गृहपृष्ठ मध्यबानेश्वर सडकको दुर्गति, व्यवसायी भन्छन्– गरिखानै गाह्रो भो !
मध्यबानेश्वर सडकको दुर्गति, व्यवसायी भन्छन्– गरिखानै गाह्रो भो !
सञ्जय श्रेष्ठ
काठमाडौं– राजधानीकै व्यस्तमध्येको नयाँ बानेश्वर–पुरानो बानेश्वर सडक ६ महिनादेखि धुलाम्य छ । सडकमा खाल्डाखुल्डी छन् । पानी पर्दा हिलाम्ये हुने यो सडकमा यात्रा गर्नेले घाम चर्किनासाथ धुलोबाट पुरिनुपर्छ । तर, सडक कालोपत्रे गर्न न मेलम्ची आयोजना न त सडक विभागले नै चासो देखाएका छन् ।
मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी वितरणका लागि पाइप बिच्छ्याउन खनेका सडक समयमा कालोपत्रे नगरिँदा व्यापारी–व्यवसायीदेखि सर्वसाधारणसम्मले सास्ती खेप्नुपरेको हो । वर्षौंदेखि खानेपानीको आशमा बसेका राजधानीबासीले जस्तोसुकै धुलो र हिलो खपिरहेका छन् । तर, सरकारी निकायलाई मेलम्चीका नाम भजेर जनतालाई धुलो र हिलो खुवाउन कुनै हिच्किचाहट छैन ।

मेलम्ची खानेपानी आयोजनालाई खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले दशैंभित्र राजधानीमा पानी ल्याउन निर्देशन दिएकी छन् । दशैंभित्र राजधानीबासीले मेलम्चीको पानी पिउने अवसर पाउने सम्भावना एकदमै कम छ । यद्यपि, आयोजनाले कामलाई तीव्रता दिइरहेको छ । तर, त्यसको अर्थ, राजधानीबासीलाई धुलो र हिलोमा मुसिरहनुपर्छ भन्ने पक्कै होइन ।
सडक कालोपत्रेका लागि आन्दोलन नै गर्नुपर्ने ?
सर्वसाधारण प्रश्न गर्छन्– यति व्यस्त सडक ६–६ महिनासम्म किन कालोपत्रे गरिँदैन ? के राजधानीबासीले सहरका मध्य क्षेत्रका सडक कालोपत्रे गरिदेऊ भन्दै पटक–पटक आन्दोलन गर्नुपर्ने ? ‘पहिले पनि हामीले आन्दोलन गरेपछि पिच गरेका थिए,’ रोयल डिजिटल फोटो स्टुडियो मध्यबानेश्वरका सञ्चालक कृष्ण तिमल्सिनाले प्रश्न गरे, ‘के अब पनि कालोपत्रेका लागि आन्दोलन नै गर्नुपर्ने हो ?’ धुलोका कारण ६ महिनायता ५० प्रतिशत व्यापार घटेको उनले बताए । ‘स्वास्थ्यमा परिरहेको असरको हिसाब अझ कोसँग माग्ने ?’ तिमल्सिनाले आक्रोश व्यक्त गरे ।
धुलाम्य सडक सहन गर्नै नसकेर कतिपय व्यापारी पसल नै बेचेर हिँडिसकेका छन् । ‘सबै सामान एकैछिनमा धुलै–धुलो हुन्छ, दिनमा सातचोटी भन्दा बढी सफा गर्छु तैपनि उस्तै हुन्छ,’ एभरेस्ट स्टोरका सञ्चालक नानीबाबु महर्जनले दुखेसो पोखे, ‘अहिले व्यापारमा ६० प्रतिशत कमी आएको छ, भाडा तिर्न नि गाह्रो छ ।’ धुलोकै कारण रुघाखोकी लगातार लागिरहने समस्या सुरु भएको उनले बताए । ‘जुन जोगी आए पनि कानै चिरेको भनेझैं भएको छ,’ महर्जनले भने, ‘हाम्रै भोटले आफू कुर्सीमा पुग्छन्, जनताको दुःख जहाँको तहीँ ।’
मध्यबानेश्वर सडकमा खानेपानी पाइप बिच्छाउने काम सकिए पनि कालोपत्रे नगरिएकोमा स्थानीय आक्रोसित छन् । ‘सबै काम सकिएपछि त पिच गरे भइहाल्यो नि !’ एक्युभ स्टेसनरीका सञ्चालक सुनिता पौडेल भन्छिन्, ‘जनतालाई धुलोमा पुरिरहन कति मन लागेको होला ?’ पसलमा राखेका धुलाम्य सामानतिर देखाउँदै उनले भनिन्, ‘यी हेर्नुस् त ! सामान कति फोहोर छन्, हात कति फोहोर छन्, सामानमा धुलो देखेपछि कसैले किन्दैन, गरिखान धेरै गाह्रो भइसक्यो ।
शीतल दुग्ध डेरीका सञ्चालक कविता फुँयाल हुन् या चन्द्र वस्त्रालयका सञ्चालक चन्द्र श्रेष्ठ । सबैको गुनासो एउटै– सरकार के हेरिरहेको छ । उनीहरुका प्रश्न जायज छन् । व्यापारको घाटा एकातिर छ, स्वास्थ्यमा अनेक समस्या देखिन थालेका छन् । पैदल यात्रुले पनि उस्तै सास्ती खेप्नुपर्छ ।

महानगरलाई हाइसञ्चो
यति व्यस्त सडक ६ महिनासम्म धुलाम्य हुँदा महानगरपालिकालाई किन चिन्ता हुँदैन ? सर्वसाधारण बारम्बार प्रश्न गर्छन् । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंलाई चुनाव जितेको सय दिनभित्र मास्क लगाउनु नपर्ने बनाउँछु भनेको कसैले भुलेका छैनन् । उनले महानगरको बागडोर सम्हालेको वर्ष दिन बितिसकेको छ । तर, काठमाडौंका जनताले २० वर्षपछि जनप्रतिनिधि पाएको कत्ति महसुस गर्न सकेका छैनन् । राजधानीबासीको प्रश्न छ– के चुनावमा जनताका घरदैलोमा पुगेर बाँडिएका आश्वासन ‘भोको बिरालोको म्याउँ’ जस्तोमात्रै हो त ?
यसबीचमा महानगरपालिका र प्रमुख शाक्यको धेरै विरोध भयो, सामाजिक सञ्जालदेखि सडकसम्म उनलाई घच्घच्याउने प्रयास भए । केही दिनअघि मात्र ‘एक वर्ष बित्यो, मास्कमात्रै बिक्यो’ जस्ता नारा महानगरपालिकाकै प्रांगणमा घन्किए तर महानगर प्रमुख विद्यासुन्दरलाई न कुनै चासो छ न त चिन्ता नै ।
प्रकाशित समय १४:३७ बजे

















