गृहपृष्ठ नेप्सेको रेखाले अर्को इतिहास रच्दैछ

नेप्सेको रेखाले अर्को इतिहास रच्दैछ

rabindra-newskarobar

सेयरको अनलाइन कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले परीक्षण कारोबार सुरु गरेका समाचार प्रकाशन/प्रसारण भइरहेका छन् । यी समाचारले नेपालभित्र मात्र नभई नेपालबाहिर बसेर सेयर बजारमा चासो राख्ने नेपालीमा पनि खुसी छाएको छ । सेयर बजारको विकास र विस्तार भएको देख्न पाएरमात्र नभई, त्यसको उपयोग गरेर फाइदा लिन पाइने आशाले पनि त्यो खुसी छाएको हुनसक्छ ।

अनलाइन कारोबारको सुरुवात सेयर बजारको विकासमा एउटा महत्वपूर्ण फड्कोमात्र नभई घट्दो बजारलाई शक्ति प्रदान गर्ने स्लाइन पनि बन्न सक्छ । जसरी केन्द्रीय निक्षेप प्रणाली ( सीडीएस) सञ्चालनमा आएसँगै नामसारी प्रक्रियामा भएको सुधार र कागजी प्रक्रियाको अन्त्यका कारण नेप्से परिसूचकसँगै कारोबार रकमले ऐतिहासिक उचाइ कायम गरेको थियो । अधिकतम दैनिक १० करोड रुपैयाँको कारोबार दुई अर्बभन्दा माथि पुग्यो । त्यसरी नै अनलाइन कारोबारको सुरुवातका कारण नेप्सेको रेखाले अर्को इतिहास रच्नेछ, त्यसमा दुईमत छैन ।

अनलाइन कारोबारको सुरुवात त्यस्तो समयमा हुँदैछ, जुन समयमा नेप्सले भुइँ छोइरहेको छ । सेयर कारोबारको रकममा देखिएको भारी गिरावट, बिक्री हुन छाडेको एफपीओ, बिक्री नभएको हकप्रद सेयर, लगानीकर्ताको रुवाबासी, उद्योगीका चिन्ता सबै सेयर बजारले भुइँ छुँदै गरेका संकेत हुन् । जुन प्रवृत्ति २०६८ सालमा सेयर बजारले न्यूनतम विन्दु छुँदाको इतिहासभन्दा खासै फरक छैन । सेयर बजारको चुलीमा पुग्न भुइँबाटै हिँड्न सुरु गर्नका लागि पर्खिरहनुभएको छ भने भुइँ छाम्ने बेला आउँदै गएको छ ।

भुइँबाट चुलीमा पुग्न समय लाग्छ तर ओरालो हिँडेर नभई उकालो उक्लिएरमात्र चुलीमा पुग्न सकिन्छ । नेप्सेको नयाँ चुलीको यात्रामा सहयात्री बन्नका लागि लगानीकर्ताले पनि पाइला चाल्ने साहस गर्नुपर्छ ।

सेयर बजारमा हुने प्राविधिक परिवर्तन बजार विस्तार र विकाससँगै सम्पत्ति निर्माणको पनि दरिलो आधार बन्न जान्छ । जसका लागि लगानीकर्ताले पनि आफ्नो आधार तयार गर्दै जानुपर्छ । यसमा केही आधारभूत विश्लेषण र अवसरलाई उपयोग गर्नुपर्छ ।

बजार वृद्धिको अबको यात्रालाई केले साथ दिँदै छ त ? भन्ने प्रश्न हुन उठ्न सक्छन् । यसमा तीनवटा प्रमुख कारण देखिन्छन् ।

पहिलो कारण, आगामी मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा बढ्न सक्ने सम्भावना देखिन्छ, जसका कारण बिक्रीको त्रासबाट बजारलाई केही राहत मिल्नेछ । मार्जिन कलका कारण बजारमा सेयरको आपूर्ति वृद्धिमा केही कमी आउनेछ । मार्जिन कलबापत बुझाउनुपर्ने पैसा थप सेयर खरिदमा जान सक्नेछ ।

नेपालको सेयर बजारमा बुलिस र बियरिस प्रवृत्ति निम्त्याउनमा सेयर धितो कर्जा र राष्ट्र बैंकको नीतिको महत्वपूर्ण भूमिका छ । २०६५ सालपछि निरन्तर घटेको सेयर बजारमा २०६८ सालपछि सुधार आउनुको प्रमुख कारण पनि नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा गरेको खुकुलोपना नै थियो । राष्ट्र बैंकले सेयर धितो कर्जामा खुकुलो गरेसँगै यु टर्न लिएको नेप्सेले २९२ अंकबाट १८८१ सम्मको यात्रा पूरा गर्यो । अहिले त्यो अवस्था पुनः दोहोरिने सम्भावना देखिँदै छ । त्यसैले पनि दोहोरिँदै गरेको अवसरबाट फाइदा लिन लगानीकर्ता तयार रहनुपर्छ ।

दोस्रो कारण, प्रविधिमा हुन लागेको फड्को हो । अनलाइन कारोबारको सुरुवातले बजारलाई थप शक्ति प्रदान गर्नेछ । अनलाइन कारोबार बजार बढाउन र कारोबार रकममा तीव्रता ल्याउनका लागि निकै नै शक्तिवद्र्धक सावित हुनेछ । नेप्सेले ल्याउन लागेको अनलाइन कारोबार प्रविधि अत्याधुनिक भने अवश्य हुने छैन । तथापि, लगानीकर्ताले आफ्नै हातले किनबेच गर्नमात्र सक्ने टुकटुके प्रविधिले भए पनि बजारलाई गति भने अवश्य प्रदान गर्नेछ ।

तेस्रो कारण, वित्तीय बजारमा देखिएको बढ्दो ब्याजदर क्रमशः घट्ने सम्भावना । केन्द्र, प्रदेश र स्थानीय सरकारले करिब बजेट ल्याइसकेको अवस्था छ । चालू आर्थिक वर्षको अन्त्य र नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारी खर्चमा तीव्रता आउनेछ । खर्च वृद्धिसँगै बैंकिङ क्षेत्रमा तरलता अवश्य बढ्नेछ । तरलता वृद्धिका कारण ब्याजदरमा कमी आउनेछ, जुन सेयर बजारलाई उकालो यात्रामा डोर्याउन सहयोगी बन्नेछ ।

केही वित्त कम्पनी र विकास बैंकका सेयर धितो कर्जासम्बन्धी विज्ञापनले पनि ब्याजदरमा कमी आउने र सेयर धितोकर्जा बढ्न सक्ने संकेत गरिरहेका छन् । अहिले औसत १४ देखि १५ प्रतिशत रहेको सेयर धितो कर्जाको औसत ब्याजदर १० देखि ११ प्रतिशतसम्म आउँदा नेप्सेले निकै उकालो चढिसकेको हुनेछ, त्यसबेला तपाईंले भन्नुहुनेछ– अस्ति सेयर नकिनेर गल्ती गरिएछ ।

(भट्टरार्इ सेयर विश्लेषक हुन् ।)

प्रकाशित समय १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु