गृहपृष्ठ औद्योगिक विकासका लागि उद्योगीमाथिको राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ

औद्योगिक विकासका लागि उद्योगीमाथिको राजनीतिक हस्तक्षेप बन्द हुनुपर्छ

shyamm-newskrobar

सन् १९८५ मा बिस्कुट उद्योगबाट सुरु भएको काबरा ग्रुपको औद्योगिक यात्रा सातवटा उद्योग र तीनवटा ट्रेडिङ फर्ममा विस्तार भइसकेको छ । गणपतलाल काबराको संरक्षकत्वमा छोरा र भतिजाहरूको व्यवस्थापनमा काबरा ग्रुप सञ्चालित छ । काबरा समूह ‘क्वालिटी’ ब्रान्डमार्फत उपभोक्तामाझ स्वाद र गुणस्तरका लागि परिचित छ । ३१ वर्षदेखि बिस्कुट, चकलेट तथा स्न्याक्सको बजारमा अग्रणी बनेको ग्रुपका १०७ थरी बिस्कुट, ८७ थरी चकलेट–वेफर्सका साथै स्न्याक्स स्टिक्स, चिज रिङ, चिजबल्स, पोटेटो क्रेकरलगायत बजारमा उपलब्ध छन् । यो समूहले अब केही दिनभित्रै तयारी चाउचाउ बजारमा ल्याउन लागेको छ । काबरा ग्रुपको अबको प्राथमिकता, औद्योगिक वातावरणलगायत विषयमा प्रदेश १ संयोजक किशोर विश्वकर्माले प्रबन्ध निर्देशक श्याम काबरासँग गरेको कुराकानी :

 

काबरा ग्रुपले लगानीका लागि प्राथमिकता दिएका क्षेत्र कुन–कुन हुन् ?
काबरा ग्रुपको लगानीको मुख्य क्षेत्र भनेको बिस्कुट, चकलेट, वेफर्स, स्न्याक्स र तयारी चाउचाउ हो । यसबाहेक प्याकेजिङ उद्योग र ट्रेडिङतर्फ तेस्रो मुलुकबाट आयातीत खाद्य तथा तेलीय पदार्थका साथै पेय पदार्थसमेतमा लगानी गर्दै आएका छौँ । उपभोक्ताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै भविष्यमा नयाँ–नयाँ उद्योग स्थापना गर्दै जाने लक्ष्य छ ।

काबरा ग्रुपबाट उत्पादित वस्तुको बजारीकरण कस्तो छ ?
स्वादमा एकरुपता र गुणस्तरमा सम्झौता नगर्ने काबरा ग्रुपअन्तर्गतका उद्योगबाट उत्पादित ‘क्वालिटी’ ब्रान्डका उत्पादनलाई ‘एक सहर एक डिलर’को अवधारणाअन्तर्गत बजारीकरण गर्दै आएका छौं । दशकौंदेखि समर्पित सेल्सका कर्मचारीको योगदान, डिलरलाई पर्ने बाधा अड्चन फुकाउनेदेखि लिएर थोक तथा खुद्रा व्यापारीसमेतको सुझाव–सल्लाहलाई प्राथमिकता दिने नीतिले आज ‘क्वालिटी’का उत्पादन बजारमा अगाडि छन् । साना–ठूला सहर, गाउँ, टोल र गल्ली–गल्लीका पसलमा सबैखाले उत्पादन उपलब्ध हुनेगरी स्थापित वितरण सञ्जालको व्यवस्थापनका कारण अन्य प्रतिस्पर्धीका ब्रान्डको तुलनामा ‘क्वालिटी’का उत्पादनको बजार हिस्सा बढी छ र बढ्दै गइरहेको छ । अझ आगामी दिनमा लन्च हुन गइरहेको तयारी चाउचाउले काबरा ग्रुपको बजार हिस्सा विस्तारमा अझ महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौँ ।

काबरा ग्रुपका सबैजसो उत्पादन लोकप्रिय छन्, कसरी सम्भव भयो ?
काबरा ग्रुपका सबैखाले उत्पादन बिस्कुट, चकलेट, वेफर्स तथा स्न्याक्सहरुलाई रुचाइदिनुहुने सम्पूर्ण उपभोक्त वर्गलाई यसको श्रेय दिनुपर्छ । मैले अघि नै भनेँ हाम्रो उत्पादनको स्वादमा एकरुपता छ । त्यसैगरी, तौल तथा गुणस्तरमा हामी कहिल्यै सम्झौता गर्दैनौँ भने उपभोक्ताको स्वास्थ्यलाई सदा सर्वोपरी ठान्दै आएका छौं । हाम्रो हरेक उत्पादनप्रति उपभोक्ता वर्गले देखाउनुभएको रुझान नै अग्रणी ब्रान्डको पहिचान भएको छ र यही नै लोकप्रियताको कारण हो ।

तपाईंहरुले नयाँ चाउचाउ उत्पादनको तयारी गर्नुभएको छ, कहिलेदेखि आउँछ बजारमा ?
काबरा ग्रुपको नयाँ उत्पादन तयारी चाउचाउ उत्पादनको अन्तिम चरणमा छ । अबका केही दिनमै ‘क्वालिटी’को तयारी चाउचाउ बजारमा पठाउँदै छौं । हाम्रा अन्य उत्पादन बिस्कुट, चकलेट, वेफर्स तथा स्न्याक्स जस्तै तयारी चाउचाउले पनि उपभोक्ताको मन जित्न सफल हुनेमा म विश्वस्त छु ।

अहिले अन्य चाउचाउले बजार कब्जा गरेका छन् । यस्तो अवस्थामा नयाँ चाउचाउमा केही फरकपन त दिनुपर्यो होला नि !
निःसन्देह, तयारी चाउचाउको बजार प्रतिस्पर्धात्मक छ र हुनुपर्छ भन्ने मेरो मान्यता हो । प्रतिस्पर्धाले अन्तत उपभोक्तालाई फाइदा पुग्छ । बजार कोही कसैको कब्जामा हुँदैन । नयाँ–नयाँ स्वाद, गुणस्तरीय र स्वास्थ्यवर्धक उत्पादनका लागि अहिले पनि बजार खालि छ । सोही खाली स्थान भर्न हामीले फरक स्वादमा, फरक ढंगले तयारी चाउचाउ लिएर बजार प्रवेश गर्न गइरहेका छौँ । ‘क्वालिटी’ भन्नु नै स्वाद र गुणस्तरमा एकरुपता भन्ने बुझेका उपभोक्ताले हाम्रो नयाँ उत्पादन तयारी चाउचाउलाई समेत अंगाल्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

shyamm2-newskaronar

वाइवाइलाई काउन्टर दिनेगरी नयाँ चाउचाउ ल्याउन लाग्नुभएको हो भन्ने सुनिन्छ नि !
कुनै उत्पादनलाई काउन्टर दिन कसैले पनि करोडौँ लगानी गर्दैन होला । तयारी चाउचाउको बजारमा विभिन्न कम्पनीले आ–आफ्ना उत्पादन पठाएका छन् । स्थान र क्षेत्र विशेषका आधारमा कहीँ कुनै ब्रान्ड, कहीँ अर्कै ब्रान्डले अन्यभन्दा बढी बजार ओगटेको हालको अवस्थामा पनि तौल, उचित मूल्य र गुणस्तरीय तयारी चाउचाउको डिमान्ड अहिले पनि छ । हो, दशकौंदेखि बजारमा रहेको वाइवाइले निश्चित स्थान र उपभोक्ता बनाइसकेको छ ।

नेपालमा तयारी चाउचाउको बजार निर्माण र उपभोक्तालाई तयारी चाउचाउ उपभोग गर्नतर्फ वाइवाइले निःसन्देह ठूलो भूमिका खेलेको छ । त्यसैले हामी वाइवाइलाई तयारी चाउचाउको क्षेत्रमा अग्रणी ब्रान्ड मान्छौँ । त्यसैगरी, वाइवाइपछि आएका अन्य ब्रान्ड पनि आ–आफ्ना क्षेत्रमा बजार निर्माणमा लागिपरेका छन् । हामीभन्दा अघि आएका तयारी चाउचाउलाई काउन्टर होइन, हातेमालो गर्दै बजार विस्तार गर्दै जाने हो । तयारी चाउचाउको प्रतिस्पर्धात्मक बजारमा प्रवेश गर्न गइरहेका हामीसँग उपभोक्ताको विश्वास छ । मेरो विचारमा जसको उत्पादन राम्रो छ, वितरण सञ्जाल राम्रो छ, मार्केटिङ टिम जसको सक्षम छ उही अघि बढ्ने हो र नेपालमा बजारका लागि हामीलाई समस्या छैन । हामी बिस्कुट, चकलेटमा अग्रणी स्थानमा छौँ र बिस्कुट, चकलेट तथा स्न्याक्सका उपभोक्ताले हाम्रो तयारी चाउचाउलाई पनि हातमा राख्नुहुनेछ । हो, तयारी चाउचाउको बजारमा दह्रो उपस्थिति जनाउन निश्चय नै केही समय लाग्ला तर सफल हुनेमा विश्वस्त छौँ ।

भारतीय बिस्कुटका कारण प्रतिस्पर्धामा समस्या आउने गरेको बताइन्छ नि !
भारतीय बिस्कुट लागतका हिसाबले आफैंमा सस्तो, त्यसमा पनि भन्सार छलेर सीमानजिकका सहर र ती सहरसँग जोडिएका क्षेत्रमा क्यारिङ गरिदिनाले भारतीय उत्पादनको दाँजोमा स्वदेशी बिस्कुट केही महँगो भइदिनाले बिक्री–वितरणमा प्रतिकूल प्रभाव परिरहेको छ । र पनि ‘क्वालिटी’ ब्रान्डका उत्पादनले स्वदेशी तथा बहुराष्ट्रिय विदेशी कम्पनी विशेषतः भारतीय बिस्कुटसँग प्रतिस्पर्धा गर्दै आएको छ । बजार हिस्सामा कायम आफ्नो पकडलाई अझ बढाउँदै लगेको छ । भन्सार छलीलाई निरुत्साहित गर्नेतर्फ सरकारले कडा कदम चालेर भारतीय बिस्कुटको अवैध प्रवेशमा कडाइ वा निषेध गर्नसके स्वदेशी उद्योग आजको अवस्थाभन्दा माथि उक्लने निश्चित छ ।

मोरङ–सुनसरी औद्योगिक करिडोरमा तपाईंहरुले भोग्नुपरेका समस्या के हुन् ?
बाटोघाटो, लोडसेडिङ तथा यातायात मुख्य समस्या हुन् । र, अर्को भनेको औद्योगिक क्षेत्रमा हुने राजनिति । मानौं, हाम्रो उद्योग दुहवीमा छ भने हामीले स्थानीयलाई नै रोजगारी दिने हो । तर, हामीलाई ४० जना कामदार चाहिएको अवस्थामा राजनीतिक दलका नेताले मेरो मान्छे राखिदिनुपर्छ भनेर चर्को दबाब दिनुहुन्छ । अब डेढ सयभन्दा बढी मान्छे राख्न भनेपछि त हामीलाई अफ्ठ्यारो हुन्छ नि ! योचाहिँ बन्द हुनुपर्छ, स्वदेशी उद्योग फस्टाउँछन् ।

काबरा गु्रपअन्तर्गतका ट्रेडिङ फर्मले नयाँ उत्पादन गर्ने कुरा पनि थियो, कहाँ पुग्यो ?
नयाँ–नयाँ उत्पादन नेपालमा ल्याउन अन्तर्राष्ट्रिय कम्पनीहरुसँग छलफल चलिरहेको छ ।

काबरा समूहका आगामी योजना के छन् ?
हाल तयारी चाउचाउ उत्पादन र बजारीकरणसम्बन्धी काममा व्यस्त छौँ । नयाँ उत्पादनलाई बजारमा पठाइसकेपछि नयाँ योजनालाई अघि बढाउनेतिर लाग्नेछौँ ।

हामीभन्दा अघि आएका तयारी चाउचाउलाई काउन्टर होइन, हातेमालो गर्दै बजार विस्तार गर्दै जाने हो । मेरो विचारमा जसको उत्पादन राम्रो छ, वितरण सञ्जाल राम्रो छ, मार्केटिङ टिम जसको सक्षम छ, उही अघि बढ्ने हो र बजारका लागि हामीलाई समस्या छैन ।

स्वदेशी उद्योग–व्यवसाय फस्टाउन राज्यले के गर्नुपर्छ ?
स्वदेशी उद्योग व्यवसाय फस्टाउन प्रथमतः स्थानीय उत्पादनलाई सबै तह र तप्काले खरिद गर्नुपर्ने व्यवस्था सरकारी नीतिमै सामेल गर्नुपर्छ । उद्योगलाई वर्गीकरण गरी कर शुल्क निर्धारण, स्थापनाको निश्चित वर्षसम्म सबैखाले करमा छुट, निर्यातमूलक उद्योगका लागि आयात हुने सबैखाले कच्चा पदार्थमा अन्यभन्दा राहत र निर्यातमा अनुदान दिने व्यवस्थालाई भेदभावरहित बनाएमा उद्योग स्थापनामा प्रोत्साहन मिल्छ । यसबाट देशमै रोजगारी सिर्जना हुनेछ भने युवा विदेश पलायन रोकिनेछ । यसैगरी, स्वदेशमा उत्पादन हुने वस्तु तथा सामग्रीे आयातमा रोक लगाउने हो भने स्वदेशी उद्योगले राहत पाउनेछन् ।

राजनीतिक अस्थिरताले मुलुकलाई लामो समय गाँज्यो, अहिले स्थिर सरकार बनेको छ, कस्तो अपेक्षा गर्नुहुन्छ ?
हामीले चाहेकै स्थिर सरकार हो । स्थिर सरकार भएपछि सम्पूर्ण समस्या आफैं समाधान भएर जान्छन् । लोडसेडिङलगायतका समस्यासमेत समाधान हुँदै जाने हाम्रो अपेक्षा छ । सरकारले स्वदेशी उद्योग तथा कलकारखानालाई प्रोत्साहन गर्ने विशेष नीति ल्याउनुपर्छ ।

अहिले लगानीको वातावरण बन्दै गएको हो ?
पक्कै पनि मुलुकमा यतिबेला वर्षौंपछि स्थिर सरकार निर्माण भएकाले लगानीको वातावरण बनेकै हो ।

प्रसंग बदलौं, व्यक्तिगत रुपमा तपाईं शिक्षाको विकास र आधुनिकतामा जोड दिने व्यक्ति हुनुहुन्छ । पछिल्ला काम वा योजना केही छन् शिक्षा विशेष ?
हेर्नुस्, आजका विद्यार्थी भविष्यका कर्णाधार हुन् । उनीहरुको बौद्धिक तथा शैक्षिक विकास आधुनिक तबरबाट गर्दै लानुपर्ने आजको आवश्यकता हो भने सबै तह र तप्काका आमजनताका छोराछोरीलाई शिक्षाको अवसरबाट वञ्चित हुन नदिने वातावरण निर्माण गर्नु÷गराउनु सरकारको जिम्मेवारी हो । हालको अवस्थामा निजी र सामुदायिक स्कुलबाट दिइने शिक्षाको गुणस्तरमा आकाश–जमिनको अन्तर छ, किन ? म बुझ्न सकिरहेको छैन । यो अन्तरलाई न्यूनीकरण गर्न सामुदायिक विद्यालयले पनि आधुनिकताका साथै गुणस्तरीय शिक्षामा जोड दिन जरुरी छ, अनि मात्रै समग्र शिक्षाको विकास हुन्छ । शिक्षाको क्षेत्रमा अलिकति भए पनि योगदान दिन सकिन्छ कि भनेर विद्यार्थी भाइबहिनीहरुको बौद्धिक विकासलाई ध्यानमा राखेर काबरा ग्रुपले ‘टेस्टी–टेस्टी क्विज कन्टेस्ट’ २१ वर्षदेखि र ‘टेस्टी–टेस्टी मिस एसईई’ चार वर्षदेखि सफलतापूर्वक आयोजना गर्दै आएको छ । यसपालि पनि गर्न गइरहेको छ । साथै शिक्षाक्षेत्रसँग सम्बन्धित संघ–संस्थाको सहयोगमा केही गरौं भन्ने सोचाइअन्तर्गत विभिन्न योजना तथा कार्यक्रमबारे छलफल गरिरहेका छौँ ।

प्रकाशित समय १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु