गृहपृष्ठ बालिका बलात्कार र हत्याको विरोधमा महेन्द्रनगरमा चर्कियो आन्दोलन

बालिका बलात्कार र हत्याको विरोधमा महेन्द्रनगरमा चर्कियो आन्दोलन

घटनामा संलग्न रहेको आशंकामा दुर्इ युवतीसहित पाँच नियन्त्रणमा

nirmala-newskarobar

 

बिहीबार राति बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाहीको माग राख्दै स्थानीय बासिन्दाले महेन्द्रनगरमा आन्दोलन चर्काएका छन् । हत्यारालार्इ कारबाहीको माग गर्दै स्थानीय बासिन्दा, विद्यार्थी र स्थानीय राजनीतिक दलले बजार क्षेत्रमा प्रदर्शन जारी राखेका हुन् ।

हत्याराको पहिचान गरी कारबाही गर्न र सुरक्षाका लागि घटनास्थलनजिक अस्थायी प्रहरी पोस्ट राख्न माग गर्दै हिजोदेखि विरोधमा उत्रिएका स्थानीयबासीले आज पनि बजार बन्द गराएका छन् । उनीहरूले भीमदत्त नगरपालिकाको मूल गेटमा आज पनि प्रदर्शन गरेका छन् ।

nirmala-newskarobar

नेविसंघ कञ्चनपुरका नेता किशोरप्रसाद जोशीले सरकारले घटनालाई गम्भीर रुपमा नलिएकाले बाध्य भएर सडकमा आउनुपरेको बताए । ‘छात्रामाथि निर्मम बलात्कारपछि हत्या भएको छ,’ उनले भने,  ‘यस्तो जघन्य अपराध हामीलार्इ सह्य हुँदैन ।’  बालिकाको बलात्कार र हत्या हुँदासमेत महिला अधिकारकर्मी चुप लागेर बसेको भन्दै उनले आपत्ति जनाए ।

शुक्रबार साँझ मृतक निर्मलाको शवको पोस्टमार्टम भए पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन् । मृतकका आफन्त भोजराज पन्तले घटनाका दोषीलाई सार्वजनिक गर्न, घटनास्थलमा प्रहरी बिट राख्न र पीडित परिवारलाई न्याय नदिलाएसम्म शव नबुझ्ने बताए । मृतक निर्मलाको शव पोस्टमार्टमपछि महाकाली अञ्चल अस्पतालमै राखिएको छ ।

nirmala-newskarobar

कञ्चनपुरका विभिन्न चार विद्यार्थी संगठनले घटनाको घोर भर्त्र्सना गर्दै घटनाको यथाशीघ्र छानबिन गरी दोषीलार्इ कारबाहीको माग गरेका छन् । नेविसंघ,  तत्कालीन एमालेनिकट अनेरास्ववियु, तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र नेकपा विप्लवनिकट क्रान्तिकारीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानबिन गर्न तथा दोषीलार्इ कारबाही गर्न माग राखेका छन् ।

nirmala-newskarobar

नेविसंघ कञ्चपुरका सह–अध्यक्ष केशवराज जोशी, अनेरास्ववियुका सहसचिव कमल रोकाया, अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्रराज विष्ट, सचिव किशोरप्रसाद भट्ट र क्रान्तिकारीका अध्यक्ष शंकर महराद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषीलाई कडा कानुनी कारबाही र पीडित छात्राको परिवारलाई न्याय नदिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । प्रदर्शनमा नेपाली कांग्रेसनिकट नेपाल महिला संघ र नेपाल दरुण दल पनि सहभागी छन् ।

स्थानीय बासिन्दा र पीडितले हिजो पनि बजार क्षेत्रमा व्यापक प्रदर्शन गरेका थिए । हिजोको प्रदर्शनपछि भएको झडपमा केही स्थानीय बासिन्दा र प्रहरी घाइतेसमेत भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । कञ्चनपुर प्रहरीले घटनामा शंकास्पद पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठीले तीन युवकसहित दुई युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जानकारी थिए ।

nirmala-newskarobar

प्रकाशित समय १५:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु