गृहपृष्ठ रुपन्देही : १६ वर्षीया छोरी मारेको अभियोग, बुवा र हजुरआमाविरुद्ध मुद्दा

रुपन्देही : १६ वर्षीया छोरी मारेको अभियोग, बुवा र हजुरआमाविरुद्ध मुद्दा

१६ वर्षीया समीक्षा ठकुरीलाई मट्टितेल छर्की जलाएर मारेको अभियोगमा रूपन्देहीमा बाबुसहित ४ जनाविरुद्ध ज्यान मुद्दा दर्ता भएको छ । इलाका प्रहरी बुटवलले आइतबार बाबु तेजबहादुर ठकुरी, हजुरआमा हरिकला, फुपू मधु ठकुरी थापा र अमृता ठकुरीविरुद्ध आगो लगाएर हत्या गरेको ज्यान मुद्दा शीर्षकमा रूपन्देही अदालतमा मुद्दा दर्ता गरेको हो ।


प्रहरीले मृतकका बुवा तेजबहादुर र हजुरआमा हरिमायालाई नियन्त्रणमा लिएको छ । अन्य २ फुपूबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

घट्ना के थियो ?
यो घट्ना रुपन्देहीको रुद्रपुरमा यही असार ९ गते घटेको थियो । विहान करिब ३ बजे कञ्चन गाउँपालिका वडा नम्बर–५ पिपरीचाँपकी १६ वर्षीया समिक्षालाई मट्टितेल छर्केर आगो लगाइएको थियो । बुवा, हजुरआमा, हजुरबुवा, जुजुहजुरआमासँगै बस्दै आएकी उनलाई आफन्तले भोलिपल्ट बिहानै लुम्बिनी अञ्चल अस्पतालमा ल्याए पनि उपचार हुन नसकेपछि पाल्पा हुँदै काठमाडौं ‘रेफर’ गरिएको थियो । तर, उनको ९ दिनपछि कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

समिक्षाको शव पोष्टमार्टमका लागि अहिले पनि शिक्षण अस्पताल काठमाडौंमै राखिएको छ । तर, परिवारले भने घट्ना घटेको १३ दिनपछि मात्रै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दियो ।
घट्ना घटेको १७ औँ दिन कञ्चन गाउँपालिका वडा नम्बर १, पिपरीस्थित घर सुनसान थियो । निधन भएकी युवती कि जिजुहजुरआमा र हजुरबुवा घरको दलामा बसेका थिए । मृतकका बुवा र हजुरआमा भने प्रहरीको नियन्त्रणमा छन् ।


विहान करिब ११ बजे म घटना भएको घरमा पुग्दा नजिकै सानो पसल गरेर बसेकी तुलसीकुमारी ठकुरी (समीक्षाकी साइली फुपू) भेटिईन् । घटना भएको दिन (असार ९ गते) विहान करिब ६ बजेतिर पूरै शरिर जलेर हेर्नै नसकिने अवस्थामा अटो रिक्सामा राखिँदै गरेकी समीक्षालाई देखेकी तुलसीकुमारीले भनिन्, ‘आगो लगाउने चाहे जो सुकै किन नहोस्, त्यसलाई कडाभन्दा कडा कार्बाही होस् ।’


१५ वर्षदेखि मामा घरमा बसेर पढ्दै आएकी समीक्षा गएको तिहारपछि आफ्ना बुवासँगै बस्दै आएकी थिइन् । समिक्षाका बुवा तेजेन्द्र ठकुरीले अर्की श्रीमती ल्याएपछि आफ्नी आमासँगै मामाघर बस्दै आएकी उनी कक्षा १० मा पढ्न बुवासँगै बस्दै आएकी थिइन् । समीक्षाकी आमा माया ठकुरी (थापा) बैदेशिक रोजगारी लागि राउदी अरबमा थिइन् । छोरीको घटना भएपछि उनी रुपन्देही आएकी छिन् ।
छोरीलाई कक्षा ९ मा भर्ना गरेपछि पढाउने, हुर्काउने भन्दै एक वर्षअघि इराक पुगेकी आमा माया तीन दिनअघि मात्र नेपाल आएकी हुन् । श्रीमानले दोस्रो विवाह गरेपछि माया १६ वर्षदेखि माइतीमा बस्दै आएकी छन् ।


