिएको छ । ‘निक्कै मेहनत गरेर समाएर ल्याएको जुवाडेलाई जम्मा दुई सय रुपैयाँ जरिवाना तिराएर छोड्नु परेको छ ।’ डीएसपी थापाले न्युज कारोवारसँग भने ।

ठगीजन्य अपराध भएकाले कडा कार्बाहीका लागि प्रहरीले ठगी मुद्दामा कार्बाही चलाउन खोज्छ । तर, सट्टेबाजीलाई अदालतले ठगीको रुपमा हेर्दैन । अधिवक्ता विदुर लामिछाने भन्छन्, ‘सट्टेबाजी अपराध हो, झट्ट हेर्दा ठगीजस्तो देखिए पनि यसमा ठगी ऐन आकर्षित हुँदैन । यस्ता कार्यमा संलग्न दोषीलाई कार्बाही गर्न वर्तमान अवस्थामा जुवा ऐनको विकल्प छैन ।’

कानुन नै कमजोर भएकाले सट्टेबाजी अबैध खेल खेलाउने अपराधी सजिलै उम्कने गरेका छन् । प्रहरीले यसअघि भारतमा चलेको आइपिएल क्रिकेटको क्रममा पनि नेपालमा सट्टेबाजी खेल खेलाउने ६ जनालाई पक्राउ गरिएको थियो । उनीहरु जम्मा २ सय रुपैयाँ जरिवाना तिरेर रिहा भएका थिए ।

भदौ १ गतेदेखि जारी हुन लागेको नयाँ कानुनमा भने सट्टेबाजीसम्बन्धी पनि कानुन बनेको छ । उक्त ऐनमा सट्टेबाजी खेलाउनेलाई ५० हजार जरिवाना, एक बर्ष कैद वा दुवै कार्बाही हुने व्यवस्था छ ।

प्रकाशित समय १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु