गृहपृष्ठ नेपाली चेलीको पीडा : ‘छिट्टै जवान देखाउन ग्रोथ हर्मोन दिइन्छ’

नेपाली चेलीको पीडा : ‘छिट्टै जवान देखाउन ग्रोथ हर्मोन दिइन्छ’

उनीहरुले मलाई भन्थे-यो दबाइ खाएपछि तँ चाँडै ठूली हुन्छेस् र घर जान पाउछेस्

नेपालबाट लुकाइछिपाइ भारत पुर्याइएका कम उमेरका बालिकालाई वेश्यालयमा काम गराउनका लागि तस्करहरुले छिट्टै जवान देखिने ‘ग्रोथ हर्मोन’ दिने गरेका छन् । पीडित बालिकाहरुले नै यो कुरा बताएका छन् । यसबारे बीबीसी हिन्दीकी प्रतिक्षा दुलालले रिपोर्ट तयार गरेकी छन् ।

आठ वर्षको उमेरमै ललाईफकाइ भारत पुर्याइएकी एक बालिकालाई हरेक दिन ग्रोथ हर्मोन दिइन्थ्यो । छिट्टै ठूली हुने र घर जान पाउने आश्वासन दिँदै आफूलाई औषधि खुवाउने गरेको उनले बताइन् ।‘मलाई हरेक दिन रातो दबाइ दिइन्थ्यो । हरेकपटक त्यो दबाइ खाएपछि म उल्टी गर्थेँ । मलाई त्यो दबाइ खानै मन लाग्दैन थियो । तर, जबर्जस्ती खुवाउथे । मैले खान मानिन भने मलाई पिट्थे । उनीहरुले मलाई भन्थे, ‘यो दबाइ खाएपछि तँ चाँडै ठूली हुन्छेस् र घर जान पाउछेस् ।’

सिन्धुपाल्चोकको एक गरिब परिवारकी यी बालिका आठ भाइ–बाहिनीमा सबैभन्दा ठूली छोरी हुन् । ठूलो परिवार भएकाले खान लाउनै धौधौ परिरहेको अवस्थामा छोराछोरीलाई कसरी शिक्षा दिने भन्नेमा अभिभावक चिन्तित थिए । त्यतिकैमा एक महिलाले ठूली चाहिँ छोरीलाई आफूले काठमाडौँ लगेर पढाइदिने बताइन् । परिवारलाई ‘कन्भिन्स’ गरिन् । छोरीले अशिक्षित भएर दुख पाउनुभन्दा अरुकै घरमा बसेर भएपनि पढोस् भनेर परिवारले आफ्नी बच्चीलाई ती महिलाको साथ लगाएर काठमाडौँ पठाए । तर, काठमाडौँमा उनलाई केही समयमात्र राखियो । पछि एक नेपाली परिवारको साथ लगाएर पुनः भारत पठाइयो । भारतमा ती बालिकालाई चार सदस्यीय परिवारमा घरेलु कामदारका रुपमा राखियो । दुई वर्षसम्म सोही परिवारको साथ बसेपछि उनलाई पुनः अरु कुनै शहर पठाइयो ।

ती बालिका भन्छिन्, ‘त्यहाँ पनि म एक नेपाली परिवारकै घरमा दुई वर्षसम्म काम गरेँ । त्यहाँ नै मलाई उनीहरु नराम्रो औषधि दिन्थे । यसपछि उनीहरुले मलाई नराम्रो ठाउँमा बेचिदिए । म त्यहाँमध्ये सबैभन्दा सानी थिएँ ।’

आफूलाई त्यहाँ नपठाउन मालिकसँग निकै आग्रह गरेको उनले बताइन् । ‘मैले आफ्ना मालिकसँग मलाई त्यहाँ नपठाउन अनुनय गरेँ । तर, उनले मलाई पालेको खर्च त्यहीँबाट उठाउने भन्दै जसरी पनि जानुपर्ने बताए । उनले मलाई पिटे पनि । मेरो भाग्य राम्रो थियो कि त्यो ठाउँमा पुलिसले छापा मार्यो र ६ महिनापछि नै म त्यो नर्कबाट बाहिर निस्किएँ ।’

हुन त अहिले मानव तस्करीविरुद्ध सक्रिय संस्था र प्रहरीले नेपाल–भारत सीमामा निगरानी बढाएका छन् । कैयौँ जाँच चौकी पनि स्थापना गरिएका छन् । यद्यपि, अपेक्षा गरेअनुरुप तस्करी न्युनिकरण हुन सकेको छैन ।

तस्करीविरुद्ध काम गरिरहेको माइती नेपालका निर्देशक विश्वराम खड्का भन्छन्, ‘जवान युवतीलाई सजिलैसँग सीमा पार गर्न तस्करलाई मुस्किल नै हुन्छ । तर, बालिकालाई लैजान उनीहरुलाई सजिलो हुन्छ । आफ्नै छोरी भनेर पनि उनीहरुले सीमा कटाउने गरेका छन् । यो अलि बढी चुनौतीका रुपमा देखिएको छ ।’

खड्काका अनुसार तस्करहरु गरीब र पिछडिएको क्षेत्रका बालिकालाई निशाना बनाउँछन् । बालिकालाई राम्रो शिक्षा दिने सपना देखाएर उनीहरु परिवारलाई फकाउँछन् । तस्करको शिकार बनेका युवतीहरुको संस्था शक्ति समूहकी संस्थापक निर्देशक सुनिता दनुवार भन्छिन्, ‘मैले पनि यस्ता बालिकाहरु देखेँ, जसलाई चाँडै जवान हुने हर्मोन दिने गरिएको थियो । म जहाँ थिएँ, त्यहाँबाट एक बालिकालाई करीब दुई महिनाका लागि लगिँदै थियो । त्यतिबेला उनी निकै सानी थिइन् । तर, जब उनी फर्किन्, हामी सबै छक्क पर्यौँ । उनी त कति चाँडो जवान भइसकिछन् । शरीर जवान भएपनि आवाज चाहिँ बच्चीजस्तै थियो ।’

खासगरी ९ देखि १२ वर्ष उमेर समूहका बालिकालाई यस्तो हर्मोन दिने गरिएको छ । चिकित्सकहरुका अनुसार ग्रोथ हर्मोन दिइएका बालिकाहरुको शरीरिक विकास छिटो हुन्छ र जवान देखिन थाल्छन् ।

डा. अरुणा उप्रेती भन्छिन्, ‘यो हर्मोनले बालिकालाई छिट्टै जवान बनाइदिन्छ । तर, त्यसले जीवनभर स्वास्थ्य समस्या निम्त्याइरहन्छ । खासगरी हड्डी र गर्भासयमा बढ्दा असर पुर्याउँछ ।’
उप्रेतिले एक यस्ती महिलाको अनुभव सुनाइन्, जसलाई बच्चाबेलामा ग्रोथ हर्मोन दिइएको थियो । ‘म केही वर्ष पहिले भारतमा एक सम्मेलनमा भाग लिन गएको थिएँ ।’ उनले भनिन्, ‘त्यहाँ मैले निकै ठूलो स्तन भएकी एक युवती देखेँ । उसलाई सानैमा तस्करहरुले ल्याएका रहेछन् र वेश्यालयमा काम गराउनका लागि ग्रोथ हर्मोन दिइएको थियो ।’

नेपाल प्रहरीका अनुसार मानव तस्करी बढीरहेको छ । चार वर्षभित्र तस्करी १८१ बाट बढेर २६८ पुगेको छ । यसमा ८० प्रतिशत उजुरी महिलाको तर्फबाट नै दर्ता भएका छन् । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री भन्छन्, ‘युवतीहरुलाई खाडी मुलुकमा जागिर र युरोप–अमेरिकामा नागरिकता दिलाउने आश्वानसनमा फसाइँन्छ ।’ अहिलेसम्म बालिका तस्करीको घट्नामा भने प्रहरीसम्म उजुरी नआएको उनले बताए । क्षेत्री भन्छन्, ‘कम उमेरका बालिकाको तस्करी र ग्रोथ हर्मोन दिएको भन्नेबारे कुनै उजुरी परेको छैन ।’

अधिकारकर्मीहरुले यो विषयमा खासगरी सरकार बढी चनाखो हुनुपर्ने बताएका छन् । नयाँ कानुन र नीति बनाउँदैमा चेलिबेटी बेचविखन नरोकिने उनीहरुको भनाइ छ ।

प्रकाशित समय १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु