गृहपृष्ठ कर्णालीको विकासलाई सरकारको उच्च प्राथमिकता: प्रम ओली
कर्णालीको विकासलाई सरकारको उच्च प्राथमिकता: प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेशका साँसदहरुसँग मंगलबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले गत बर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेको बताउंदै यसपाली प्राथमिकतामा राखिने बताए । ‘गतबर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो । यसपाली त्यो क्रम दाहोरिदैन,’ ओलीले भने, ‘सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्दछ ।’
प्रधानमन्त्री ओलीले जनसंख्याका आारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको बताए । ‘कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस भूगोललाई विशेष रुपमा बजेट विनियोजन गरेर विकासको मुल प्रवाहमा ल्याउनु पर्दछ ।’
कर्णाली सम्भावनायुक्त प्रदेश भएकोले देशको विकास र समृद्धिमा यस प्रदेशको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए । ‘यहाँको खनिज, जलस्रोत, जडिबुट्टीको उपयोगका लागि पनि यस प्रदेशको विकासमा सबैको ध्यान जानु जरुरी छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाहरुको विवरण बैशाखको पहिलो साताभित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन साँसदहरुलाई निर्देशन दिए ।
प्रकाशित समय १९:५२ बजे
















