गृहपृष्ठ विराटनगरमा रेल गुड्न अब १२ दिनमात्र बाँकी

विराटनगरमा रेल गुड्न अब १२ दिनमात्र बाँकी

train4-newskarobar फाइल तस्बिर

भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्म १२ दिनभित्र रेल आउने भएको छ । विराटनगर–बथनाहा रेल्वे खण्डमा अक्टुबर ३१ तारिकका दिन परीक्षणका लागि रेल कुदाइने भएको हो ।

पहिलो चरणमा भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेल्वे खण्डको काम ९५ प्रतिशत पूरा भएकाले परीक्षण स्वरुप बुधनगरसम्म रेल ल्याउने तयारी भइरहेको भारतीय निर्माण कम्पनी इरकोनले जनाएको छ । कम्पनीका जेनेरल प्रोजेक्ट म्यानेजर प्रदीप कुमारले भारतको बथनाहदेखि बुधनगरस्थित भेडियारीसम्म परीक्षण स्वरुप अक्टुबर ३१ तारिकका दिन रेल ल्याउने तयारी गरिएको जानकारी दिए । उनले भने, ‘हालसम्म हामीले २ सय ३५ करोड रुपैयाँभन्दा बढीको लागतमा काम सम्पन्न गरिसकेका छौँ । नेपाल सरकारले रेलमार्गमा पर्ने जग्गाको मुआब्जा वितरण गरेर रेलमार्गका लागि जग्गा समयमै हस्तान्तरण भएको भए अहिलेसम्म कटहरीसम्मको सबै काम सकिसक्ने थियौँ र यतिबेला भारत र नेपालबीच आरामसँग रेल कुदिरहेको हुने थियो ।’

जेनेरल प्रोजेक्ट म्यानेजर कुमारले ३१ अक्टुबरसम्ममा रेल परीक्षण स्वरुप नेपाल प्रवेश गर्ने जानकारी दिए । उनले भने, ‘३१ अक्टुबरसम्ममा परीक्षणका लागि रेल बुधनगरसम्म आइपुग्छ । त्यसपछि दोस्रो चरणमा लाइन नम्बर ३ र ४ दुईवटै रेलको लिक लगाउने काम सुरु हुनेछ । मोटामोटी भन्नुपर्दा रेल मार्गको सम्पूर्ण काम सन् २०१९ मार्चभित्रमा सम्पन्न भइसक्नेछ ।’

कम्पनीका अनुसार भारतको बथनाहादेखि बुधनगरसम्मको आठ किलोमिटर क्षेत्रमा लिक बिछ्याउने काम सम्पन्न भएको छ । जसमा भारततर्फ ५ किलोमिटर र नेपालतर्फ ३ किलोमिटर क्षेत्र छ । भारतीय ३ सय ७३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त परियोजनामा २ सय ३५ करोड बजेट खर्च भइसकेको निर्माण कम्पनीले जनाएको छ । भारतको बथनाहादेखि विराटनगरको बुधनगर हुँदै कटहरीसम्म रेल्वे खण्ड निर्माणको काम ६ वर्षअघि सुरु भएको थियो ।

निर्माण कम्पनीले नेपालतर्फको क्षेत्रमा मुआब्जाको विवादका बीच पनि रेल्वे निर्माणको काम अगाडि बढाएकाले पहिलो चरणमा बथनाहदेखि बुधनगरसम्म रेल आउने कार्य अघि बढेको नेपालस्थित रेल बिभागका महानिर्देशक बलराम मिश्रले बताए । उनले भने, ‘हालसम्म जुन हिसाबले काम भइरहेको छ यो हिसाबले रेलमार्ग निर्माणको कामले निराश हुनुपर्ने अवस्था छैन । बुधनगरसम्म परीक्षणका लागि रेल आउन लागेको हो त्यसका लागि गर्नुपर्ने तयारीहरु भइरहेका छन् । रेल मार्गअन्तर्गत पर्ने जग्गामा केही विवाद थियो । अदालतमा मुद्दा दर्ता भएको अवस्था थियो तर अहिले त्यसको समाधान भइसक्ने चरणमा छ । केही दिनभित्र समस्या समाधान भएको खण्डमा अर्के वर्षसम्ममा रेल मार्गको सम्पूर्ण काम अर्थात कटहरीसम्मको पूरा हुन्छ ।’

भारतको कोलकाताबाट नेपाल जोडने सीधा रेलमार्ग नहुँदा औद्योगिक कच्चा पदार्थ कन्टेनरबाट ल्याउनुपर्ने अवस्था छ । जसका कारण लागत बढ्ने गरेको नेपाली उद्योगी व्यवसायीको गुनासो रहँदै आएको छ । भारतबाट सीधा नेपालसम्मको रेलमार्ग तयार भएको अवस्थामा तेस्रो मुलुकबाट एवं भारतबाट आउने औद्योगिक कच्चापदार्थको लागत कम पर्ने साथै नेपाली उद्योगी व्यवसायीलाई मालबस्तु आयातमा सहज हुने उद्योगी व्यवसायीको भनाइ छ ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनास बोहरा भन्छन्, ‘वास्तवमा नेपालमा जुन अहिले भारतलगायत तेस्रो मुलुकबाट सामान आयात गर्दा लाग्ने ढुवानी लागत छ, त्यो धेरै छ । त्यसले गर्दा निजी क्षेत्रले रेल्वे मार्गबाट ढुवानी गर्न पाउनुपर्छ भन्ने धेरै अगाडिदेखि कुरा उठ्दै आएको हो । त्यही सन्दर्भमा अहिले नेपाल र भारत सरकारको समझदारीका आधारमा रेल्वे मार्ग निर्माण भएको हो । एकीकृत जाँचपास चौकी आईसिपि हुँदै कटहरीसम्म रेलमार्ग ल्याउने जुन योजना छ, यो सम्पन्न भएपछि ठूलो मात्रामा उद्योगी व्यापारीलाई फाइदा पुग्नेछ ।’

भारतको बथनाहादेखि नेपालको कटहरीसम्म १८.६ किलोमिटर छ । तर, अहिले कुल रेल्वे खण्डको ८ किलोमिटर बुधनगरसम्मको रेल्वे मार्ग निर्माणको काम पूरा भएको छ । बाँकी रेल्वे मार्ग निर्माणको कामले गति लिन सकेको छैन । भारत–नेपाल सीमाको स्टेसनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये ३ किलोमिटर क्षेत्रमा मुआब्जा विवाद छ ।

प्रकाशित समय १०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु