गृहपृष्ठ रामपुर र चापाकोटलाई जोड्ने आँधीघाट–बर्दले पक्की पुलको शिलान्यास

रामपुर र चापाकोटलाई जोड्ने आँधीघाट–बर्दले पक्की पुलको शिलान्यास

रामपुर र चापाकोटलाई जोड्ने कालीगण्डकीमा आँधीघाट–बर्दले पक्की पुल शिलान्यास भएको छ ।

पाल्पाको रामपुर नगरपालिका–१० र स्याङ्जाको चापाकोट नगरपालिका–१० जोड्ने त्यस पुलको मुख्य सचिव लोकदर्शन रेग्मीले बिहीबार शिलान्यास गरे । मुख्य सचिव रेग्मीले पुलमा गाडी वारपार गर्नका लागि मात्र नभई रामपुर र चापाकोट क्षेत्रको समृद्धिका लागि समेत महत्वपूर्ण हुने धारणा राखे ।

उनले पुल निर्माण तोकेको मितिभित्रै सम्पन्न गर्न अनुरोध गरे । मुख्य सचिव रेग्मीले कालीगण्डकीमा निर्माण कार्य रोकिएको निर्दिमघाट र दामाचौर प्याक्लुकघाट पक्की पुलको निर्माण कार्य अघि बढाएर तीन वटै पुलको उद्घाटन एकैसाथ गर्ने बताए ।

कार्यक्रममा सडक विभागका उप–महानिर्देशक दीपक भट्टराईले निर्माण कम्पनीले काम छिटो सक्ने मात्र नभई गुणस्तरमा पनि उत्तिकै ध्यान दिएर काम गर्न सुझाव दिए । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाणले पुलले कालीगण्डकी बेशीको आर्थिक समृद्धिलाई उकास्ने बताए ।

 

सपना महादेव खिम्ती दिवा जेभीले २०७४ साल मङ्सिर २२ गते ठेक्का सम्झौता गरी त्यो पुलको निर्माण कार्यको जिम्मा लिएको थियो । भ्याटसहित २८ करोड ४० लाख रुपैयाँको लागतमा २०७७ साल मङ्सिरसम्म काम सक्ने गरी काम थालिएको नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंले जानकारी दिए ।

पुलले कालीगण्डकी वारिपारिका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, चापाकोट नगरपालिका, गल्याङ नगरपालिका र वालिङ नगरपालिकालाई जोड्नेछ । पुल निर्माण हुने भएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।(रासस)

प्रकाशित समय ०७:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु