गृहपृष्ठ कोरोनाको त्रासले घर‑घरमा थुप्रियो उपभोग्य वस्तु
कोरोनाको त्रासले घर‑घरमा थुप्रियो उपभोग्य वस्तु
भाटभटेनीको काउन्टरमा आइतबार साँझ देखिएको उपभोक्ताको भीड ।
कोटेश्वरको भाटभटेनी सुपर स्टोरमा आइतबार साँझ ठूलो भीड थियो । भाडभटेनीमा सधैं साँझपख सामान किन्नेको ठूलै भीड लाग्छ । आजको भीड पनि कुनै नजिकिँदै गरेको चाडपर्व वा उत्सवका कारण थिएन, सधैंझैं सामान किन्नका लागि नै थियो । तर, केही दिन अघिसम्म मानिस सबै सामान समान रूपमा किन्थे भने अहिले उपभोग्य वस्तु दाल, चामल, नुन, चिनी र गेडागुडीको ठूलो जगेडा गरिरहेका छन् ।
भाटभटेनी सुपरस्टोरमा भाँडा र लुगाकपडाका स्टोरमा क्रेता सुनसान छन् । तर दाल, चामल, नुन, चिनी र गेडागुडी यति धेरै जान्छ कि त्यहाँका कर्मचारी नै अचम्ममा छन् । कोटेश्वर भाटभटेनीकी एक कर्मचारी दैनिक उपभोग्य वस्तु बिक्री भएको देखेर अचम्म मान्दै थिइन् । ‘हिजो बेलुका भरिभराउ सामान अहिले रित्तिसक्यो, सामान निरन्तर आइरहेको छ तर बिक्री उच्च छ,’ उनले भनिन्, ‘किन मान्छेले यसरी सामान थुपारिरहेका हुन् थाहा छैन ।’

सबैले पाउन् भनेर भाटभटेनीले चिनी, नुनलगायतका सामान दुई किलोभन्दा बढी नदिन खोजे पनि नपुगेको उनले बताइन् । कोरोनाका कारण सामान अभाव हुन सक्ने डरले सामान स्टक गरेको हुनसक्ने उनको अनुमान छ । ‘एक दिन राखेको उपभोग्य सामान सकिन कम्तीमा तीन दिन लाथ्ग्यो, अहिले त १२‑१४ घण्टामै सकिन्छ,’ उनले भनिन् ।
लोकन्थलीको पोखरेल किराना पसलमा पनि दैनिक उपभोग्य वस्तुका ग्राहक नै धेरै आउँछन् । ‘पहिला आधा किलो चिनी किन्नेने अहिले दुई किलो किन्ने गरेका छन् । ग्यास पुर्याउन भ्याइनभ्याई छ । मान्छेले किन घरमा सामान थुपारिरहेका छन्, बुझ्न सकेको छैन,’ साहुजी भन्दै थिए ।
त्यस्तै, लोकन्थलीकै न्यु भेराइटी होलसेल पसल र मुकुन्द स्टोरबाट पनि घरमा दैनिक उपभोग्य वस्तु लैजाने क्रम विगतको तुलनामा दोब्बर बढेको छ । न्यु भेराइटी होलसेलमा सामान किन्न पुगेकी एक महिला भन्दै थिइन्, ‘घर‑घरमा पसल बनेका छन् ।’
कोरोनाभाइसरसका कारण उपभोग्य वस्तु अभाव हुनसक्ने आशंकमा उपभोक्ताले सामान स्टोर गरेको बताउँछन् । पोखरेल किराना पसलमा भेटिएकी रजनी गौतमले अभाव भयो भने दुःख पाइने डरले केही सामान थुपारेको बताइन् । ‘अलेली सामान त स्टक गर्नैपर्यो नि !’ उनले भनिन् । सँगै रहेकी अर्की महिलाले फरक तर्क दिइन्, ‘आ !! म त स्टक गर्दिन, कोरोन आयो नै भने काठमाडौं बसिने होइन, बेकारमा थुपारेर के गर्ने ?’
सरकारले उपभोग्य वस्तुको कुनै अभाव नहुने बताइरहेको छ । ग्यास उद्योगी पनि ग्यासको निर्वाध आयात भइरहेको बताउँदै आएका छन् । तर, उपभोक्तालाई कसैप्रति भर छैन । उनीहरूलाई घरमा सामान थुपार्नै भ्याइनभ्याई छ । नेपालमा एकजनामा कोरोना भेटिएको थियो । ती व्यक्ति पनि उपचारपछि घर फर्किसेकका छन् । चीनको बुहानबाट फैलिएको कोरोना आइतबारसम्म विश्व १०३ मुलुकमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले चीनसँग सीमा जोडिएकोलगायत कारण देखाउँदै नेपाललाई कोरोनाको उच्च जोखिमसूचीमा राखे पनि हालसम्मको घटनाक्रमले त्यस्तो देखाइरहेको छैन ।
नेपालले न कोरोनाको सम्भावित ‘इन्ट्री’लाई ख्यालमा राख्दै कुनै सुरक्षा अपनाएको न त तयारी नै गरेको छ । भारतमा पनि कोरोनाको खासै प्रभाव नदेखिएकाले स्थलमार्गबाट नेपालमा भित्रिएको छैन । हवाई मार्गमा सम्बन्धित देशले उतै गरेको परीक्षण नेपालका लागि ‘भाग्य र भरोसा’ बनिरहेको छ ।
विश्वका विकसित र सुविधासम्पन्न मुलुकलाई ‘रुवाइरहेको’ कोरोना नेपालमा भित्रिने हो भने कुनै कोणबाट पनि हामी बच्न सक्दैनौं । रोकथामका सरकारी संयन्त्र निकै फिका सावित हुनेछन् । यो जगजाहेर छ । त्यसैले पनि मानिसहरुको भर सरकारी संयन्त्रसँग छैन र घर‑घरमा उपभोग्य वस्तु थुपारिरहेका छन् ।
प्रकाशित समय २०:३६ बजे

