आईतबार दिउँसो करिव १ बजे हजुरआमा हरिमायाँ ठकुरीलाई पनि प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यसअघि नै मृतक समीक्षाका बुबालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।
आईतबार प्रहरीले सोधपुछको लागि लैजानभन्दा पहिला न्युज कारोबारका संवाददाताले समीक्षाकी हजुरआमा हरिमायासँग कुराकानी गरेका थिए । उक्त कुराकानीमा उनले आगो लागेर बाहिर गल्लीमा लडेकी नातीनी (समिक्षा)लाई लुङ्गी छोपेर आगो निभाइदिएको बताएकी थिईन् ।
आफूलाई आरोप लगाएर बुहारी (माया)ले प्रहरीमा जाहेरी दिएको भन्दै उनले भनिन्, ‘आफ्नै नातिनीलाई के मैले आगो लगाउन सक्थे र ?’ त्यो दिन बेलुका करिब ८ बजे समीक्षा आफू सुत्ने कोठामा गएको हरिमायाको भनाइ छ । त्यो कोठामा समिक्षाकी जीजुहजुरआमा बस्दै आएकी छन् । बृद्ध अवस्थाकी उनी कान सुन्दिनन् र बोल्न पनि सक्दिनन् ।
यता, मृतकका हजुरबुबा दोर्णबहादुर ठकुरीले आफू जहिले पनि माथिल्लो तल्लामा सुत्दै आएको बताउँदै घटना भएको थाहा पाएपछि आफँैले अटो रिक्सा बोलाएर नातिनीलाई अस्पताल पु¥याएको बताए । उनले पहिला बुटवल लुम्बिनी अञ्चल अस्पताल र पाल्पा मिसन अस्पतालमा लगेको र त्यहाँ पनि नभएपछि काठमाडाैँ लगिएको बताए ।

आफूले अस्पतालसम्म लैजानको लागि सहयोग गरेको र पाल्पामा हुँदा ७२ हजार रुपैयाँ पैसासमेत खोजेर पठाएको उनको भनाइ छ । विद्यालय जाने गरेकी समीक्षा साँझ दैनिक जसो ७ देखि साढे ७ बजे मात्रै घर आउने गरेको दाबी दार्णबहाजदुरको छ ।
घटना भएको दिन मृतकले आफ्ना कपडा राख्ने स्थानमा भएको झोलाभित्र चेन लगाएको अवस्थामा मट्टीतेल राखिएको गिलास समेत भेटिएको र उक्त गिलास प्रहरीले अनुसन्धानको लागि लगेको उनले बताए ।

यता, आफ्नी छोरीको आगलागी भएको घटना थाहा पाएपछि बैदेशिक रोजगारीको शिलसिलमा साउदी अरब रहेकी आमा मायाँ ठकुरी(थापा) रुपन्देही आएकी छिन् । उनी आएपछि मात्रै प्रहरीमा जाहेरी दर्ता भएको थियो ।

आईतबार दिउँसो करिव २ बजे आफु पहिला पनि बस्दै आएको बैनी(रचना बुढाथोकी) को घरमा भेटिएकी उनले आफ्नी छोरीको हत्यानै भएको दावि गरिन् । विगतका दिनहरुमा पनि पटक पटक घरपरिवारले कुट्ने, पिट्ने, यातना दिने गरेको कुरा छोरीले बताउँदै आएको दावि गर्दै उनले परिवारको मिलेमतोमा छोरीको हत्या गरिएको दावि गरिन् । उनले भनिन्–‘मेरो छोरी अन्य कुनै पनि दायँ बाया गर्ने खालको होईन, नियोजित रुपमा नै हत्या गरिएको हो । ’
आगोलगाएर जलाउने र आफै जलेको भनेर बहान गर्ने गरी परिवारले नै उक्त कार्य गरेको दावि उनको रहेको छ ।

यता, मृतक समीक्षाकी आमाकी बहिनी रचना बुढाथोकीले आफू उपचारका लागि सँगै बुटवल, पाल्पा र काठमाडौँ गएको बताइन् । तर, अस्पतालको बेडमा हुँदा समीक्षाले केही बोल्न खोजे पनि बुबा र फुपूतिर हेरेर शब्द रोकेको उनको रचनाको भनाइ छ । ‘कैयौँ पटक समीक्षाले मलाई केही कुरा गर्नु छ भनी,’ रचनाले भनिन्, ‘तर बुवा र फुपूतिर हेर्दै डराएजस्तो गरी केही भन्न सकिन ।’ तर, एकान्तमा भएका बेला सोध्दा हजुरआमाले नै आगो लगाएको भनेको रचनाको दाबी छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले अनुसन्धान जारी रहेको बताए । यस विषयमा अन्य कुरा बोल्न नमिल्ने भन्दै उनले अनुसन्धान जारी रहेकोले केही समय पछि सत्य तथ्य बाहिर ल्याउने बताएका छन् ।

प्रकाशित समय १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु