गृहपृष्ठ ‘आत्तिएका’ विपन्न परिवार राहतबारे अनभिज्ञ र उदासीन
‘आत्तिएका’ विपन्न परिवार राहतबारे अनभिज्ञ र उदासीन
लक्षित वर्गले राहत पाउँछन् : महानगर
काठमाडौंको क्षेत्रपाटीमा एक रिक्साचालक ।
कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन यतिखेर देशभर लकडाउन घोषणा गरिएको । सरकारले पहिले चैत्र १० देखि १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । दोस्रोपटक ८ दिन थप गरेको लकडाउनको अवधि चैत २५ गतेसम्म लम्बिएको छ । लकडाउनको अत्यावश्यक बाहेकका सेवा, शैक्षिक संस्था, कलकारखाना, अधिकांश बजार पसल बन्द छन् । यातायात सेवासमेत ठप्प छ । यस्तो अवस्थाले दैनिक ज्यालामजदुरी गरेर खाने निम्न आय भएका वर्गहरु भने समस्यामा परेका छन् ।
विपन्न वर्गको लागि सरकारले विभिन्न राहतको घोषणा गरेको छ । खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरु स्थानीय तहमार्फत लक्षित वर्गलाई उपलब्ध गराउने सरकारको भनाइ छ । तर राहत भने अहिलेसम्म लक्षित वर्गसम्म पुग्न सकेको छैन । घोषणा भएका कार्यक्रम र प्राप्त गर्ने प्रक्रियबारे धेरै लक्षित वर्ग अनभिज्ञ छन् ।
ललितपुरको सुनाकोठीमा बस्ने सन्त तामाङले सरकारले दिने राहतबारे आफुलाई थाहा नभएको बताए । हेटौँडा घर भएका उनी गलैँचा बुन्ने काम गर्छन् । चार जनाको परिवारमा छाक टार्न गाह्रो भइसकेको बताउँदै उनले भने, ‘सरकारले घोषणा गरेको राहत लिन पाए त हुन्थ्यो । तर खै कसरी लिने हो, हामीलाई केही थाहा छैन ।’ सुनाकोठी चोकमा राहत बाँडिरहेको छिमेकीबाट सुनेपछि आफू पनि त्यहाँ पुगेको तर स्थानीयवासीका लागि मात्र हो भन्ने सुनेपछि खालि हात फर्कनु परेको उनले दुखेसो सुनाए । ‘राहत त यहीको बासिन्दा र जान्ने-बुझ्नेले मात्र पाउने रैछ,’ उनले खिन्नता प्रकट गरे ।
सुनाकोठीमै बस्ने सम्झना तामाङको पनि सरकारबाट राहत पाउने अपेक्षा छ । तर समस्या उही, सन्तको जस्तै । ‘सरकारले राहत दिइरहेको भन्ने सुन्छु । तर राहत पाउन के गर्नुपर्छ, कसलाई सोध्ने हो केही थाहा छैन,’ उनले अनभिज्ञता प्रकट गरिन्, ‘लकडाउनको बेला बाहिर निस्कनै मिल्दैन भनेको छ । यस्तो बेला कता खोज्दै जाउँ र राहत लिउँ ।’ गलैँचा कारखानामा मजदुरी गर्ने उनी लकडाउनपछि काममा जान पाएकी छैनन् । भान्सामा चुलो नबल्ने अवस्था सिर्जना हुँदैजाँदा उनको मन पिरोलिएको छ ।
सिन्धुपाल्चोक घर भई ललितपुरकै जैनखेल बस्ने पानमाया तामाङको समस्या झन् जटिल छ । सामान्य अवस्थामा त साँझ-बिहान हात-मुख जोर्न धौधौ हुने उनको परिवारमा यो बेला झनै संकट थपिएको छ । आम्दानीको स्रोतको रुपमा रहेको सानो खाजा पसल लकडाउनपछि बन्द छ । ‘के खाने र कसरी बाँच्ने होला भन्ने पीरले आत्तिसकेँ,’ उनी हतास थिइन् । सरकारले राहत दिनेबारे सुने पनि कहाँ र कहिले दिने भन्ने आफूलाई केही थाहा नभएको उनले बताइन् ।
लकडाउनपछि दैनिक रोजीरोटी गुमाएका ज्यालामजदुरीमा आश्रित परिवार आत्तिएका छन् । उनीहरु ‘बिहान खाए बेलुकी के खाउँ’ले पिरोलिएका छन् । सरकारले राहत दिने सुनेपछि केही आशा त पलाएको छ तर निष्पक्ष तरिकाले वितरण हुनेमा उनीहरुलाई विश्वास छैन । ‘पहुँचवालाले मात्रै दोहोर्याई-तेहेर्याई पाउने हो । हामी हेरेको हेर्यै हुन्छौँ,’ एक्लैले ज्यामी काम गरेर दुई जनाको परिवार पाल्दै आएकी कोपिला गोपाली राहत पाउनेप्रति उदासीनता प्रकट गर्छिन् । भक्तपुरमा बस्दै आएकी उनले भान्सामा चामल, ग्यास सकिएपछि वडामा गएर नाम भने लेखाएकी छन् । ‘राहत आएपछि जानकारी आउँछ भन्नु भएको छ । पाउँछ कि आश्वासन मात्रै हो, हेरौं,’ उनी भन्छिन् ।
सरकारले आइतबार निम्न वर्गका लागि राहत प्याकेज घोषणा गरेको छ । राहत लिने परिवारले वडामा गएर आफ्नो परिचय खुल्ने कागजातसहित नाम लेखाउनुपर्ने र स्थानीय तहले पनि परिवार संख्याको आधारमा राहतस्वरुप खाद्यान्न उपलब्ध गराउने भएको छ । राहत लिने परिवारले घरको नक्सापास, घरबहाल सम्झौताको प्रतिलिपि पनि बुझाउनु पर्नेछ । राहत दिने घोषणा भएसँगै वडा कार्यालयहरुमा भीड बढ्दो छ । तर लक्षित वर्गले सजिलै राहत पाउन नसकेको गुनासो गर्दैआएका छन् ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले राहत वितरण मापदण्ड तोकिएको बताए । सोअनुसार महानगरपालिकामा बस्दै आएका अभिभावक नभएका, आफ्नो आयस्रोत नभएका, अनाथ तथा आश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, मस्जिद र गुम्बाजस्ता स्थलहरुमा रहेका, अरुको सहारामा बसेकाहरुले मात्र राहत पाउनेछन् । त्यस्तै आम्दानीका स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न समस्या भएका सम्बन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका परिवारले पनि राहत पाउने बैठकले निर्णय गरेको उनले बताए ।
राहत वितरणमा भइरहेको असहजता हट्दै जाने प्रवक्ता डंगोलको दावी छ । ‘तथ्यांक संकलन भइरहेको छ । लक्षित वर्ग सबैले राहत पाउँछन्,’ उनले भने । राहत वितरण गर्ने भनेपछि समस्यामा नपरेकाहरु पनि आउने भएकाले पनि वितरणमा समस्या भएको उनको भनाइ छ । ‘समस्या आउन नदिन र राहत वितरणलाई व्यवस्थित बनाउन प्रयास भइरहेको छ,’ प्रवक्ता डंगोलले भने ।
ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले टोल-टोलबाटै राहत वितरण गर्ने बताए । सोमबारदेखि नै तथ्यांक संकलन भइरहेको र लक्षित परिवारले सहजै राहत प्राप्त गर्ने उनले बताए । ‘जो पनि राहतको लागि आउने हुँदा भूकम्पमा जस्तै परिस्थिति दोहिरिन सक्ला भने हामीले टोलमा जो साँच्चै नै अप्ठ्यारोमा छ, जसको केही आम्दानीको स्रोत छैन । यसलाई हेरेर मात्र राहत वितरण गरिरहेका छौं,’ उनले भने ।
प्रकाशित समय १६:२५ बजे

















