गृहपृष्ठ निर्मलालाई न्याय दिलाउन अब हामी लड्छौँ : नेपाल महिला संघ

निर्मलालाई न्याय दिलाउन अब हामी लड्छौँ : नेपाल महिला संघ

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई कार्बाही नगरेको भन्दै कांग्रेस निकट नेपाल महिला संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । आन्दोलन गर्नुअघि एकपटक सरकारको ध्यानकर्षण गराउने, सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्ने संघको चेतावनी छ । संघले असोज ७ गते देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी संघकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य उमा रेग्मीले निर्मलाका हत्यारालाई सरकारले नै संरक्षण गरिरहेको आरोप लगाइन् । ‘होइन भने यतिका दिनसम्म सरकारले निर्मला हत्याका वास्तविक दोषीलाई किन पक्राउ गर्न सकेन ?’ उनले पश्न गरिन् ।

यो घट्ना यतिकै डिसमिस हुने नदिने उनले बताइन् । ‘त्यसैले आईतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा विरोध र्याली गर्ने र प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र लेखी ¥यालीसहित सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय गरेका छौं,’ उनले भनिन् । अहिले मानवता हराएको उनले टिप्पणी गरिन् । ‘सरकारको पहिलो प्राथमिकता भनेको नागरिकको जीउ धनको सुरक्षा गर्नुपर्ने हो । तर, अहिले त्यस्तो गरिएको देखिएन,’ उनले भनिन् । कञ्चनपुर घट्नामा प्रहरी प्रशासनको भूमिका र क्षमतामाथि नै ठूलो प्रश्न उठेको उनको आरोप छ । 

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘नेपाल महिला संघले देशमा दिनादिनु बढ्दै गैरहेको शान्ति, सुरक्षाको हनन र मानव अधिकारको हननको विषयलाई लिएर वर्तमान सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको छ । कञ्चनपुरकी निर्मला पन्तको हत्याकाण्डपछि यो देशमा हरेक दिन प्रायः कुनै न कुनै बहानामा महिलामाथि बलात्कार, हत्याहिंसा, अराजकता, दण्डहीनता र आकशिदो मूल्यवृद्धिका कारण आम नेपालीको जनजीवन कष्टकर बन्न पुगेको छ । त्यसको ज्वलन्त उदाहरणका लागि आजका मितिसम्म सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कठघरामा उभ्याउन नसक्नु हो । नेपाल महिला संघ तुरुन्त वास्तविक दोषीलाई पत्ता लगाई कडा भन्दा कडा काार्बाहीको जोडदार माग गर्दछ ।’

विज्ञप्तिमा अन्याय र अपराधविरुद्ध विरोध प्रदर्शन गर्ने र सरकारको ध्यानाकर्षण गराउने पनि उल्लेख छ । ‘नेपाल महिला संघले आश्विन ०७ गते आईतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा यीनै बेथितिविरुद्ध विरोध ¥याली गर्ने र प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र लेखी र्यालीसहित सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय गरेको छ ।

यसैगरी उपत्यका पनि आइतबार दिनको ठिक १२ बजे (काठमाडौं, भक्तपुर र ललितपुर) संयुक्त रुपमा माईतीघर मण्डलाबाट शान्तिपूर्ण विरोध जुलुस निकाली प्रधानमन्त्रीको नाममा लेखिएको ज्ञापनपत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बुझाउने कार्यक्रम रहेको छ ।’

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु